कस्तो छ प्रधानमन्त्रीलाई ? : शरीर सुन्निएको छ, अनुहार र छाती रातो छ



१३ कार्तिक २०७५, काठमाडौँ

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरुले प्रयास गरिरहेको बताए ।

दसैँको भिडभाडकै कारण मौसमी फ्लुको संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमानै उपचार गरेका थिए ।

तर, रगतमा सुगरको मात्रा बढेपछि त्यसलाई नियन्त्रण गर्न असफल भर्ना गरियो ।

प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । उनीमा स्वाइनफ्लु नगेटिभ छ । ज्वरो भने आएको छैन ।

स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन ।

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले पनि प्रधानमन्त्रीको मुटु र मिर्गौलामा समस्या नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्