भोला चालिसेको तीन आयाम



२३ असोज २०७५, काठमाडौँ

चितवनको माडीमा २०३२ सालमा जन्मिएका भोलानाथ चालिसेको बाल्यकाल सामान्य रुपमा बित्यो । पौडी खेलेको , विद्यालय अध्ययनको दौरान कुसुम फल टिप्न जंगल जाँदा १९ जना साथीहरु जंगलमा हराएर भारत पुग्दा एक उतै बस्नुपरेको लगायतका बाल्यकालिन सम्झना उनको मानसपटलमा ताजै छ ।

विभिन्न स्कुल, कलेजमा शिक्षक तथा विभिन्न पदमा रहँदै हाल सरस्वती कुञ्ज कलेजको सहायक क्यामपस प्रमुखको रुपमा कूशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका चालिसे पेशाकर्मी तथा बालबालिकाको क्षेत्रमा कार्यरत छन् । घर नजिकैको राष्ट्रिय प्राथामिक विद्यालयमा कक्षा दुईसम्म अध्ययन गरेपछि उनी ११ वर्षको उमेरमा संस्कृत अध्ययनका लागि भारत प्रवेश गरे । उनका दाजु संस्कृतको प्राध्यापक तथा बुवा संस्कृत अनुरागी भएकाले पनि उनलाई संस्कृत पढ्ने कुरामा मलजल गर्यो ।

अध्ययनका लागि भारत जाँदा सृजना भएको परिस्थिती सम्झँदै उनले भने, ‘संस्कृत अध्ययनका लागि हामी करिब सय जना गएका थियौँ । हामी कानपुर पुग्दा त्यहाँका प्रहरीले बालक बेच्न लगेको शंकामा एक रात नियन्त्रणमा लियो । प्रहरीले हामीलाई राम्रै व्यवहार गरे पनि हामीलाई लैजाने टोलीमाथि भने आक्रोशित बन्यो । हामी अध्ययनका लागि जान लागेको महर्षी आश्रम गाजियावादसँग कुराकानी भएपछि भने प्रहरीले छाडिदियो ।’

उनलाई संस्कृत अध्ययन गरेर धेरै समय बस्न मन लागेन् । दुई वर्ष आधारभूत शिक्षा लिएपछि उनी फर्किए । अध्ययनको क्रममा भारत बस्दाको अनुभव सुनाउँदै उनले भने, ‘वृन्द्रावन घुम्न जाने क्रममा हराएको छु । मेरो दाजु वृन्द्रावन बस्नुभएकाले एक जना साथीसँग दाइलाई भेट्न गएँ । दाजुसँग छुटिएपछि भने कता पुगियो थाहा भएन् । हामी बस्दै आएको ठाउँमा पुग्न हामीलाई निकै कठिन भयो । तर पछि आश्रमको नाम भनेपछि प्रहरीले बस चढाएर पठाइदिए ।’

संस्कृतको आधारभूत ज्ञान लिएर घर फर्किपछि उनले राष्ट्रिय प्राविमै कक्षा चारमा भर्ना भएर अध्ययन गर्न थाले । पहिले सामान्य विद्यार्थीको रुपमा चिनिने चालिसे संस्कृत अध्ययन गरेर फर्किएपछि भने अब्बल विद्यार्थीको कोटामा दर्रिए । भन्छन, ‘संस्कृत अध्ययन गरे पछि सायद, दिमाग तेजिलो भयो ।’

सोमेश्वर माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी परीक्षा दिएका भोलानाथ विद्यालयको मात्र नभएर माडी क्षेत्रकै प्रथम भए । तत्पश्चात उनले विरेन्द्र बहुमुखी क्यामपसमा स्नातकसम्म अध्ययन गरे । विरेन्द्र क्यामपसबाट प्रविणता प्रमाणपत्र तहको परीक्षा दिए लगत्तै उनी शिक्षक बने । बिहान आफू कलेज पढ्ने र दिउसो स्कुल पढाउने गर्दै उनले रत्ननगरको लाइसिस स्कुल र नाराणघाटको सत्यम जेभिएरसमा चार वर्ष अध्यापन गराए ।

