‘साउथ चाइना सी’मा चीन–अमेरिका विवाद



४ कार्तिक २०७५, काठमाडौं

सन् ०१६ को मध्ययता चीनको साउथ चाइना सी (चीनको दक्षिणी समुद्र) शान्त बन्दै आएको थियो । यो समुद्र चीनअन्तर्गत पर्छ । तर, चीनको अधिनमा रहेको यस समुद्रमा अमेरिकाले नौसैनिक जहाज पठाएर विवाद उत्पन्न गर्ने प्रयास गरेको छ । गत ३० सेप्टेम्बरमा अमेरिकाले साउथ चाइना सीतर्फ आफ्नो नौसैनिक जहाज पठायो, तर चिनियाँ नौसैनिक जहाजले अमेरिकी जहाजलाई धपाइदिए । दुई देशका जहाज आम्नेसाम्ने भएको घटना यतिवेला राजनीतिक मुद्दा बनेको छ ।

गत ४ अक्टोबरमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनप्रतिको अमेरिकी नीतिबारे भाषण दिए । चीनले अमेरिकालाई अपमानित गर्ने कोसिस गरे पनि अमेरिकी नौसेना निरन्तर अघि बढ्ने उद्घोष गरे । अमेरिका पछि नहट्ने अडान उनले लिए । भाषणका क्रममा चीनको आन्तरिक राजनीति तथा विदेश नीतिलाई लिएर पेन्सले कटाक्ष गरे । साउथ चाइना सीको विषयलाई लिएर केही समालोचक र मिडियाले बढाई–चढाईसहितका टिप्पणी गरे । अमेरिकासँग मुठभेड गर्न खोजेको दाबी केही टिप्पणीकारको छ भने केहीले अन्य देशसँगको चीनको सीमा विवादका विषय उचाले । केहीले स्वतन्त्र रूपमा समुद्रमा अन्य देशले आवतजावत गर्न पाउने भन्दै अमेरिकी कदमको पक्षमा अन्य देशले साथ दिनुपर्ने तर्क गरे ।

वास्तवमा, साउथ चाइना सीलाई लिएर चीनसँग विवादमा आएका फिलिपिन्स र भियतनामबीच बृहत् समहति भइसकेको छ । विवाद समाधान गरेर आपसी सहकार्य गर्ने सहमति भएको छ । यसर्थ, हस्तक्षेपविनै चीनले सम्बन्धित देशसँग सहमतिका आधारमा यस क्षेत्रको शान्ति र स्थायित्वका लागि काम गरिरहेको छ । तर, चीन, भियतनाम र फिलिफिन्सबीच भएको समझदारी अमेरिकी स्वार्थअनुरूप छैन । ट्रम्प प्रशासनले उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणलाई पूर्वी एसिया नीतिको प्राथमिकतामा राखेको बताउँदै आएको छ । यसो भनिरहँदा साउथ चाइना सीमाथि हस्तक्षेप गर्ने प्रयासलाई अमेरिकाले जोडतोडसाथ बल गरिरहेको छ ।

अमेरिका–चीन व्यापार युद्ध उत्कर्षतर्फ अघि बढ्दै जाँदा चिनियाँ समुद्रलाई अर्को कार्डका रूपमा अमेरिकाले प्रयोग गर्ने पुनः प्रयास गरेको छ । यही अमेरिकी नियतका कारण चिनियाँ र अमेरिकी नौसैनिक जहाज आम्नेसाम्नेको स्थितिमा पुगे पनि । यसर्थ, रणनीतिक रूपमा विवाद बढाउने निहुँमा चीन र अमेरिका दुवैले व्यापार युद्धलाई थप चर्काउने दिशामा जोड दिनु हुन्न । यति वेला चीन–अमेरिका सम्बन्ध विगत दुई शताब्दीयताकै सबैभन्दा खराब स्थितिमा छ ।

आजभन्दा दुई शताब्दीअघि दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गरेयता दुई देशको सम्बन्ध यति नाजुक कहिल्यै बनेको थिएन । विश्व शक्तिका लागि टकराव गर्ने प्रयासमा अन्तर्राष्ट्रिय कानुन र विश्व व्यवस्थालाई दुई देशले आ–आफ्नो चासोका आधारमा बुझेको देखिन्छ । यसर्थ, विवादलाई गम्भीर मोडतर्फ डोर्‍याउनेभन्दा पनि समाधानका लागि दुई देशको ध्यान केन्द्रित हुनु अहिलेको आवश्यकता हो ।

(लेखक ली काइसेङ चीनको सांघाई एकेडेमीमातहतको अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन केन्द्रका शोधकर्ता हुन्। ग्लोबल टाइम्सबाट)

प्रतिक्रिया दिनुहोस्