संघर्षले सिकाएको कुरा : शक्ति नेपाल



२९ कार्तिक २०७५,काठमाडौं

भोजपुरको कटुञ्जे –५ अर्थात हाल इटहरी उपमहानगरपालिका-२ सुनसरीमा जन्मिएका हुन् शक्ति नेपाल । २०४२ सालमा जन्मिएका नेपाल नेशनल प्याब्सन काठमाडौंका जिल्ला सदस्य, स्याट नामक क्लस्टरको सचिव तथा साम्तेन मेमोरियल स्कुलका प्रिन्सिपल हुन् । जीवन संघर्ष र सम्झना उनकै शब्दमा ।

बाल्यकाल

सानोमा एकदमै चञ्चले र चकचके स्वभाव भएकाले घरमा भएका नयाँ विशेषगरी इलेक्ट्रिक सामाग्रीहरु नचलाई हुन्नथ्यो। घरका हरेक यस्ता सामानहरु मै बिगार्थेँ तर म सँधैं दिदी र बहिनीलाई आरोप लगाइदिन्थें जसका कारण दिदीबहिनीले बिनासित्ती गाली वा कुटाई खानुपथ्र्यो ।एकदिनको कुरा हो बुबा सरकारी स्कुलको वरिष्ठ शिक्षक हुनुहुन्थ्यो । जिल्ला सदरमुकामबाट आउँदा नयाँ रेडियो किनेर ल्याउनुभएको थाहा पाएको थिएँ । बुबाले कसैलाई छुन दिनुहुन्नथ्यो आफ्ना सामान बुबाले सँधैं घटना र विचार कार्यक्रम सुन्नुहुन्थ्यो । म पनि त्यो कार्यक्रम परै बसेर सुन्थें । मलाई त्यतिखेरका शम्भु दाहाल र सीता कोइरालाजस्तै रेडियोमा बोल्न मन लाग्थ्यो ।

अब जसरी भएपनि त्यो रेडियो छुने र घटना र विचार कार्यक्रम सुन्ने रहर जागेर आयो अनि स्कुलबाट भागेर छिट्टै घर आएँ अनि बुबाको कोठामा तलासी गरें । नभन्दै त्यै रेडियो सिरानीमुनि भेटें र खुसी हुँदै बजाउन तम्सिएँ । तर रेडियो बजेन । केही गर्दा पनि रेडियो बजेन अनि खोलेर बनाउने र रेडियो बजाएरै छाड्ने निधो गरें । अनि घरमा पाइने थोत्रे हँसियाको फेदपट्टिको टुप्पाको प्रयोग गरी रेडियो खोल्न थालें भित्र त तार नै तार जेलिएको देखेर चुटिन्छ कि भन्ने डर पनि लाग्यो । बुबा आइहाल्नुहुन्छ कि भन्ने डर उत्तिकै थियो । तर भित्र के बनाउने थाहा थिएन र पाइन पनि ।

रेडियो बज्ने त छाटकाँट नै थिएन । यसोउसो हेर्दाहेर्दै बुबा पो टुप्लुक्क आइपुग्नु भयो । म त एक्कासि आत्तिएर के भन्नु न नभन्नु भएँ अनि उल्टै दिदीहरुले रेडियो बिगारेछन् र बनाको मात्रै भनेर के बोलेको थिएँ बुबाका कसिला झापडले मेरा गाला रन्थनिन थाले ।बाँसको सिर्कनाले समेत कति खाइयो खाइयो कुटाइ।रुन नसकेर म भाग्न खोज्थें तर पाउदिनथें ।बालाई कराउँदै मलाई तान्नु भयो अनि कुटाइ खान छोडे । मलाई गाली गर्दै बुबाले रेडियो सम्हाल्न थाल्नु भयो ।

म र आमा परै बसेर हेर्दै थियौं बुबा रेडियोलाई सुमसुमाइ राख्नुभएको देख्दा मलाई एकदमै माया पनि लाग्यो ।एक्कासि बुबा मुसुमुसु हाँसेको देख्दा म छक्क परें । भरे त्यो रेडियोको ब्याट्री निकालेर राख्नुभएको रहेछ । त्यो लगाएपछि रेडियो खोल्दा बज्न थाल्यो अनि फेरि बुबा मलाई पिट्न खोज्नु भयो र आमाले गाली गर्नुभयो ।  तर यसपालि भने म भागेर बचें । त्यहाँदेखि मैले बुबाको रेडियो छुइन र अहिले पनि जुनसुकै रेडियो देख्दा त्यै ब्याट्री नभएको  रेडियो र बुबाको कुटाइ नराम्ररी बल्झाइदिन्छ ।

