
४ कार्तिक २०७५, रोल्पा
दस वर्षसम्म अलपत्र परेको रोल्पाको सदरमुकाम लिबाङ र पश्चिमी पाँच गाउँपालिका, छिमेकी जिल्ला दाङ, सल्यान र रुकुम जोड्ने सडक निर्माण हुन थालेपछि रोल्पालीमा खुसी छाएको छ।
माडीखोला किनारको अजंगको चट्टान फोड्न डोजरबाट काम धमाधम भइरहेको छ। माडीमा पक्कीपुल बनाउनका लागि ठूलो चट्टान फोड्नु पर्ने भएको छ। अघिल्लो ठेकेदारले अलपत्र पारेको पक्कीपुल बनाउन चट्टान कटान पहिलो शर्त बनेको छ।
भदौ १ गतेदेखि पुल बनाउन निर्माण कम्पनी अहोरात्र खटिरहेका छन्। २०६९ सालसम्म बनिसक्नु पर्ने पक्कीपुल दुईवटा पिलरमै सिमित थियो।
तीन वर्षमै निर्माणको काम सम्पन्न गर्ने गरी २०६६ असार २२ गते लामा/एडी/धर्मेन्द्र जेभी कम्पनीले ठेक्का सम्झौता गरेका थियो। ठेक्का पाएको दुई वर्षपछि काम सुरु गरेको कम्पन्नीले बीचमै पुल अलपत्र छोडेको थियो।
अघिल्लो ठेकेदार वसन्त डिसीले लामो समयसम्म पुल नबनाएपछि पुल बन्ने सपना मारेका रोल्पाली निरास थिए। सरकारले ठेक्का रद्द गरेर नयाँ टेन्डर आह्वान गरेपछि भने आसा पलाएको छ।
नयाँ ठेक्का रोल्पा तालाबाङका निर्माण व्यवसायी राजवीर घर्तीले ल्याएका छन्। एसियाटिक निर्माण कम्पनी र राज कनस्ट्रक्सन प्रालिको जेभीमा ठेक्का सम्झौता भइ काम सुरु भएको प्यूठान सडक डिभिजनले जनाएको छ।
‘अलपत्र पुल बनाउने जिम्मा पाएको छु। समयमै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ’, काममा खटिएका निर्माण व्यवसायी घर्तीले भने, ‘जिल्लाकै सामरिक महत्वको पुल हो। जिम्मेवारीको साथ निर्माण सम्पन्न गर्छु।’
पुल अलपत्र बनेपछि विकल्पमा यहाँ बेली ब्रिजले काम चल्दै आएको छ। काम सुरु भएपछि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीसहितको टोलीले समेत निर्माण स्थल अनुगमन गरेको छ। जिल्लाका नेता समेत निर्माण स्थल पुग्ने गरेका छन्। सडक डिभिजनका कर्मचारी पनि बेलाबेला यहाँ आउने गरेका छन्। निर्माण कम्पनीको दुईवटा डोजर काममा प्रयोग भइरहेका छन्।
बढ्यो लागत
अघिल्लो ठेकेदारसँग पुल बनाउन ३ करोड ४१ लाख ५२ हजारमा सम्झौता भएको थियो। सम्झौता अनुसार २०६८ असारमै पुल बनिसक्नु पर्ने थियो। ६२ दशमलव ५ मिटर लम्बाई र ४ मिटर चौडाई बनाउने गरी सम्झौता भएको थियो।
ढिला काम थालेका ठेकेदारले लम्बाई कम डिजाइन इष्टिमेट भएको भन्दै काम बीचमै रोकेका थिए। सडक डिभिजनले पुनः डिजाइन इष्टिमेट गर्दा पुलको लम्बाई ७२ दशमलव ५ मिटर र ६ मिटर चौडाई कामय भयो।
पुलको लम्बाई बढेपछि लागतसमेत बढ्यो। डिभिजनका अनुसार ३ करोड ९२ लाख ९ हजार ७२ मा उनै ठकेदार डिसीले काम गर्न पुनः राजी भएका थिए।
पुल बन्ने भयो भन्दै तत्कालीन सरकारका भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठी र अर्थमन्त्री वर्षमान पुनमगरले माडीखोला किनारमलै हेलीकोप्टर ल्याण्ड गरी शिलान्यास गरेका थिए।

त्यसपछि मुस्किलले दुईवटा पिलर ठडिए। पटकपटक गरी ठेकेदारले करोड बढी भुक्तानी पाए। तर, पुल बनेन्। सोही पुलको काम सम्पन्न गर्न अहिले ३ करोड ३५ लाख पुनः नयाँ ठेक्का सम्झौता गर्नु पर्यो सरकारले। सम्झौता अनुसार १७ महिनामा अर्थात अबको डेढ वर्षपछि पुल बन्नुपर्छ।
गालीबाट जोगिएलान नेता ?
निर्माणाधिन पक्कीपुल पूर्वसभामुख ओनसरी घर्ती र वर्तमान अर्थमन्त्री वर्षमान पुनको जन्मथलो माडीचौरबाट नजिकै पर्छ। माडीखोला हुँदै पन्ध्र मिनेटमा उनीहरुको घर पुगिन्छ।
उपराष्ट्रपति नन्दबहादुर पुन, संघीय सांसद जयपुरी घर्ती, प्रदेश ५ का सांसद कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुन तथा तत्कालीन नेकपा एमालेका नेता गोकुल घर्ती पनि पुलपारीका हुन्।
तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि जिल्लावासी हुन्। पुल बनाउन नसकेको आरोप उनलाई पनि लाग्दै आएको छ। ‘ठेकेदारले पुल नबनाउँदा गाली हामीले खानु पर्यो। यात्रुसँगै गाडीमा यात्रारत हुँदा जनताले नेतालाई गाली गरेको मेरै कानले सुन्नु पर्यो धेरै पटक’, ५ नम्बर प्रदेश सांसद पुनमगर भन्छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्वसिंचाई राज्यमन्त्री अमरसिंह पुनले बेलिब्रिज बनाउन पहल गरेको भन्दै जस लिँदै आएका छन्। अहिले अस्थायी पुलबाट गाडी ओहोरदोहोर गर्छन्। यो खबर अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो।





