
०४ माघ २०७५, काठमाडौं
दर्शकबाट ‘महानायक’ को उपाधि पाएका राजेश हमाल आफ्नो जमानाका सर्वाधिक व्यस्त र सफल अभिनेता हुन् । संख्यात्मक अभियनमा जोड दिएको आरोपबाट वर्षौदेखि मुक्त हुन नसके पनि उनलाई साना बच्चाबच्चीदेखि बूढापाका सबैले सजिलै चिन्दछन् ।
आफ्नो दबदबा रहेको बेला उनले करीब ३ सय बढी फिल्म गरे ।मिलेको अनुहार, लोभलाग्दो हाइट र जीउडालका कारण धेरैलाई भुतुक्कै बनाएका उनी पछिल्लो समय भने पर्दाबाट केही टाढा छन् । उमेरले ५० वर्ष नाघिसकेका उनलाई फिल्म ‘सकुन्तला’ पछि दर्शकले ‘विग स्क्रिन’ मा देख्न पाएका छैनन् । लगातार आफू अभिनीत फिल्म असफल भएपछि केही समय ब्रेक लिएको उनी स्वयं स्विकार गर्छन् ।
उनले निकै आशा गरेका पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ बक्सअफिसमा असफल भएका थिए । जसकारण उनी अब पर्दामा आउन हतार गरिरहेका छैनन् । उनी अब अलि फरक ढंगबाट पर्दामा फर्किने सोचमा छन् । तर, ‘सकुन्तला’ पछि उनलाई कुनै फिल्मको अफर नै नभएको चर्चा सिनेवृतमा सुनिन्छ ।
अभिनेता हमाल भने दिनहुँ फिल्मको अफर आइरहेको बताउँछन् । ‘साप्ताहिक’ सँगको कुराकानीमा उनले तत्काल फिल्म नगर्नुको रहस्य खोल्दै भने, ‘खासमा मैले समय सान्दर्भिक फिल्म खोजिरहेको हुँ, मैले खोजेजस्तो कथा पाएको खण्डमा त केही न केही निर्णय लिनेछु ।’ अहिले पनि आफू केही फिल्मको स्क्रिप्ट पढिरहेको उनी बताउँछन् ।
बलिउड अभिनेता अमिताभ बच्चनले आफू अभिनीत फिल्म भटाभट फ्लप भएपछि १९९२ देखि १९९६ सम्म ब्रेक लिएका थिए । हमाल त्यही कुरा सम्झिँदै भन्छन्, ‘उहाँले केही वर्ष आफूलाई फिल्मबाट टाढा राखेर नयाँ ढंगबाट प्रस्तुत हुनुभयो, त्यस्तै किसिमले मैले पनि अलिकति फरक ढगंवाट फिल्ममा फर्किने सोच बनाएको छु ।’
उनले पटक(पटक चाँडै आफ्नै निर्माण र निर्देशनमा फिल्म बनाउन पनि बताउँदै आएका छन् । ‘स्क्रिप्टको मोटामोटी ड्राफ्ट बनिसकेको र त्यसलाई पुनः परिमार्जित गर्ने काम भइरहेको छ । एउटा दमदार फिल्म ल्याएर पुनः दर्शकलाई नयाँ स्वाद चखाउने सोचमा छु’, उनले आफूले बनाउन लागेको फिल्मको बारेमा जानकारी दिए ।