शैक्षिक  यात्रा :

गाउँको कटुञ्जे माविबाट पढाइ सुरु भयो । पढाइमा राम्रै विद्यार्थीका रुपमा चिनिन्थें । यसो हुँदै सुकुना बहुमुखी क्याम्पसमा समेत भर्ना  हुँदै महेन्द्र बहुमुखी क्याम्पस धरान र भोजपुर बहुमुखी क्याम्पस, भोजपुरबाट आइ ए उत्तीर्ण गरें । १३ वर्ष पुगेर १४ लाग्दा त्यतिखेरको एसएलसी पास गरेको थिएँ। अनि दाजुको विशेष परामर्शमा बी.एड पढ्न ताहाचलमा पनि भर्ना चैं भइयो तर घरबाट टाढा भनेर दाजुकै पहलमा धनकुटा बहुमुखी क्याम्पसमा स्थानान्तर भइयो । त्यहींबाट स्नातक उत्तीर्ण गरेँ । त्यहाँ साहित्यकार झमककुमारी घिमिरे सल्लाहकार रहनुभएको तेस्रो आवाज नामक पत्रिकामा सम्पादक भई काम पनि गरें ।

आफ्नो विषयमा क्याम्पसको प्रथम विद्यार्थीका रुपमा पहिचान हाँसिल गरेपछि म भित्रको म पनि जाग्न थाल्यो तथापि व्यक्त भने भएको थिएन । यत्तिकैमा विराटनगरको प्रगतिशील मावि कर्सियामा शिक्षण गर्ने अवसर जुट्यो । त्यतिखेरसम्म बुबाले तराईमा घर बनाइसक्नु भएको थियो । यो समय ०६३ सालतिरको हो । जतिबेला तराईमा आन्दोलन हुँदै थियो । मधेशे र पहाडेका बीचमा एकदमै द्वन्द्व र कटुता थियो । म साइकल चढेर विद्यालय जाँदै थिएँ । बाटोमा केटाकेटी आन्दोलनकारीहरुसँग भेट भयो ।

मलाई देख्नेसाथ एकजना केटाले भन्यो “ साला पहाडिया……” अनि अर्कोले भन्यो अस्पस्ट नेपालीमा नै भन्यो “ ओइ पहाडिया कहाँ चलेको? हाम्रो बन्द थाहा छैन?” मैले विस्तारै भनें भाइ म टिचर हुँ कर्सिया माविमा पढाउँछु, आज स्कुल लागेको छ अनि हिंडेको हुँ भाइ …। अनि अर्को जोसिएर बोल्यो “साला पहाडिया तेरा टाउको फुटाइदिउँंङ्गा , भाग……” भनेर उसले बोकेको बाँसको भाटोले मेरो साइकललाई कस्सिएर हान्यो, मेरो साइकलको अगाडिका ३ वटा स्पोकहरु ठाउँका ठाउँ भाँचिए । म डराउँदै साइकललाई फर्काएर जान लागें अर्कोले फेरि साइकललाई एक भाटो हान्यो र मलाई रोक्दै “जय मधेस भन् साला…..” भन्यो । मैले विस्तारै जय मधेस भनें तर उनीहरुले हात माथि गरेर भन् भने अनि दुवै हात माथि राखेर अलि ठूलो स्वरमा “जय मधेस ….” भनें र मैले साइकल उचालेर अलि वरतिर ल्याएँ अनि ती भाँचिएका स्पोकलाई अन्य स्पोकमा बेरी साइकल कुदाएर फर्कें ।

