एसपी बढुवाको बाटो खुलेन, आयोगले गरिदियो अस्वीकार



२१ पुष २०७५, काठमाडौं

साढे तीन महिनादेखि खाली नेपाल प्रहरीका १५ एसएसपीको पदपूर्ति तत्काल गर्न प्रहरी नियमावली संशोधन गर्न लागिएकोमा लोकसेवा आयोगले अस्वीकार गरेको छ ।

लोकसेवाले प्रहरी नियमावली संशोधन गर्न नमिल्ने राय गृह मन्त्रालयलाई दिएको हो । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान हेरफेर गरेर तीनवर्षे पदावधि कायम गर्दै बढुवा प्रक्रिया बढाउने तयारीमा मन्त्रालय थियो ।

तर, लोकसेवाले प्रावधान फेर्न सहमति नदिएपछि अब आगामी फागुनमा मात्रै एसएसपीमा बढुवा हुने भएको छ । अहिलेका एसपीहरूको पदावधि १० फागुनमा चार वर्ष पुग्छ ।

लोकसेवाले नियमावली परिवर्तन गर्नुभन्दा संघीय प्रहरी ऐनमै एसपी बढुवाका लागि तीनवर्षे पदावधिको प्रावधान राख्न सुझाब दिएको छ । संघीय प्रहरी ऐनको मस्यौदा ६ महिनादेखि कानुन मन्त्रालयमा छ ।

कानुन मन्त्रालयले नियमावली संशोधनका लागि समेत सहमति दिएको थियो । सर्वोच्च अदालतले बढुवाबाट पूर्ति हुने कुनै पनि पदमा तीन महिनाभित्र बढुवा गर्न सरकारलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार नै नियमावली संशोधन प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिका पदाधिकारीलाई कारबाही गर्नसमेत सर्वोच्चको फैसलामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्