
२७ मङ्सिर २०७५, काठमाडौँ
मिस नेपाल २०१८ को उपाधी चुम्दै मिस वर्ल्डको लागि चीन पुगेकी श्रृङ्खला खतिवडा हिजो मध्यरातमा नेपाल आइपुगेकी छिन् । उनी मिस वर्ल्डमा गएर यतिधेरै सफलता पाउने पहिलो नेपाली चेली हुन् ।
हुन त श्रृङ्खला मिस वर्ल्ड उत्कृष्ट १२ बाट नै आउट भएकी थिइन् तर उनले मिस वर्ल्डका दुई ठूला अवार्ड मल्टिमिडिया अवार्ड र ब्यूटि विथ प्रपोज अवार्ड भने जित्न सफल भइन् । श्रृङ्खला एयरपोर्टमा निकै खुसी र भावुक पनि देखिएकी थिइन् । उनलाई हेर्नको लागि मध्यरातमै भएपनि एयरपोर्टमा मानिसहरुको भिड निकै थियो ।
श्रृङ्खलाले आफूले मिस वर्ल्डको ताज नजितेपनि ३ करोड नेपालीको मन जितेको बताइन् । उनले मिस वर्ल्डमा आफू नेपाललाई विश्वमा चिनाउन गएको र मिस वर्ल्डको ताज नजितेपनि विश्वमा आफूले नेपाललाई चिनाएको महशुस भएको बताइन् । श्रृङ्खलाले मिस वर्ल्डमा गएर दुई ठूला अवार्ड पाउनुमा नै आफू निकै खुसी भएको बताइन् । साथै उनले आफूलाई यतिधेरै माया गर्ने सम्पूर्ण नेपालीलाई धेरै धन्यवाद पनि दिइन् ।