बाटोमा आउँदा आउँदै अब यो ठाउँमा बस्नु भनेको सबै अनिर्णित बनाउनु हो त्यसैले अब जसरी भए पनि काठमाडौं मै जानुपर्छ डिग्री गर्न सोचें र दाजुलाई फोन गरें तर सुरुमा दाजुले काठमाडौं गएर डिग्री गर्न गाह्रो छ यतै घरवरिपरि नै बस्नुपर्छ भन्नुभयो । तर मेरो नजिकको मिल्ने साथी कुलचन्द्र पनि काठमाडौं गइसकेको थियो । उसले बारम्बार फोन गरिरहेको थियो । तर म राजधानी कसरी जाने भनेर अन्यौलमा परेँ । दाजु र बुबाको सल्लाह पनि मलाई काठमाडौं नपठाउने नै भएछ । बुवाले भन्नुभयो, ‘गाउँको पैसा लगेर काठमाडौंमा पढ्न सकिन्न फेरि घरदेखि टाढा छ । मनलागेका बेला घर आइहाल्न पनि सकिंदैन। यतै पढ्नु भनेर मलाई रोक्नु भयो तर मेरो मनले मान्दै मानेन उता मधेसको आन्दोलनले म तर्सिसकेको थिएँ भने काठमाडौंको डिग्रीको रहरले नसा चढिसकेको थियो । अनि मसँग जम्मा ११०० रुपैयाँ थियो त्यसैले काठमाडौंको रात्रीबसको टिकट काटेर जाने र उता पुगेपछि केही होला भन्ने ठानी विराटनगरबाटै काठमाडौं जाने निर्णय गरें र काठमाडौं लागेँ। रातीको यात्रा घरको अनुमतिविनै हिंडेको छु, अलिअलि डर लागेको छ। जाम र केके हुँदै मुङ्लिङ् पुगेपछि उज्यालो भयो र साथी कुलचन्द्रलाई सबै बेलिबिस्तार फोनमार्फत् सुनाएँ ।

उसले भन्यो “ओके डन्ट वरी” अनि म अलि हौसिएँ । र ९ बजेतिर डिग्री गर्ने जोससहित कलङ्की झर्दा अलि आनन्द चैं आएको थियो । तर त्यहि दिनको प्रवेश परीक्षाका लागि जानुपर्ने सुनेपछि अलि तनाव सुरु भएको थियो किनकि म घरमा नसोधी पनि आएको र मसँग डिग्री भर्ना गर्ने पैसा पनि नभएकाले अलि तनाव भयो । यो कुरोमा कुलचन्द्रले सहयोग गर्ने भयो र उसकै पैसाले भर्ना गर्ने सोंचसहित प्रवेश परीक्षामा भाग लिने भएँ । किनकि प्रवेश परीक्षामा पास हुने निश्चितजस्तै थियो त्यहाँ स्नातकको मार्कसिटलाई पनि हेरिन्थ्यो स्नातकको मार्कसिटमा राम्रै अङ्क थियो र म लगभग ढुक्क थिएँ । त्यसपछि डिग्रीमा भर्ना भइ पढ्न थालेको दाजु र बुबालाई भनेँ सुरुमा त उहाँहरु रिसाउनुभयो । अब जे गर्छस् आफैं गर भन्नुभयो । अब म भने सानोतिनो जागिर खोज्न थालेँ। धेरै चिनेजानेका घरमा गएँ । बिन्ति त कति गरें, कतै जे काम भेटे पनि गर्ने र पढाइलाई निरन्तर बढाउने सोंचले पिरोलिरह्यो । आफ्नै कोठा भाडामा लिइ कीर्तिपुरमा बस्ने निधो भयो । तर कोठामा बस्दा सबै सामानको बन्दोबस्तो गर्नुपर्ने भएकाले धेरै खर्च हुने भयो । खान पनि खर्च राम्रै लाग्ने,किताब किन्न पनि उस्तै खर्च लाग्ने त थियो नै । यस्तै अभावमा चल्दै थियो । चिउरा र चियामात्रै खाएर कति रात काटिए ।

