टेबल गफ : मानवीय सम्वेदना नै गद्य कविताको मूल अन्तरवस्तु



२६ असोज २०७५, काठमाडौं

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत् सहप्राध्यापक, आधुनिक नेपाली गद्यकविताका प्रखर कवि, साहित्यकार एवं प्राचीन तथा मध्यकालीन नेपाली भाषाका अनुसन्धाता डा. विदुर चालिसेसँग परिवर्तन खवरका प्रबन्ध सम्पादक अजय वानप्रस्थीसँग भएको साहित्यिक गन्थन  :

अजय वानप्रस्थी : अचेलके गर्दै हुनुहुन्छ  ?

डा. विदुर चालिसे : आजकल विदेशी साहित्य, त्यसमा पनि गद्यकविता विधाका साहित्यहरु पढिरहेको छु । गद्य कविताका साहित्य पढ्न अति मन पर्छ । भारतीय प्रखर गद्य कवि अज्ञेय, धर्मवीर भारती तथा आधुनिक अंग्रेजी भाषाका कविहरुको गद्य कविताको संगालो भरखरै पढिसकें । हालसालै हिंदी की काव्ययात्रा कवितासंग्रह पनि पढें ।

अजय वानप्रस्थी : नेपाली, अंग्रेजी र हिन्दी भाषाका गद्यकविताहरुमा के फरक पाउनुभयो  ?

डा. विदुर चालिसे : नेपाली, अंग्रेजी वा हिन्दी जुनसुकै भाषाको गद्य कविताको शैली रुपगत दृष्टिले स्वतन्त्र स्वशैलीमा लेखिएका पाइन्छन् । तर तीनका सारगत रुपमा फरक फरक वैशिष्ट्यहरु पनि रहेका छन् । विषयवस्तु आफ्ना आफ्ना देशकाल परिस्थितिका छन् भने समग्रमा मानव सम्बेदनालाई उजागर गरेको पाइन्छन् ।

अजय वानप्रस्थी : भर्खरै पढिसकेको गद्य कविताका पुस्तकका बारे बताइदिनुहुन्छ कि ?

डा. विदुर चालिसे : मैले भर्खरै पढिसकेको हिन्दी भाषामा लेखिएको हिंदी की काव्ययात्रा कवितासंग्रह हो । यसमा विशेषत्, गद्य शैलीमा रचना गरिएको तथा संसारका विशिष्ट ४८ जना कविहरुको कविताहरुको संग्रह हो । यसलाई सम्पादक द्वय डा. राजेन्द्र परदेसी तथा तथा डा. भास्कर शर्माले सम्पादन गर्नुभएको छ ।

अजय वानप्रस्थी : त्यस संग्रहमा कुन कुन देशका कविहरुको कविताहरु प्रकाशित  भएका छन् ?

डा. विदुर चालिसे : चेतनप्रवाहका अनन्य साधकहरू जस्ले सर्वप्रथम आधुनिक सिर्जना कलाको अभियानका विश्व सर्जकहरूको ध्यानलाई एकत्रित गरी हिन्दी भाषामा नेपाल, भारत, अमेरिका, बेलायत, चाड, क्रोएशिया, श्रीलंका, बुल्गेरिया, वर्मा, मौरिसस, नाइजेरिया एवं रूसलगायत् देशका विशिष्ट कविज्यूहरूको कवितालाई प्रकाशित गरिएको छ ।

नेपाल तथा भारतका पनि विभिन्न स्थानका कविहरुको कविताहरु पनि समावेश भएका छन्  । संसारको जुनसुकै कुनामा बसेर आफ्ना जीवनका विभिन्न भोगाइ, अनुभव, प्राकृतिक सौन्दर्यता, मानवीयता, जीवनका आदर्श,  प्रेमिलता, दार्शनिक आस्था र सत्यादर्शको वरिपरि रहेर आफ्ना सिर्जनाहरू लेखेर विश्वका समुदायलाई हिन्दी भाषा साहित्यको परिचय गराइएको छ ।

अजय वानप्रस्थी : के त्यस संग्रहमा गद्यकविताहरु मात्रै छन्  ?

