बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित



१८ असोज २०७५, काठमाडौँ

दाङ जिल्लाको ढिकपुर गाउँ विकास समिति अर्थात हालको घोराही उप-महानगरपालिका ९ मा जन्मिएका हुन्, विनोद पण्डित । विभिन्न विद्यालयमा शिक्षक हुँदै मानसिंह धर्म माध्यमिक विद्यालयमा ८ वर्ष प्रधानाध्यापक रहेका पण्डितले २०७५ जेठ ९ गतेबाट बालउद्धार माविमा कूशलतापूर्वक प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । शैक्षिक पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनी कक्षामा प्रथम मात्र नभएर स्कुल नै टप गर्दथे । स्कुल टप गर्ने छोरालाई इञ्जिनियर बनाउने योजना थियो, उनका बुवाआमाको ।

उनी  सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालयबाट २०४६ सालमा एसएलसी उत्तीर्ण गरेपछि थप अध्ययनका लागि राजधानी प्रवेश गरेका हुन् । तत्पश्चात उनी नौलो परिवेश र नयाँ साथीभाइको संगतमा हराउन पो थाले । भन्छन्, ‘साथीभाइको लहै–लहैमा लागियो , इन्जिनियरिङ अध्ययनका लागि नजिकै आएको प्रवेश परीक्षाको ख्याल गरिएन् ।’ केहि वर्ष रोकिएर भए पनि इन्जिनियरिङ गर्न सुझाएका थिए, उनका बुवाले । तथापी उनी अध्ययन नरोक्ने निर्णयमा पुगे र त्रिचन्द्र क्यामसमा साइन्स अध्ययन गर्न थाले । ‘अहिले पनि गाउँघरमा डाक्टर वा इञ्जिनियर भयो होला भन्ने सोच्नुहुन्छ । तर मलाई इञ्जिनियर नभएकोमा कुनै पछूतो छैन, आफूले पढाएका विद्यार्थीहरु जहाँ पुगे पनि सम्झीरहेका हुन्छन्, त्यो नै मेरो उपलब्धि हो जस्तो लाग्छ, उनले भने ।

त्रिचन्द्रबाट २०५२ सालमा विएसी गरेका पण्डितले २०६२ सालमा एमएसी उत्तीर्ण गरेका हुन् । उनले २०६४ मा ग्रामिण विकासमा स्नातकोत्तर, २०६६ मा एक वर्षे बिएड, २०६९ मा एमएड तथा २०७५ मा एमफिल गरेका छन् । अध्ययन बिदा लिएर केहि वर्षमा नै नेतृत्व विकासमा पिएचडी गर्ने लक्ष्य लिएका प्रअ पण्डित भन्छन्, ‘दिमागलाई सक्रिय बनाउन, योग्यता बढाउन र विषयवस्तुको ज्ञान लिनका लागि अध्ययनलाई निरन्तरता दिएँ ।’उनले विएसी अध्ययनको दौरान न्यूसमिट स्कुलमा एक वर्ष अध्यापन गराएका थिए । उनले २०५२–६० सम्म दिपेन्द्र प्रहरी उच्च माध्यामिक विद्यालय साँगामा सिनियर साइन्स टिचरको भूमिका निर्वाह गरे ।

२०५२ मा शिक्षक सेवा आयोगको परीक्षा दिएका थिए । नतिजा भने ८ वर्षपछि अर्थात २०६० मा प्रकाशित भयो । तत्पश्चात उनी मानसिंह धर्म माध्यमिक विद्यालय मनमैजुमा शिक्षकको रुपमा प्रवेश गरे । शिक्षकको भूमिका निर्वाह गर्दा विद्याथी, समुदायको मन जितेका पण्डितलाई प्रधानाध्यापक बन्न आग्रह गरियो । प्रधानाध्यापक बन्ने इच्छा नभएपनि आम समुदायको आग्रह स्वीकार गर्दै उनले २०६६ सालमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । तत्कालिन अवस्थामा मानसिंहमा ३०० विद्यार्थी अध्ययनरत थिए । उनी प्रअको भूमिकामा आएपछि वर्षैपिच्छे दुई तीन सयका दरले विद्यार्थी संख्यामा वृद्धि हुन थाल्यो । विद्यालय सुधार्न तल्लिन भएर लागेका पण्डितले केहि वर्षमै विद्यालयलाई नवीन बनाईदिए ।