अरुकोमा ग्याँस बल्थ्यो तर मेरोमा स्टोभ बाल्दा अलिकति खिन्न भइन्थ्यो । घरको अवस्था राम्रै  हुँदा हुँदै  कस्तो अभाव ? काठमाडौं आएर के गल्ती गरें र ? भन्ने महशुस धेरैचोटी भयो । “सुकरातका पाइलाहरु” गोविन्दराज भट्टराईको कृति पढ्दा कताकता मसँगै मिलेजस्तो हुन्थ्यो । हामीलाई नै पढाउने एक जना खनिया गुरुले सर्वोेच्च अदालतबाट निस्कने म्यागजिनको भाषा सम्पादन गर्न भन्नु भयो त्यो नै मेरो टर्निङ् पोइन्ट थियो मेरा लागि । मैले ३००० पेज भाषा सम्पादन गर्दा मलाई कोठादेखि पठनपाठनसम्म धान्ने लगभग खर्च जुटिसकेको थियो । र साथसाथै ममा हौसला पनि बढिरहेको थ्यो।यत्तिकैमा प्रथम वर्षको रिजल्ट आयो मैले मेरो विषयमा त्रिविको सेसनमै प्रथम स्थान हासिल गरेको ठहर भयो । त्यो खुसीमा धेरैचोटी रोएको छु । यो खुसी सुरुमा ममीसँग र सँगसँगै दाजु र बुबासँग बाँडे । अनि मात्रै उहाँहरुले खुसी व्यक्त गर्नुभयो । त्यसपछि स्थिति सामान्य हुँदै गयो । दोस्रो वर्षको रिजल्ट आयो यसमा पनि त्रिविमा टप गरको नै ठहर भयो । खुसीको त सीमा नै थिएन ।

साथीहरु बीच एकदमै सुमधर सम्बन्ध राख्न चाहाने म अझै सुमधुर बनाइराथेँ । अब त जागिर खानै पर्छ भनेर साथी कुलचन्द्र र मैले २५ जति बायोडाटा फोटोकपि गरेर ब्यागमा बोकी काठमाडौंका गल्लीगल्ली,चोकचोक जुनसुकै कलेज र स्कुल चाहार्न थाल्यौं।हरेक दिन बिहान खाना खान्थ्यौं र ब्यागमा बायोडाटा बोकेर स्कुल र कलेज चाहार्नु हाम्रो दैनिकी बनेको थियो । हामी दुवैजना आफ्नो विषयमा विशिष्ट श्रेणी प्राप्त र टपर टपर भए तापनि जागिरका लागि अयोग्य झैं महशुस हुन्थ्यो । तर यहाँ त केवल विज्ञापनका लागि विज्ञापन गरिदोँ रहेछ । जागिरका लागि हैन रहेछ भन्ने बुझियो तर पनि बायोडाटा लगेर छोड्न भने छाडिएन । एकदिन म जेभिएर इन्टरनेशनल कलेजमा कक्षा प्रस्तुतिका लागि गएको थिएँ । अन्तर्वार्ता पनि लिने भए एकजना लोकबहादर भण्डारीले,उनी नै प्रिन्सिपल रहेछन् । उनले त ओभर क्वालिफाइड भने ।वास्तवमै त्यो भनेको के हो भन्ने आशय बुझिन । आएर साथीलाई सोध्दा पो चाहिनेभन्दा बढी योग्यता भएमा त्यसो भनिंदो रहेछ । त्यसपछि म निराश भई बसिरहेको थिएँ । चाबहिल चोक छेउमा एउटा दीपिका इङ्लिस स्कुल भन्ने थियो त्यसका प्रिन्सिपल मेरा लागि संधैं दाजु नारायण नेपाल हुनुहुन्थ्यो । उहाँले फोन गरेर अनि काव्यात्मक भाषामा यहाँ एकचोटी पढाएर हेर्ने हो त ? भनेर फोन गर्नुभयो । म पनि हौसिंदै गएँ।नभन्दै कक्षा १० लाई पढाउन पाउने भइयो । त्यो नै मेरो सबैभन्दा खुसीको क्षण थियो ।

