निर्मला हत्या प्रकरणः यातना दिनेमाथि कारबाही भएन



१० माघ २०७५,   कञ्चनपुर

बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।

दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ४ जनाका नाममा यातना कसूरसम्बन्धी जाहेरी दर्ता भएको थियो । ‘जाहेरी दिएको एक महिनासम्म पनि कुनै सुनुवाइ भएन,’ पत्रकार सम्मेलनमा खडकले भने, ‘यातना दिनेलाई कारबाही र उचित क्षतिपूर्ति दिइनुपर्छ ।’

भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीप विष्टलाई प्रहरीले भदौ ४ गते घटना भएको २६ औं दिन मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ‘यातनाका कारण दिलीपको स्वास्थ्य ठीक छैन,’ खडकले भने, ‘उपचारका लागि अहिलेसम्म डेढरदुई लाख खर्च भइसक्यो ।’

दिलीपलाई २६ दिन प्रहरी हिरासतमा राखेर डीएनए नमिलेपछि छाडिएको थियो । मानसिक अस्वस्थ उनी प्रहरीको यातनापछि झनै अस्वस्थ बनेका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको खडकले बताए । केही दिनअघि मात्रै उनलाई घर ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्