डा. विदुर चालिसे : हैन, हैन त्यस संग्रहमा नेपाल, भारत, बेलायत तथा नाइजेरियामा रहेका गजलकारहरुका गजललाई समावेश गरिएको छ भने श्रीलंकाली मुक्तककारको सातवटा मुक्तकलाई समेत समावेश गरिएको छ तापनि मूल रुपमा गद्यकविताह्रुलाई  प्रधानता दिइएको छ ।

अजय वानप्रस्थी : प्रकाशित संग्रह मूलत गद्यकविता भन्नुभयो, गद्यकविताका सन्दर्भमा केही सैद्धान्तिक चर्चाहरु भएका छन् कि  ?

डा. विदुर चालिसे : सो संग्रहका सम्पादकहरुले गद्यकविताको मूल अन्तर्वस्तुलाई कविका मनमा रहेका मानवीय सम्वेदनाहरूलाई कविताका माध्यमबाट आफ्ना अनुभवभित्र रहेका भावहरू जब बाह्य प्रकट गरिदिन्छन् । तब कविले आन्तरिक रूपमा रहेको आफ्नो शक्तिलाई प्रकाशित गरिदिन्छन् । यो आत्माभिव्यञ्जनाको परावर्तन हो भनेका छन् । मेरो विचारमा पनि मानसिक रूपमा रहेको मावन चेतनाको भावमय उभारहरूलाई आफ्ना मन मष्तिस्क तथा हृहयको सम्मिलनका आधारमा कविले विषयवस्तुमाथि आफ्ना निरिक्षण गर्दछ ।

मष्तिस्कमा रहेको भाषिक कार्यसम्पादन क्षमताबाट कवितालाई भावित सत्यका अर्थमा मष्तिस्कका आन्तरिक भाषिक संरचनाका माध्यमबाट स्वशैलीमा बाह्य प्रकटीकरण गरिदिन्छन् भन्ने लाग्दछ, जस्लाई नोमचम्स्कीले भाषिक रूपान्तरण भनेका छन् । मेरो विचारमा भाषिक रुपान्तरण पनि गद्यकविता रचनाको नजिक रहनेरुप र सारको एउटा स्वशैलीगत कथ्यतागत चेतना हो । मानिसको मनोजगतमा रहेको आन्तरिक भाषिक संरचना रूपपान्तरणका माध्यमबाट भाषाको वस्तुगत संरचनाका आधारमा लिपिबद्ध हुन्छन् भने ती भाषाका अभिधयार्थ मूल्य खास व्याकरिणक रूप रचनाको व्यवस्थाभित्र संरचित भएका हुन्छन् नै ।

तसर्थ भाषा मानवजगतको नैसर्गिक एवं अनिवार्य क्षमताको रूपमा रहेको एउटा अभिव्यक्ति कला भाषा हो । भाषा, कलाको तेज प्रकाशित गर्ने साधन पनि हो । नोम चम्स्कीले यसैको अर्थमा भाषा कलाको विशिष्ट पक्षमा जोड दिंदै भाषिक क्षमता सामान्यार्थ (अभिधयार्थ) व्याकरणका निमयन भित्रभन्दा अझै पर विशिष्ट(आलंकारिक) भाषिक संरचनाको व्याख्यासँग साहित्य सिर्जनालाई हेरेको पाइन्छ । विशिष्ट भाषिक संरचनालाई चम्स्कीले अव्याकरणिक, साहित्यिक वा आलंकारिक भाषाको रूपमा व्याख्या गरेको समेत पाइन्छ भने उनको विशिष्ट वाक्य संरचनाहरुले गद्यकविताको लय पक्षलाई  आत्मसात् गरेको समेत पाइन्छ ।

अजय वानप्रस्थी : यो त यहाँको विचार हो, तर उहाँहरुको गद्य कवितासम्बन्धी दृष्टिकोण के जस्तो लाग्दछ  ?

डा. विदुर चालिसे : उहाँहरुले गद्य कविताका सन्दर्भमा मननयोग्य कुरा उठाउनु भएको छ । त्यो के भने भौतिक विज्ञानले व्याख्या गरेको थर्मोडानामिक एन्टोपिले जसरी  भौतिक पदार्थको नियमित विकास र सन्दर्भलाई खास भौतिकीय नियमनको दायरामा हेर्दछ । भौतिकीय नियमका पराकाष्टाहरु जब रोकिन्छन् अनि त्यसपछि नयाँ गतिका लागि एन्टोपीहरु सल्बलाउन थाल्दछन् ।

