१५ पुष २०७५, सुर्खेत
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कालीकोट पलाता गाउँपालिकाका अग्निपीडितलाई रु चार करोड ३५ लाख सहयोग दिने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज पत्रकार सम्मेलनगरी शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकबाट भएका अग्निपीडितलगायत अन्य निर्णय सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश सरकारको ३२औँं मन्त्रिपरिषद् बैठकबाट पलाता गाउँपालिका–१ न्यौपाने खाडाका अग्निपीडित प्रतिघरपरिवारलाई आवास निर्माणका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।
“यही पुस ८ गते राति आगलागी भएको उक्त बस्तीमा भोलिपल्ट पुगेर प्रदेश सरकारले प्रतिघरपरिवार रु २० हजार नगद र अन्य राहत सामग्री सहयोग गरिसकेको छ,” प्रवक्ता केसीले भन्नुभयो,“बैठकबाट अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रम सञ्चालन, उनीहरुको आवास निर्माणका लागि नमूना नक्सा र प्राविधिक सहयोगसमेत गर्ने निर्णय भएको छ ।”
उहाँका अनुसार बैठकले आगलागीबाट भएको आर्थिक तथा भौतिक क्षतिप्रति प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको छ । त्यसैगरी अग्निपीडितको उद्धार, अस्थायी बसोवास, खाद्यान्न, लत्ताकपडालगायत आर्थिक तथा भौतिक सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ/संस्था र सहयोगी व्यक्तिलाई प्रदेश सरकारको तर्फबाट हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको मन्त्री केसीले बताउनुभयो ।
आगलागीबाट जलेर नष्ट भएका ८७ घरपरिवारको पुनःस्थापनमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी सङ्घ संस्था र व्यक्तिसँग प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने निर्णयसमेत भएको जनाइएको छ ।