फिल्ममा हामीले देखेका, भोगेका कथा नै छ : अभिनेता विपिन कार्की



०६ माघ २०७५, काठमाडौं

यस वर्षको प्रतिक्षीत फिल्ममध्येको एक हो ‘गोपी’ । मौलिक कथामा निर्माण भएको फिल्मले विदेशी मोह त्यागेर स्वदेशमै नीजि गाई पालन गरेर बसेको एक युवकको संघर्ष र सफलताको कथा भन्छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हालसालै रिलिज भएको फिल्म ‘प्रसाद’ मा निःसन्तान श्रीमानको भूमिका निभाएका अभिनेता विपिन कार्की यस फिल्ममा एक गाईपालक किसानको चरित्रमा छन् । अभिनयबाट पात्रलाई न्याय दिलाउन सक्नुपर्छ भन्ने मान्यता बोकेर कलाकारितामा होमिएका उनी ‘गोपी’ लाई पृथक फिल्म भन्न रुचाउँछन् ।

‘मैले पहिलो पटक फिल्ममा किसानको भूमिका निभाएको हुँ’, फिल्मको प्रचारका लागि चितवन पुगेका उनले पत्रकारसँग गफिँदै भने, ‘यसअघिका फिल्मभन्दा मलाई यस फिल्ममा फरकरुपमा देख्न पाउनुहुन्छ ।’ उनी फिल्ममा सबैले देखेभोगेकै कथा रहेको बताउँछन् ।

‘हामी सबैले नजिकबाट देखेको र भोगेकै कथा भएता पनि फिल्ममा यो कुरा आजसम्म आएको थिएन । यसकारण ‘गोपी’ दर्शकलाई मन पर्नेमा विश्वस्त छु’, उनले भने । यो फिल्ममा उनको अपोजिटमा दुई अभिनेत्री छन्, सुरक्षा पन्त र वर्षा राउत । दुवै फिल्ममा विपिनको प्रेमिकामा भूमिकामा छन् ।

फागुन २ गते प्रेमी संजोग कोइरालासँग लगनगाँठो कस्ने तयारीमा रहेकी वर्षा पनि अहिले फिल्मको टिमसँगै मोफसल दौडाहामा छिन् । चितवन पुगेर उनले आफ्नो भूमिकामा विषयमा जानकारी दिइन् । उनले फिल्ममा आफू भेटेरिनरी डाक्टरको भूमिकामा रहेको बताइन् । पशु चिकित्सकको भूमिका निभाउन गाह्रो भएको उनको अनुभव छ ।

उनी भन्छिन्, ‘गाईवस्तु निकै मनपर्छ तर धेरैनजिक भने कहिल्यै भइनँ । यसकारण पशु चिकित्सकको भूमिका निभाउन साह्रै गाह्रो भयो ।’ कलाकारसँगै मोफसल टुरमा रहेको फिल्मका लेखक सामीप्यराज तिमल्सिनाले विदेश जाने लहर चलिरहेको अवस्थामा ‘गोपी’ ले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।

१ करोड ५० लाखको लागतमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । आरोही केसी निर्माता रहेको यसमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको पनि अभिनय छ । शैलेन्द्र डि। कार्कीले फिल्म खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्