त्यसरी नै गद्य कविताहरु पनि रुढ नियमको पराकाष्टा पछि विभिन्न स्वतन्त्र शैलीहरुमा उन्मुक्त भएर जन्मछन् र खास आकारमा प्रकट हुन्छन् । वास्तवमा रुप वा सारको दृष्टिले गद्य कविता त्यही हो भन्ने उहाँहरुले तर्क गर्नुभएको छ । सायद नोमचम्स्कीले व्याख्या गरेको आन्तरिक भाषिक संरचनामा रहेको रूपान्तरण नियमनको नियमित सामान्य वाक्य संरचना र भौतिक विज्ञानको व्याख्या एउटै क्याटागोरीमा पर्दछन् भने विशिष्ट वाक्य संरचना र एन्टोपीहरु गद्य कविता ढाँचा वा बान्की पनि एउटै स्वशैलीका जस्ता बनेका देखिन्छन् । हिन्दी की विश्वयात्रा कवितासंग्रहलाई उहाँहरुले यसै गरी नयाँ स्वशैलीको भावपुञ्जमा लहरिने लय ढाँचाको सिर्जनालाई गद्य कविता भन्नुभएको छ ।

मेरो विचारमा चम्स्कीको भाषिक रूपान्तरण नियमसम्बन्धी विशिष्ट वाक्यको मान्यता अझ गद्यकविता साहित्य सिर्जनाको अर्थमा अझ महत्वपूर्ण लाग्दछ । भाषासँग मानव मन मष्तिस्क र हृदयको संयोजन अझ नजिक रहेको हुन्छ । त्यसमाथि पनि चम्स्कीको रूपान्तरणसम्बन्धी विशेष भाषिक चिन्तन गद्य कविता साहित्य सिर्जनाका अर्थमा बढी प्रभावकारी र प्रयोगसिद्ध देखिन्छन् ।

त्यसैले जुनसुकै विषयका सिद्धान्तहरू हुन् तिनीहरूले आफ्ना परम्परागत नियमनका धर्महरूलाई आत्मसात् गरेका हुन्छन् भने तिनै सिद्धान्तका नवीन नवीकरणहरू पनि सिर्जना मान्यताभित्र लहरिँदै जान्छन् । त्यसैले साहित्यशास्त्र, भौतिक विज्ञान, भाषाविज्ञान, रसायनशास्त्र वा अन्य यस्तै रूढ दार्शनिक मान्यताहरूले आफ्ना नियमनका परिभाषाहरू स्थापित गरेको भए तापनि अर्को नयाँ पाटोको रूपमा भावित सत्य प्रकट भइदिन्छ  । यो नै साहित्यक कला हो भने गद्यकविता त्यसैको अझ उन्नत भावित सत्य हो ।

अजय  वानप्रस्थी : अभावपूर्ति, एण्ट्रोपी तथा भाषिक रुपान्तरण नियमका विशिष्ट वाक्य संरचनाले गद्य कविताको दार्शनिक पक्षलाई कति छुन्छ जस्तो लाग्दछ ?

डा. विदुर चालिसे : हिन्दी की विश्वयात्रा कवितासंग्रहले पनि यिनै सैद्धान्तिक तथा दार्शनिक धरातललाई आत्मसात् गरेर गद्य कविताको दार्शनिक आधारलाई समातेको पाइन्छ । एरिष्टोटलले सिर्जना कलाको व्याख्यालाई विश्वजगतको अभावपूर्तिका रुपमा हेरेका छन् । उनको विचारमा कल्पनाशीलता त्यस्तो कलाको निर्माण हो, जो कल्पनाको जननीबाट मात्रै सम्भव हुन्छ भनेका छन् ।

भौतिकीय एण्ट्रोपी हरु पनि त्यसै विषयसँग जबरजस्त ठोकिन पुन्छन् । किनभने जब भौतिकीय वस्तुहरु एउटा परम्परागत सूत्रहरुबाट चलिरहेका बेला त्यसको गतिसँग नयाँ तरंगका नयाँ गतिहरु देखापर्दछन् । अनि भाषाका नियमित सूत्रहरुबाट पनि नयाँ भाव र लयका गतिहरु प्रटक हुन्छन् । तसर्थ यस्ता बनिबनाउ गतिहरु जब नयाँ ढाँचामा सृजित हुन्छन् । त्यहाँ कलाको नयाँ प्रखरता देखा पर्दछ । यो नै साहित्यरुपी मूल विषयवस्तुहरुमा अन्तर्घुलन भएर कलाका रुपमा प्रकट भइदिन्छन् र यसै अर्थमा गद्य कविताको व्याख्यालाई बुझ्नसके राम्रो हुन्छ भन्ने लाग्दछ । हिन्दी की विश्वयात्रा कवितासंग्रहले पनि सोही अभावलाई पूरा गरिदिएको छ ।

