कार्तिक ६ गतेसम्म प्रधानमन्त्रीको हातबाट दसैंको टीका लगाउन सकिने



४ कार्तिक २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई बडादसैंको टीका लगाईदिएका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई टीका र जमरा लगाई दिएका हुन् ।

पूर्व निर्धारित समयमा टिका लगाउने कार्य सुरु नहुँदा टीका लगाउन जम्मा भएका पार्टीका कार्यकर्ता र सर्वसाधारणबीच अन्यौलता देखिनुको साथै आपसमा ठेलम ठेल भएको थियो । टीकाको कार्यक्रम लम्बिदैं गर्दा त्यहाँको स्थिति थप अव्यवस्थित बनेको थियो । टीका लगाउनका लागि प्रधानमन्त्री निवासमा सांसद, कार्यकर्ता तथा सर्वसाधरणहरु निकै समय कुर्न बाध्य भएका थिए । केही सर्वसाधरण टीका नलगाई फर्किएका थिए भने कार्यकर्ता र सांसदहरु २ घण्टा पर्खिएर टीका लगाएका थिए । टीका लगाउनका लागि घण्टौ कुर्नुपर्दा पनि कार्यकर्ताहरु भने जनताबाट निर्वाचित प्रधानमन्त्रीको हातबाट टीका लगाउनुपर्ने भन्दै चित्त बुझाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले अपरान्ह २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा र अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टिका लगाईदिने कार्यतालिका सार्वजनिक गरेको भएपनि २ घण्टा ढिलो गरि प्रधानमन्त्रीबाट टिका लगाईदिने कार्यक्रम सुरु भएको थियो ।

यसैबीच प्रधानमन्त्रीको सचिवालयले कार्तिक ३ गते (एकादशी)देखि कार्तिक ६ गते (चतुर्दशी)सम्म विहान ९:०० देखि ११:०० बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंकाे टिका ग्रहण गर्न सकिने जनाएको छ। यो खबर नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्