०६५ सालको यस घटनाले मलाई विशेष पाठ सिकायो । अनि बिस्तारै आफ्ना नेटवर्कहरु बढाउन थालें । नभन्दै पहिले मलाई रिजेक्ट गर्ने विभिन्न कलेज र स्कुलहरुले फेरि बोलाउन थाले। अब भने आफूले छान्न थालियो । यत्तिकैमा एउटा रिड नेपाल भन्ने अन्तर्राष्ट्रिय सँस्थामा शिक्षक प्रशिक्षकको विज्ञापन खुलेको थाहा पाएँ । साथी कुलचन्द्र र मैलेसँगै आवेदन गर्यौं । एकदिन एक्टिभ कलेज बसुन्धरामा पढाएर पढाएर पिरामिड कलेज गौशालातिर बसमा गैरहेको थिएँ । बसमा भएकै बेला रिड नेपालबाट आफ सर्ट लिस्टमा परेको फोन आयो र लिखित परीक्षा र अन्तर्वार्ताका लागि बोलाइयो । मभित्र छुट्टै जोश र खुसी भरिंदै आइरहेको थियो । किनकि मैले विकल्प खोजिरहेको पनि थिएँ । जतिखेर म रु ८०० मा एक पिरिएडका लागि कीर्तिपुरदेखि रिङ्रोडका स्कुल र कलेजमा धाइरहेको थिएँ । र रिड नेपालका सबै परीक्षाहरुमा छानिंदै गएँ र अन्ततः हिमाली जिल्लाका सरकारी विद्यालयका शिक्षकलाई तालिम दिनका लागि म खटिएँ ।

सोलुखुम्बु ,ताप्लेजुङ्,रसुवाजस्ता हिमाली जिल्लामा जाँदा र त्यहाँको शैक्षिर स्तर अनि शैक्षिक पद्दतिलाई नजिकबाट नियाल्ने काम गरें जसले मलाई शिक्षा बारे धेरै कुरा सिकायो । काठमाडौंमा आउँदा कलेज पढाउन छोडिन । यत्तिकैमा चाबहिलको चाहाना कलेज लिने सोंच भयो र हामी केही साथीहरु मिलेर कलेज सञ्चालन गर्न थाल्यौँ । शैक्षिक निर्देशकका रुपमा स्वयंसेवक भई काम गर्न थालेँ । लगानी जति गर्यो त्यसको डबल खर्च हुन्थ्यो । हामी सकेसम्म कलेजलाई उत्कृष्ट र गुणस्तरीय हब बनाउने लक्ष्यमा लाग्यौँं । जुन कलेज अहिले चारुमति कलेजका नामले सञ्चालित छ ।

आवश्यकता भएर जनप्रशासनमा पनि डिग्री गरेपछि प्रशासनको कार्यमा थप सहजता प्राप्त भयो।अनि टिआइटिआइ भक्तपुरमा सशुल्क रुपमा नेतृत्व विकासको तालिम लिदैँ देशका विभिन्न ठाउँमा प्रशिक्षकका रुपमा आमन्त्रण हुन थाल्यो।आफूले डिग्रीमा मेडल प्राप्त गरेकाले आफ्ना शुभचिन्तकलाई पनि मेडल प्राप्त गर्न लायक प्रयास गर्न हौसला दिन मन लाग्छ। विदेश जाने अवसर आइरहँदा पनि देशमा नै केही गर्ने प्रयास गरौं न त भनेर देशमै केही गर्न मन लाग्छ।आफूलाई चित्त नबुझेको जुनसुकै कुरालाई पनि तर्क गर्न मन लाग्छ।

अंग्रेजी बोल्न नसक्दा धेरै ठाउँमा हीनता बोध भइसकेपछि अंग्रेजीको स्वअध्ययन मात्रै गरिएन अंग्रेजीका कक्षा जति पनि लिन थालें र अब नेपाली जति बोल्न र लेख्न सकिन्छ अंग्रेजीलाई पनि त्यतिकै पहुँचमा पुर्याएपछि  आत्मविश्वास बढ्छ।

संलग्नता

त्यसै दौरानमा कपनको साम्तेन मेमोरियल स्कुलमा प्रिन्सिपलका रुपमा काम गर्र्नै मौका प्राप्त भयो । जति मौका आउँछ त्यति लिनुपर्छ भन्ने पाठ सिकेका कारण अवसरलाई हातमा राख्न थालेँ। जतिबेला साम्तेन स्कुल कक्षा ५ को अनुमति लिएर चलिरहेको थियो । जिल्ला शिक्षा कार्यालयसँग समन्वयको अभावमा चलेको रहेछ।तथापि अहिले कक्षा १० पुरा गरी ११ को सञ्चालनको तयारीमा छ । सुरुमा अत्यन्तै चुनौति झेल्नु पर्यो । कोही आफू लोकल भई अटेर गर्थे । कोही धम्क्याउँथे । कोही चन्दा त कोही केके नाममा प्रशासनलाई एकदमै अप्ठ्यारो बनाइदिन्थे। तर निरन्तर लगाव र विकल्पसहितका कार्ययोजना बनाउँदै गएँ। जस्तो चुनौति त्यस्तै सामना गर्दै गएँ । नयाँनयाँ कार्यक्रमहरु तय गर्ने र विद्यार्थीलाई बहुआयामिक बनाउन मैले निकै कसरत गरेँ ।