भाव, भाषा र हृदयको अनुभूति कविताको सजल स्वर हो । सो विश्वयात्रा पनि यिनै अर्थमा गद्य कविताको गत्यताबोध भएको छ । व्यक्तिका अनुभव र भोगाइहरू फरकफरक भए तापनि  समग्रमा मानव चेतना र त्यसले दिने सन्देश सबैमा एकै खालको सिद्ध देन्छिन् ।

अजय वानप्रस्थी : सो संग्रहमा कुन कुन देशका को को सर्जकका कति कति कविताहरु रहेका छन् ?

डा. विदुर चालिसे : भारतका सर्जकहरु डा. अमरजीत कौंके, डा. अञ्जना संधीर, डा. राजेन्द्र परदेसी, श्री सतीश विमल, श्री देवेन्द्रकुमार देवेश, श्री निदा नवाज, श्री हेमा चाँदनी‘अंजुली’, डा.दिग्विजयकुमार शर्मा ‘द्रोण’, डा. सुष्मा गजापुरे, डा. शुभदर्शन, श्री समीक्षा तैलंग, श्री ऋषभदेव शर्मा तथा श्री वंदना ग्रोवरका गरी जम्मा ५२ वटा कविताहरु समावेश भएका छन् । त्यसै गरी श्री मनुब्राजाकी, डा. स्वेता शर्मा, श्री गंगा सुवेदी, श्री ईन्द्रकुमार श्रेष्ठ सरित्, श्री महेशचन्द्र शर्मा, श्री सुनिल पुरी, श्री लक्ष्मी उप्रेती ‘प्रसाई’, श्री रामकुमार पण्डित क्षेत्री, डा. विदुर चालिसे, डा. विश्वमोहन आचार्य, श्री बासुदेव अधिकारी, श्री सुमी लोहनी, डा. रघुवीर शर्माका जम्मा ४० वटा कविताहरु समावेश भएका छन् ।

बेलायती सर्जकहरु श्री अरूणा सब्बरवाल, श्री तेजेन्द्र शर्मा तथा श्री अनुपमा कुमार ज्योतिका १२ सिर्जनाहरु छन् । त्यस्तै श्रीलंकाका श्री मितिला चतुरानी(गुनरत्न), श्री कांचना सँदमाली, श्री समन्ति विजेसूरिय, श्री राजिका तथा श्री एन.एल.डि.हंसनी वासनाकृष्णरत्नका जम्मा १२ वटा रचनाहरु समावेश भएका छन् । त्यस्तै अमेरिकाका श्रीमती लावण्या दीपक शाह, डा. अनिता कपूर तथा श्री पल्लवी शर्माको जम्मा ९ वटा, चाडका श्री याया(चाड) तथा श्री सलीम अदुमका ३ वटा, मौरिससका श्री राज हीरामन तथा श्रीहनादी मुहम्मद मुहम्मद(मिश्र)का २ वटा नाइजेरियाका श्री देवी नागरानीको ७ वटा, रुसकी श्री मीनू शर्माको ५ वटा, क्रोएसियाको श्री मारिया षिमगको १ वटा, बर्माको श्री देवानन्दको १ वटा, बुल्गेरियाको श्री गाल्याको २ वटा तथा सुरिनामको श्री किशन फिरतूको १ वटा कविताहरु समावेश रहेका छन् ।

यस संग्रहमा विभिन्न देशमा बस्ने प्राय भारतीय मूलका कविहरूको गद्यकविता कविताहरूलाई समावेश गरिएको छ, जसमध्ये अधिकांशको गद्यकविताहरू रहेका छन् ।

अजय वानप्रस्थी : यस संग्रहका प्रवृत्ति एव स्वरहरु के कस्ता छन् ?

