वाइवडी प्रकरणमा संसदीय समिति अनिर्णित, उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण



२१ पुष २०७५, काठमाडौं

नेपाल वायुसेवा निगमले ल्याएको २ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्ने संसदीय उपसमितिको प्रतिवेदन त्रुटीपुर्ण पाइएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिवेदनमा त्रुटी भएको निष्कर्ष निकाल्दै त्यसलाई सच्याएर छलफलमा ल्याउने भएको छ । ‘समितिले आइतबारसम्ममा विमान खरिद प्रकृयामा संलग्न निकायहरुसंग छलफल र विज्ञहरुसंगको परामर्श गरेर प्रतिवेदनमा भएका त्रुटीहरु सच्याएर तयार पार्न कर्मचारीलाई निर्देशन दिएको छ,’ लेखा समिति सचिव डा रोजनाथ पाण्डेले भने, ‘हामीले सरोकारवाला निकायहरुसंग छलफल गरेर आइतबारसम्म प्रतिवेदन सच्याएर पेश गर्नेछौं ।’

गल्ति नै नगरेका व्यक्तिहरु पनि उपसमितिको प्रतिवेदनमा परेको भन्दै सांसदहरुले सच्याउन आग्रह गरेपछि त्यसमा भएको त्रुटी सच्याउने काम शुरु भएको सचिव पाण्डेले जानकारी दिए ।

समितिको शुक्रबार वसेको बैठकमा वाइडबडीमा व्यापक अनियमितिता भएको भन्दै छानविनका लागि नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठिन उपसमितिले पेश गरेको प्रतिवेदनमा छलफल भएको थियो ।
उपसमितिले १५ दिनसम्म अध्ययन गरेर बुधबार लेखा समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको बैठकमा राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएको भन्दै नेकपाका सांसदहरुले प्रतिवेदन माथि आशंका व्यक्त गरेका थिए ।

शंका उब्जिएपछि प्रतिवेदनमाथि थप अध्ययन तथा छलफलका लागि सोमबार बैठक बोलाइएको छ । समितिका अधिकांश सांसदले प्रतिवेदनमा लेखिएका शब्दप्रति असन्तुष्टी व्यक्त गरेका छन् । एउटै प्रकरणमा सबैलाई समान व्यवहार गर्नपर्ने सांसदहरुको माग थियो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्