सिस्टमको कमी रहेको विद्यालयबाट अहिले स्मार्ट सिस्टमको व्यवस्थापनमा स्कुल चलिरहेको छ । अभिभावकीय शिक्षा र चासोलाई ध्यय बनाई कपनमा अब साम्तेन भनेर चिनिन सक्ने विद्यालय बनेको छ । हुन त काम गर्न धेरै बाँकी छ म जाँदा जस्तो थियो अहिले पनि म त्यस्तै देख्दै छु । तथापि बाहिरी प्रभाव र प्रतिक्रियाका आधारमा बामे सर्न थालेको बुझिन्छ । आफू फुर्सद भएमा कुदेर विद्यालय पुग्छु र प्रशासनलाई चुस्त दुरुस्त राख्नु मेरो दैनिकीजस्तै बनेको छ । आफ्नो काम नसकिउञ्जेल के राती के दिउँसो के बिहान के साँझ केही पनि नभनी अठोट र लगनशीलताले स्कुल अहिले सन्तोषजनक रुपमा पुगेको छ।

साथमा आफ्नो रुचिअनुरुप बिहानी समय कलेजहरुमा शिक्षण गर्नुका अतिरिक्त कहिलेकहिले रेडियो राजधानीमा टार्गेट पोइन्ट नामको कार्यक्रम चलाउन पुगिन्छ । साथमा स्वयंसेवी संस्था नेपालको योजना तथा कार्यक्रम हेर्ने जिम्मेवारी पनि लिएको छु अनि नेशनल प्याब्सन काठमाडौंको जिल्ला सदस्य तथा स्याट नामक क्लस्टरको सचिवका रुपमा काम गरिरहेको छु । विभिन्न तहका पाठ्यपुस्तक लेखन तथा विद्यार्थी र शिक्षक अनि अन्य व्यवसायीहरुलाई मोटिभेसन दिने स्पिकरका रुपमा पनि काम गरिरहेको छु । पुस्तक लेखन तथा सम्पादन अनि आफ्नै पठनपाठनमा पनि व्यस्त हुनुपर्ने छ । आफूले गर्ने काम तथा लक्ष्यलाई निरन्तरता दिने कर्मअनुरुप विद्यावारिधिको पूर्वचरणको अध्ययन गर्दैछु । साथमा रोटरी क्लब अफ कपनको सदस्य तथा अभियान लायन्स क्लबको सदस्य पनि रहेकाले समाज सेवामा पनि मन गएको छ ।

म संलग्न भएको साम्तेन स्कुलले विगतदेखि नै नवीन नवीन कार्य गर्दैछ । स्मार्ट व्यक्तित्व विकासका लागि नेतृत्व सीप,स्मार्ट पढाइ,स्मार्ट जीवनशैली, नाटक, गीत,सिनेमा तथा गार्डेनिङ्, फोटोग्राफी,मोड्लिङ्, रेडियो तथा  टिभीमा  बोल्ने कला आदिमा विद्यार्थीलाई दिशानिर्देश गरिरहेको छु ।

जीवनमा एउटा सफल र असल शिक्षासेवी बन्ने साथमा उद्यमशीलतासँग सम्बन्धित लेसन आफूसँग सरोकार राख्नेहरुबाट सिक्दै र अरुसँग पनि साटासाट गर्दै जीवनलाई अर्थपूर्ण बनाउन संधैं कर्म गरी आफ्नो काम आफैँ गर्दै अघि बढ्ने संस्कार लिन र दिन हरदम तयार हुनुपर्छ भन्ने ठान्दछु । काम गर्दै जाने क्रममा खुट्टा तान्ने मानिसहरु पनि आउँदा रहेछन् । तर मलाई भने त्यसले झनै काम गर्न हौसला थपेको जस्तो लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्