डा. विदुर चालिसे : यस संग्रहका कविताहरू प्रवृत्तिगत दृष्टिले प्रकृति, उत्पादन र विकास, चेतना विना कल्पनाको प्रयास र मनोविज्ञानको उद्बोदन तथा प्रेमसँग कोमलताको संलग्नताजस्तो विषयहरूलाई साधनाको केन्द्रविन्दु बनाएका र विश्वकविहरूले आफ्ना कविताहरू लेखेको पाइन्छ ।

साहित्य मानव जीवनका लागि अत्यन्त उपयोगी भएकाले विशेषत् हरेक देशमा बस्ने मानव मनको कल्पनाको फूलबारीबाट आफ्नै आत्मबोधको रूपमा साहित्यको सिर्जना भइदिएका छन् । स्वभाविक रूपमा युगबोध र चेतनाको  समावेश भएको यस संग्रहमा विभिन्न धर्म सम्प्रदाय, जाति, क्षेत्र र समाजका प्रतिनिधि कविहरू रहेका छन् । तिनैका अनुभवहरू समावेश भएका सिर्जनाहरूले मानव जीवनको तिनैका भोगाइका सुख, दुख, पीडा, निराशा, उत्साह, उमंग, छटपटी आदिलाई अनुभूतिका रूपमा प्रकट गरिदिएका छन् ।

सर्जक मस्तिष्कले मर्महरूको स्वादन, प्रकटीकरण वा अनुशीलनबाट आफ्नो जीवनमा आनन्दको भोग गरेको समेत देखिन्छ । विश्व समाजका विकृति विसंगतीलाई मूल स्वरका रुपमा प्रस्तुत कविताहरुले आत्मसात् गरेका छन् भने प्रवृत्तिगत रुपमा आधुनिक विश्व समाजका मानवीय पीडा र छटपटीलाई सर्जकहरुमार्फत नयाँ शैलीका गद्य कविताहरुलाई आत्मप्रकाशको साधन बनाएको पाइन्छ ।

यस संग्रहभित्रका कविताहरू जुनसुकै अन्य भावमा लेखिएको भएपनि खासमा साहित्यले मानिसको विभिन्न अवस्थामा रहेको भावानुभूतिका माध्यमले पाठकलाई आत्मसन्तुष्टि समेत  प्रदान गराइदिन सक्दछन् । सर्जकहरुले आफ्ना मनका आवाजलाई पाठकहरूले भेट्टाउन सक्ने गरी व्यतित एवं कुण्ठीत आवाजहरूलाई आफ्ना साहित्य कलाका मार्फत पाठक वा स्रोताका बीचमा पुर्याइदिन समेत सकेका छन् ।

विश्वका विभिन्न प्रकृतिका विभिन्न घटना, परिघटना, अवस्था, परिस्थिति एवं परिवेश, सामाजिक जीवनका विविध व्यवहार तथा नियमित सामाजिक गतिविधि, मानव मनका बीचमा उत्पादित विभिन्न मनोतरंग एवं सामाजिक सांस्कृतिक प्रभावहरूले मानिसको व्यवहारिक जीवनलाई डोर्याइरहेको यस युगमा यस काव्य यात्राले साहित्यलाई भूमण्डीकरण गरिदिएको छ । यस संग्रहका कविताका विषयवस्तुहरु मानव जीवनका भोगाइमा आएका यावत् सन्दर्भहरूसँग साहित्यकारका भाव चेतनाबाट उकुसमुकुस भएर सार्वकालिक रुपमा लहरी दिएकाछन् ।

अजय वानप्रस्थी : यस संग्रहले के सन्देश दिन खोजेको छ ?

डा. विदुर चालिसे : हिन्दी की विश्वयात्रा कवितासंग्रहले मूल सन्देशको रुपमा हिन्दी भाषा भाषीहरु विश्वभर छन् । उनीहरुले सिर्जना गर्ने साहित्यको साधना हिन्दी भाषाको सेवामा पनि समर्पित छ भन्ने सन्देशलाई मूल रुपमा शंखघोष गर्न खोजिएको सो संग्रहलाई अध्ययन गर्दा थाहा पाउन सकिन्छ ।

यसका सबै लेखकहरुका मूलस्रोत सांस्कृतिक वा परम्परागत रुपमा प्राचीन भारत वर्षमा सम्बन्ध रहेको यथार्थलाई भल्काइएको छ । कतिपय मूल जातीहरुको कविताहरुलाई यस संग्रहमा समावेश गर्न सम्पादकहरु सफल पनि भएका छन् । हिन्दी भाषा तथा साहित्यको फैलावट विश्वव्यापीकरण छ अनि यो बैभवशाली भाषा एवं साहित्य हो भन्ने प्रकारान्तर सन्देश यसले दिएको छ । साथै हिन्दी भाषा साहित्यको महत्वलाई समेत उजागर गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्