माधव नेपालको असन्तुष्टिबारे प्रचण्डले मुख खोले



१९ असोज २०७५, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको ‘प्रेसर’का कारण केन्द्रीय सचिवालयबाट प्रदेश कमिटीको नेतृत्वबारे निर्णय भएको बताएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट नेताहरूले सचिवालयको पछिल्लो निर्णयको वैधानिकतामाथि सार्वजनिक रूपमै असन्तुष्टि जनाएपछि प्रचण्डले निर्णय गरिनुका कारण र पृष्ठभूमिबारे बुधबार मुख खोलेका हुन् ।

आजको नयाँ पत्रिका दैनिकले लेखेको छ–ललितपुर खुमलटारस्थित आफ्नै निवासमा आयोजित प्रदेश २ का इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको बैठकमा प्रचण्डले वरिष्ठ नेता नेपालसँगको कुराकानी उद्धृत गर्दै आफूले उनको संसद्को प्रस्तुतिका सन्दर्भमा असन्तुष्टि जनाएकोसमेत खुलासा गरे ।
सिंगापुरमा पत्नी सीताको उपचार गराएर सोमबार राति स्वदेश फर्किएका प्रचण्ड पार्टीभित्रको पछिल्लो विवादबारे मौन बसेका थिए । तर, पार्टीकै आन्तरिक बैठकमा भने प्रचण्डले नेपालले उठाएजस्तो निर्णय विधिसम्मत हो वा होइन भन्दा पनि प्रदेश नेतृत्व तत्काल टुंग्याउनुका कारण र पृष्ठभूमि स्पष्ट पारेका छन् ।

आफू र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ विदेशमा भएका वेला पूर्वसमझदारीविपरीत निर्णय भएकोमा असन्तुष्टि राख्दै वरिष्ठ नेता नेपालले महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाएका थिए ।
उनले स्थायी समिति सदस्यहरूको चियापन बैठकसमेत आयोजना गरेर आफ्ना धारणा प्रस्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्