
०८ पुस २०७५, काठमाडौं
२०४९ साल ४ महिना १५ गते बुवा धनबहादुर दमाई तथा आमा धनकुमारीको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएकी ईश्वरीमाला छिनाल सायद नेपालकै होची महिलामा पर्छिन होला ।
चौलाही ३ दाङमा वसोवास गर्ने ईश्वरीको हाईट केवल ३० ईन्च मात्र रहेको छ । जन्मदा केवल ५ ईन्च हाईट तथा २०० ग्राम तौल भएकी ईश्वरी हाल २६ वर्षकी भईन भने उनको तौल अहिले लगभग ५ केजीमात्र रहेको छ ।

आफूलाई नाँच्न र गाउन खुवै मनपर्ने बताउने ईश्वरीले नेपालका विभिन्न महोत्सवहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन् । अहिले ७ जनाको परिवारको आर्थिक भार समेत उनैले थेग्ने गरेको उनका वुवा सुनाउँछन् ।

२०५८ सालतिर दाङ महोत्सवमा ४ दिन सहभागी भई पहिलो कमाई १२ हजार गरेकी ईश्वरीले अहिलसम्म नेपालका २०/२५ वटा महोत्सवमा सहभागी भई पाँचदेखि छ लाख आम्दानी गरेकी छिन् ।
सानोमा साह्रै सानी जन्मिएकोले अरुले बाँच्दैन भनेकै कारण हप्तादिनसम्म ननुहाईदिएको र पछि बाँचेपछि आफैंले नुहाईदिएको उनका वुवा सुनाउँछन् । जे जस्तो भएपनि आफ्नै सन्तान हो सास हुन्जेल आस हुन्छ पछि यही छोरीले पाल्ने पो हो की भनेको हिजै जस्तो लाग्छ आज त्यही नै भईरहेको छ उनका वुवा भन्छन् ।

शुरुवाती दिनमा एक डाडु लेदोले विहानदेखि बेलुकासम्मै पुग्ने सानी ईश्वरीले ३ महिना पश्चात मात्रै आमाको दुध खाएकी थिईन् । सानोमा हातमै अटाउने उनलाई ज्याकेटको गोजीमा हालेर बनमा लैजाने तथा गोरुको मुखमा लगाउने मुखौरामा हालेर खोपामा सुताउने समेत गरिएको थियो ।
ड्राईभर दाई मनपर्याे मलाई लैजाउन पोखरा घुम्नलाई गीत गाउनुका साथै नाँचेर देखाएकी ईश्वरीलाई पहिले अरु मानिसहरुले तिम्रो सन्तान “हामी किन्छौ, हामी पाल्छौ” भन्ने गरेको उनकी आमा सुनाउँछन् ।

चौलाही नगरपालिकाले ईश्वरीलाई उचित भत्ताको व्यवस्था गरिदिनुका साथै उनको रेखदेखमा विशेष ध्यान दिई उनलाई नेपालकै होची महिलाको दर्जा दिई सम्मान गर्नुपर्नेमा समेत उनको परिवारको जोड रहेको छ ।
संसारको सवैभन्दा होची महिला नै सायद ईश्वरी नै पो हुन् की यसबारे सम्बन्धित निकायले समेत सोधखोज गर्नुपर्ने देखिन्छ ।