सत्यम जेभिएरमा अध्यापनको दौरान उनले मुद्धा मामिला पनि गर्नुपर्यो । उनले त्यहाँ अध्यापन गराउँदा विद्यालयलाई कक्षा ५ सम्मको मै अध्यापन अनुमति दिइएको थियो । ‘मैले अनुमती लिएर मात्रै कक्षा १० सञ्चालन गर्न व्यवस्थापनलाई सुझाव दिएँ । तर उक्त कुरा गरे वापत् मलाई अवकाश दिइयो । आफूलाई अन्याय भएको भन्दै चितवन जिल्लामा मुद्धा दायर गरेपछि भने मिलापत्र भयो , उनले सम्झिए ।

स्नातकपछि अध्ययनकै सिलसिलामा २०५८ मा राजधानी प्रवेश गरेका चालिसेले सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमी निमाविको अंग्रेजी शिक्षकको रुपमा प्रवेश गरे, जहाँ उनले निमावि, मावि अंग्रेजी शिक्षक हुँदै विद्यालय संयोजक (को–अडिनेटर) को रुपमा १६ वर्ष कूशलतापूर्वको आफ्नो जिम्मेवारी वहन गरे । रेडियन्ट अध्यापनकै दौरान उनले पाटन क्याम्पसबाट एमए तथा त्रिविबाट एमफिल अध्ययन पनि गरे ।

चितवनमा अध्यापनको दौरान प्राप्त अनुभव तथा पेशाकर्मीमाथी हुने दुव्र्यवहारले उनलाई २०६१ सालमा शिक्षक तथा कर्मचारीको पेशागत आन्दोलनमा सामेल हुन बल पुर्यायो । तत्पश्चात उनले संस्थागत विद्यालय शिक्षक युनियन ललितपुरको जिल्ला सदस्य, उपाध्यक्ष तथा कार्यवहाक अध्यक्षको रुपमा २०६५ सम्म आफ्नो जिम्मेवारी निर्वाह गरे । सो जिम्मेवारी रहँदा उनले धेरै विद्यालय र पेशाकर्मीबीचको पेशागत द्वन्द्वमा द्वन्द्व व्यवस्थापकको रुपमा काम गरेका छन् ।

विद्यालय तथा पेशाकर्मीबीचको जटिल मुद्धाहरु पनि सहजताका साथ समाधान गर्न महत्वपूर्ण भूमिका खेलेका चालिसे २०६५ देखि संस्थागत विद्यालय शिक्षक युनियनको केन्द्रिय सदस्य, उपमहासचिव हुँदै हाल महासचिवको रुपमा कार्यरत छन् । संस्थाको प्रतिनिधित्व गर्दै उनले भारत तथा थाइल्याण्ड भ्रमण पनि गरेका छन् । उक्त संस्था पेशाकर्मीको हकहित तथा शैक्षिक गुणस्तरका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । भन्छन्, ‘यो कुनै राजनैतिक भातृसंगठन होइन्, पेशाकर्मीको छाता संगठन मात्रै हो ।’

रेडियन्ट स्कुलमा को–अडिनेटरको जिम्मेवारीमा रहँदा नै उनले २०६९ मंसिरबाट सरस्वती कुञ्जमा पनि बिबिएसमा अंग्रेजी पढाउन थाले । ०७२ देखि पूर्ण रुपमा सरस्वती कुञ्जमा अध्यापन गर्न थालेका चालिसेले २०७५ पुसबाट सहायक क्यामस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । विद्यालयमा अध्यापन गर्दा आफूले पढाएका शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएको अनुभव समेत संगालेका चालिसेले २०६९ सालमा राष्ट्रिय शिक्षा पुरष्कार समेत प्राप्त गरेका छन् । साथै उनले विभिन्न किसिमका तालिम लिएका छन् ।

बालबालिकाको क्षेत्रमा विभिन्न काम गर्दै आएका चालिसे सारथी मासिक बाल पत्रिकको सह–सम्पादक पनि हुन् । बाल बालिकाको क्षेत्रमा विभिन्न किसिमका काम गर्ने उनको योजना पनि छ । हाल उनले सहायक क्यामपस प्रमुखको जिम्मेवारी वहन गर्दै आएको एस के कलेजमा कक्षा ११, १२ र स्नातकमा गरी ४०० विद्यार्थी अध्ययन गर्दै आएका छन् । एस के कलेज मध्यम स्तरको शुल्कमा अनुशासित तथा गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने संस्था हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्