शशी लुमुम्बूको ‘तपस्वी पहाड’ प्रकाशित



०७ मङसिर २०७५, काठमाडौँ

कविताकर्ममा विगत साढे तीन दशकदेखि समर्पित कवि शशी लुमुम्बू आफ्नो नवीनतम् कविताकृति ‘तपस्वी पहाड’ लिएर आएका छन् । प्रगतिशील काव्यफाँटमा भिन्न शिल्प र शैलीसहित सङ्ख्यात्मकतालाई भन्दा गुणात्मकतालाई ध्यानमा राखेर जीवनमुखी कविता लेखिरहेका उनको यसअघि ‘पहाडबूढो’ नामक प्रथम कविताकृति र बेनजिर भुट्टोको जीवनी ‘रक्तरञ्जित जीनकथा’ प्रकाशित छन् । यो उनको तेस्रो कृति हो । कथा, निबन्ध, समीक्षा, संस्कृति लगायतका विधामा कलम चलाउने उनको मूख विधा भने कविता नै हो ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कविताकृति ‘तपस्वी पहाड’भित्र ‘राजधानी प्रवेश’, ‘सन्त्रासहरू जीवितै छन्’, ‘अर्गानिक मान्छे’, ‘अन्तिम विद्रोह’, ‘तिमी मात्र सत्य होइनौ’, ‘सपनाहरूको रक्षार्थ’, ‘आमाको चिठी’, ‘एक थुँगा वनफूल’, ‘ध्यानस्थ रूख र मालश्री धुन’, ‘देउरालीको आत्मकथा’, ‘कोसी कथन’, ‘तिम्रो आगमनमा’, ‘देशको कलाकृति’ र ‘घामसँग यात्रा’ गरी जम्मा ४३ वटा कविता समाविष्ट छन् ।

कविताकृतिको भूमिकामा वरिष्ठ कवि बैरागी काइँलाले शशीलाई ‘पीडितहरू, बोली र आवाजविहीन आममान्छेका कवि’का रुपमा चित्रण गरेका छन् । यसै गरी ‘साधु भाषा, संयमित अभिव्यक्ति र व्यापक दृष्टिले हेर्ने विराट हृदय बोकेका’ कवि भनी उनको तारिफ गरेका छन् । उनले शशी ‘विचारले सधैँ जीवन्त र सङ्गठित, पहाडजस्तै अविचल रहेर कवितानमा स्वाभिमानपूर्वक बाँच्नुपर्ने सन्देश दिने कवि’ भएको भन्दै ‘भावना र विचारको समष्टि र प्रकट स्वरूप नै ‘तपस्वी पहाड’ भएको दावी गरेका छन् ।

युवा कवि तथा समालोचक सुरेश हाचेकाली ‘सहरमा उम्रिएका कतिपय हल्लाकवितामा जस्तो …‘तपस्वी पहाड’भित्र विषय र भाषिक संरचनाका बजारिया फेसन’ नभेटिने बताउँछन् । उनले ‘कवि शशीले धार्मिक र आध्यात्मिक मानेबाट …‘तपस्वी’ शब्दलाई ‘सेक्युलराइज’ गर्दै अविचलन र चट्टानी धैर्यको भाववाहकको रुपमा प्रयोग गरेको’ भन्दै शशी लुमुम्बू ‘जीवन, सङ्घर्ष र उज्यालोका मार्मिक र शक्तिशाली कविता रच्ने तथा आस्था र गन्तव्यलाई सदैव शिरोपर गरिहिँड्ने आफैँमा एक ‘तपस्वी’ भएको ठोकुवा गरेका छन् ।

वि.सं. २०२७ वैशाख १ गते भोजपुरमा जन्मिएका शशी लुमुम्बू सानैदेखि साहित्यप्रति समर्पित सष्टा हुन् । उनलाई राजतन्त्रविरोधी कविता लेखेको आरोपमा २०४६ सालमा तत्कालीन सरकारले पक्राउ गरी राजकाज मुद्धासमेत लगाएको थियो । कवितालाई मूल विधाको रुपमा आत्मसात गर्ने उनका दर्जनौँ कथा, निबन्ध, संस्मरण एवम् पुस्तक समीक्षाका साथै संस्कृति सम्बन्धि लेखरचनाहरू प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्