मानसिंह धर्म २०६८ सालपछि निरन्तर नेपालकै उत्कृष्ट २५ विद्यालयमा पर्न सफल भयो । साथै एसएलसी परीक्षाको नतिजाको आधारमा २०७२ सालमा काठमाण्डौमा दोस्रो तथा देशभरमा पाँचौ उत्कृष्ट विद्यालय बन्न पुग्यो । भन्छन्,‘२०७३ सालमा पुग्दा विद्यार्थी संख्या रोक्नका लागि भर्ना गर्दा प्रवेश परीक्षा लिनुपर्ने अवस्थाको सृजना भयो ।’प्रधानाध्यापकको जिम्मेवारीमा रहेर कूशलतापूर्वक विद्यालयलाई परिवर्तन गर्दै आम जनसमुदायको मन जितिरहेका पण्डित राजनीतिको शिकार बन्न पुगे । तत्पश्चात २०७४ भाद्र १३ गते बालउद्धार प्रवेश गरेका पण्डित भन्छन्,‘ विभिन्न आधारहीन कुरा गर्दै प्रअको जिम्मेवारीबाट रोक्न खोजिएको थियो तर योग्यता, वरिष्ठता र अनुभवको आधारमा २०७५ जेठ ९ गते प्रधानाध्यापक बनेँ ।

इमान्दारिता, लगनशीलता र नेतृत्व गर्ने क्षमताले आफ्नो प्रभाव जमाएका पण्डितलाई टोलवासी,अभिभावक र विद्यार्थीले मानसिंहमा प्र.अ.कै रुपमा फर्कन  निकै आग्रह गरे । भन्छन्,’अदालतले पनि विद्यालय फर्कन अन्तरिम आदेश दिएको थियो । मानसिंह विद्यालयका अध्यक्षका   नातिनी र भतिजीलाई लेखाबाट अख्तियारले समात्यो । अख्तियारले  कानुन विपरित काम गरेको भन्ने प्रमाणित गरेका व्यक्तिहरुलाई अध्यक्षले पुन: कार्यालयमा फर्काउन दवाव  दिनुका साथै गुण्डागर्दी शैलीमा  मान र प्रतिष्ठा तथा भावनामा ठेस पुर्याउने कार्य गरेकाले विद्यार्थी र अभिभावकको मानसिंह मै प्र.अ.मा फर्कने आग्रहलाई पनि नकार्नुपर्यो।’

यद्यपि हाल उक्त विद्यालयका अध्यक्षको  दोहोरो चरित्रको पर्दाफास भएको छ। उनी कलम र कर्म वीर भएकोले मानसिंहमा करीब १५ वर्ष रगत र पसीना बगाएको भएपनि अध्यक्षको कोपभाजनमा परेपनि आफू पहिला शिक्षक र त्यसपछि मात्र प्र.अ.भएको भन्दै  बाल उद्धार मा.वि. मा जान तयार भए । हाल उनी बालउद्धारमा प्र.अ.को रुपमा बिहान ५:४५देखि बेलुकी कहिलेकाही बेलुका ८ बजेसम्म पनि विद्यालयको काम गर्दा समय गएको पत्तो पाउदैनन् ।

बालउद्धारलाई  नमुना विद्यालय बनाउने योजनाका साथ लागिपरेका पण्डित आफूले प्र.अ.को जिम्मेवारी सम्हालेपछि विभिन्न कुरामा सुधार थालिएको बताउछन् । ‘प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थीको योग्यता अनुसारको कक्षामा भर्ना लिइरहेका छौँ । मासिक परीक्षा, आबधिक मूल्याङ्कन, शिक्षकलाई आफ्नो तह अनुसार नै अध्यापन गर्न कक्षामा पढाउने गरेका छौँ । साथै परीक्षाको उत्तर पुस्तिका विद्यार्थीको घरमा नै पठाउने गरेका छौँ । त्यस्तै महिनामा एकपटक एउटा कक्षाको अभिभावक भेला , दुई पटक विद्यालय व्यवस्थापन समितिको बैठक र एकपटक शिक्षकहरुको बैठक गर्ने गरेका छौँ, उनले भने । विद्यालयमा भइरहेका अन्य गतिविधिबारे उनले थपे ‘विद्यार्थीको कपाल, पोशाक लगायतको जाँच गर्नका लागि कक्षा शिक्षकलाई नै जिम्मेवारी दिएका छौँ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विभिन्न संघसंस्थासँग सहकार्य गर्दै शैक्षिक सामाग्री प्रदान गर्दै आएका छौँ ।

