युवाद्वारा धार्मिकस्थलको सौर्य बत्ती जडानमा सहयोग



०८ कार्तिक २०७५, बागलुङ

बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको थियो ।

गल्कोट नगरपालिका–७ मा रहेका धार्मिकस्थललाई अँध्यारोमुक्त बनाउनका लागि घुम्टे युवा परिवारले सहयोग गरेको संस्थाका सल्लाहकार टीकाबहादुर थापाले बताउनुभयो । रोजगारीको सिलसिलामा जापानमा रहेका गल्कोटे युवाले आफ्नो मासिक पारिश्रमिकको केही अंश जोगाएर धार्मिकस्थलमा सौर्य ऊर्जा जडानका लागि सहयोग गरेका थिए । सामाजिक कामको लागि स्थापना भएको युवा परिवारमार्फत जापानमा रहेका युवाले विभिन्न शीर्षकमा सहयोग गर्दै आएका छन् ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा समेत सौर्य ऊर्जा जडान गरेको छ । जापान शाखाले पठाएको रु एक लाख २५ हजार खर्चेर चार धार्मिकस्थल र संस्थाको कार्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्