१३ सय गाई मरेः आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा विरक्तिन्छन् रतिलाल



१६ माघ २०७५,  कैलाली

हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको । यो समाचार आजको कान्तिपुर दैनिकमा मोहन बुढाऐरले लेखेका छन् ।

घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६ महिनायता निरन्तर मरिरहेका छन् । ‘हरेक दिन गाई मरेको देख्दा मन रुन्छ, कामै छाडिदिऔं जस्तो पनि लाग्छ,’ चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडेको छु ।’

गौशालामा उनीसहित ५ जना हेरालु छन् । उनीहरू हरेक बिहान सिनो तानेर भीरबाट मिल्काउँछन् । हालैको वर्षा र चिसोले दुई दिनमा १० गाई मरे । सिनोले जंगल क्षेत्र पूरै दुर्गन्धित छ ।

प्रतिक्रिया दिनुहोस्