भौतिक पूर्वाधारको निमार्ण भइरहेको छ भने दरवन्दीका शिक्षक थप्ने पहल पनि गरिरहेको छु । वर्षभरिका लागि कक्षा ८,९ र १० मा अंग्रेजी , गणित र विज्ञान विषयको कोचिङ पनि सञ्चालन गरेका छौँ,उनले भने ।’ बालउद्धारलाई दुई वर्षभित्र बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट, चार वर्षभित्र काठमाण्डौ र पाँच वर्षभित्र देशकै उत्कृष्ट विद्यालय बनाउने योजनामा छन्, उनी। विषयगत शिक्षकको संख्या कम भएकाले निजी स्रोतबाट शिक्षक राख्नुपरेकाले विद्यालयको व्ययभार थपिएको उनको भनाई छ। कक्षा १२ सम्म सञ्चालन भएको बालउद्धारमा करिव १५०० विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ११ र १२ मा शिक्षा, मानविकी,व्यवस्थापन र विज्ञान संकायमा अध्ययापन गराउँदै गराएको बालउद्धार आगामी वर्षबाट कानुन पनि पढाउने योजनामा छ । प्रत्येक कक्षालाई प्रविधिमैत्री बनाउन नगरपालिकासँग स्मार्टबोर्ड, प्रोजेक्टर र ल्यापटपको माग गरिरहेको उनले बताए । बालउद्धारमा हाल कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । कक्षा ५ सम्मको स्तरमा ध्यान दिँदै अन्य कक्षहरुमा आगामी वर्षबाट विज्ञान र गणित विषयलाई अंग्रेजी माध्यममा पढाउने तयारी भइरहेको प्रअ पण्डितले जानकारी दिए । साथै सामाजिक, नैतिक जस्ता विषयहरुलाई नेपाली माध्यमबाट अध्यापन गराइने बताए।

उनले भने, शिक्षकहरुमा विद्यार्थी आफ्नै सन्तान हुन भन्ने भावना जागृत गराउन आवश्यक छ अर्थात शिक्षकहरुलाई जवाफदेही र उत्तरदायी बनाउन आवश्यक छ, तत्पश्चात विद्यालय सुध्रन थाल्दछ ।त्यसैगरी सम्पूर्ण सरकारी कर्मचारी र शिक्षकले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्ने कानूनी ब्यबस्था गरेमा पनि साच्चि नै विद्यालयको शैक्षिक गुणस्तरमा न्यूनतम ५० प्रतिशत भन्दा बढी सुधार आउछ। शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र आर्थिक पारदर्शितालाई प्राथामिकता दिने योजना छ, उनको ।

आर्थिक पारदर्शिताका लागि प्रत्येक तीन महिनामा आयव्यय प्रस्तुत गर्ने तयारी गरिएको छ । शैक्षिक गुणस्तरका लागि शिक्षकले प्रअ र प्रअले सम्बन्धित कार्यालयसँग करार गर्ने तयारी गरिरहेको छु । जुन अरु विद्यालयमा लागू गरिएको छैन् । बालउद्धारलाई नमूना विद्यालय बनाउन कठिबद्ध भएर लागेका प्रअ पण्डित घरमा कम समय दिएको भन्दै गुनासो आउने गरेको बताउँछन् । २०५९ सालमा विवाह गरेका पण्डितको एक छोरा छन् । भन्छन्, धेरै समय विद्यालयमा रहने गर्दछु, घरमा समय नदिएको भन्दै गुनासो आउने गरेको छ ।

‘विद्यालय सुधारका लागि प्रधानाध्यापकलाई टेवा दिने समिति हुनुपर्दछ। बालउद्धार विद्यालयको हकमा प्र.अ. लाई अत्यन्त टेवा दिने विद्यालय व्यवस्थापन समिति रहेको छ। प्र.अ.ले ल्याएका उचित योजनालाई व्यवस्थापन समितिले पारित गर्नु विद्यालय विकासको लागि अत्यन्त सकारात्मक कदम हो। त्यसैगरी अत्यन्त जोश र जागर भएका जनप्रतिनिधि (वडाध्यक्ष नवराज भट्टराई)पाउनु पनि हाम्रो गर्वको कुरा हो। हामी सबैको मेहनत र स्थानिय निकायको सहयोगले नमूना विद्यालय बनाउनको लागि अगाडि बढिरहेका छौँ। परिश्रमको फल मीठो हुन्छ-त्यही पर्खाइमा छौँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्