राणाले सुधार्लान् न्यायालय ?



१५ माघ २०७५, काठमाडौं

कानुन विषयमा कलम चलाउनेहरूसँग माघ ६ गते भएको लामो छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा)ले आफूलाई मिडियाले ‘बिग्रिन नदिएको’ भन्दै हँसाए। यो समाचार आजको नागरिक दैनिकमा अनन्तराज लुइँटेलले लेखेका छन् ।

सञ्चारमाध्यममा आफ्नो विरुद्धमा जति अरू कुनै न्यायाधीशको चर्चा नभएको उल्लेख गर्दै राणाले भने, ‘लेखेर मलाई बिग्रन नदिनुभएकोमा तपाईंहरूप्रति आभारी छु।’ अदालत र फैसलाबारे समाचार लेख्दा वा टिप्पणी गर्दा वस्तुपरक हुनुपर्नेमा उनले जोड दिए।

अदालतबारे हुने चर्चाको संवेदनशीलता मुद्दासँग मात्र नभई कानुन व्यवसायी, कर्मचारी र न्यायाधीश एवं समग्र न्याय व्यवस्थासँग सम्बन्धित हुने भएकाले तथ्य, कानुन र नजिरको कसीमा रहेर मात्र लेखिदिन उनले आग्रह गरे।

प्रधानन्यायाधीश राणा अदालत र मिडियाको सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक लागेका छन्। त्यसैले उनले न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सञ्चार नीति बनाउने जिम्मेवारीसमेत दिइसकेका छन्।

पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले प्रधानन्यायाधीश राणाले चालेको कदमको प्रशंसा गरे। ‘नियत सफा छ भने जुनसुकै सुधारका प्रक्रियालाई नराम्रो भन्न सकिँदैन,’ उनले सोमबार नागरिकसँग भने, ‘नियत खराब छैन भने राम्रो कुुरा हो नि १ इमानदारीपूर्वक भएको कुरालाई राम्रै मान्नुपर्छ। सुधार्नु त परेकै छ। धेरै समय कुर्नु पनि हुँदैन।’

प्रतिक्रिया दिनुहोस्