नेपाल इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील प्यानल विजयी



०३ पुष २०७५, काठमाडौं

नेपाल इन्जिनीयर्स एशोसिएशनको ३२ औं कार्यकारिणी समितिको १८ पदका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका अधिकांश उम्मेदबारहरु विजयी भएका छन् ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा भएको निर्वाचनको मतपरिणाममा अध्यक्ष पदका उम्मेदबार प्रगतिशील समूहका प्रा. डा त्रिरत्न बज्राचार्यले चार हजार ८९९ मत ल्याई विजयी भएका छन् । उनले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई ४१३ मत अन्तरले पराजित गरेका हुन् भने प्रधानले चार हजार ४८६ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गरे त्यस्तै निकटतम प्रतिद्वन्दी डा. चण्डिकाप्रसाद भट्टले चार ६११ मत प्राप्त गरे भने महासचिवमा छविराज पोखरेल चार हजार ८४५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गरेका थिए ।

उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी अशोककुमार साहले चार हजार ४१० मत पाए ।
कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्दी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गरे ।

सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिए ।

सदस्यमा प्रगतिशील समूहका छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा गरी चार सदस्य विजयी भएका छन् भने लोकतान्त्रिक समूहका सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी भए ।

एशोसिएशनको ३२ औं कार्यकारिणी समितिको निर्वाचन गत शुक्रबार काठमाडौँलगायत सात वटै प्रदेशमा भएको थियो । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्