शिक्षा र मानव अधिकारका क्षेत्रमा स्थापित सूर्य अधिकारी



१६ असोज २०७५,काठमाण्डौ

नेपाली समाजमा उखान नै छ ‘खाने मुखलाई जुघाले छेक्दैन’ । यो भनाइ उनको जीवनमा चरितार्थ भयो । युवा जोश, जाँगर, परिवारको साथ र सहयोग अनि सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यले मनमा डेरा जमाएपछि अन्य कुराहरु पाखा लागे ।

त्यसैले त २०५३ सालमा  ३५ जना विद्यार्थी साथमा लिएर जोसेफ स्कुलको जन्मदाता बने काभ्रेली युवा सूर्यबहादुर अधिकारी । साथै आफूले राजधानी बसेर अध्यापनका लागि विभिन्न विद्यालय चहार्दा त्यहाँको दिक्क लाग्दो व्यवहारले पनि विद्यालय सञ्चालन गर्ने सोचमा मलजल गर्यो । अभावमा बाँचेकाहरुसँग सपना देख्ने फुर्सद नै नहुने रहेछ भन्ने महशुस गरेका अधिकारी पहिले गाउँमा शिक्षकहरु देख्दा आफू पनि शिक्षक नै हुन्छु होला भन्ने सोचाइ राख्थे ।

सायद, उनी अभावबाट अलिकतिमाथि उठे सपना देखे र जोसेफको संस्थापक प्रिन्सिपलको रुपमा सफलताका खुट्किला उक्लन थाले । अनि पो उनको सफलता धेरै युवाहरुको लागि उदाहरणीय बन्यो र आफू शिक्षा क्षेत्रमा स्थापित भए ।

काभ्रेको मंगलाटार अर्थात हालको रोसी गाउँपालिकामा मध्यम वर्गीय परिवारमा जन्मिएका अधिकारीले विन्धवासिनी प्राथामिक विद्यालयमा कक्षा पाचसम्म अध्ययन गरे । मंगल जनजीवन माद्यामिक विद्यालयबाट एसएलसी उत्तीण गरेपश्चात उनी थप अध्ययनका लागि राजधानी प्रवेश गरेका हुन् । घरको आर्थिक अवस्था सवल नभएकाले राजधानीको बसाइ र अध्ययन उनका लागि कठिनाईपूर्ण रह्यो ।

विभिन्न क्षेत्रमा काम गर्दै उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । विद्यालय स्तरमा पढाइमा अब्बल भएका  अधिकारीले समाजशास्त्र र पर्यावरण वातावरणमा स्नातकोत्तर तथा शिक्षामा  स्नातक गरेका छन् । विद्यालयको नाम जोसेफ राखिनुको घटना सुनाउँदै भने , ‘म सानैदेखि कविता पढ्नमा रुची राख्थेँ । सेन्ट जोसेफ वेलायतका प्रख्यात कवि तथा सन्त भएकाले पनि स्कुलको नाम जोसेफ राखियो । साथै एकदिन स्कुलको नाम जोसेफ र डायना मध्ये कुन राख्ने भन्ने विषयमा साथीसँग छलफल भयो मैले जोसेफ सुरु गरेँ र साथीले डायना । तर पछि विभिन्न कारण डायना बन्द भयो ।’

निजी विद्यालयको नाम लिँदा अग्रपंतिमा पर्ने जोसेफमा हाल ९५० जना विद्यार्थी अध्ययनरत छन् । यसवर्षबाट सुरु गरिएको  कक्षा १० मा १४९ र कक्षा ११ मा ७३ जना विद्यार्थी अध्ययन गरिरहेको अधिकारी बताउछन् । तिमध्ये जोसेफले जेहेनदार, कमजोर आर्थिक अवस्था भएका , वडा,नगरले सिफारिस गरेको , विद्यालयको मापण्दण्डभित्र परेको लगायतका विभिन्न आधारमा २५० जना विद्यार्थी छात्रवृत्तिमा अध्यापन गराइरहेको छ । सुविधा सम्पन्न आफ्नै भवनमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका अधिकारी नागरिकले समाज र निजी विद्यालयबीच परिपूरक सम्बन्ध रहेको बुझेको बताउछन् । ‘तर आम नागरिकले बुझेको कुरा राज्य संयन्त्रले बुझ्न सकेको छैन् ।

निजी विद्यालयलाई हेर्ने दृष्ट्रिकोणमा अझै विभेद छ, उनले भने । सरकारले निजी विद्यालयलाई अझै पनि संकुचित र फरक ढंगबाट हेर्दै आएकोप्रति उनी असन्तुष्ट छन् । भन्छन्,‘सरकारले एक जना विद्यार्थीलाई लगानी गर्दै आएको शुल्क भन्दा कममा अध्ययन गराउने विद्यालयको संख्या पनि धेरै छ । शिक्षाको उन्नयन र विकास, गुणस्तरीय शिक्षाका निमित्त यहि समाजमा निजी विद्यालयले भूमिका निर्वाह गरिरहेको छ ।

’ कस्तो शिक्षा दिँदैछौ वा कस्तो नागरिक उत्पादन गर्दैछौँ भन्ने सरकारको आवाधिक योजना नभए पनि निजी विद्यालयलले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । भन्छन्, ‘सक्षम , सवल र शिक्षित नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ ।’ ‘कतिपय देशहरुमा विदेशी विद्यार्थी अध्ययन गर्ने वातावरण निमार्ण भएको छ । नेपालमा पनि सरकारले त्यो वातावरणको निर्माण गरिदिनुपर्दछ वा निजी क्षेत्रलाई लगानी गर्न दिनुपर्दछ । सरकारले सक्दैन भने त्यसका लागि निजी क्षेत्र तत्पर छ । साथै निजी विद्यालयले राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ भन्ने कुरा राज्य सञ्चालन गर्ने निकायले बुझेको खण्डमा निजी विद्यालयप्रति हेर्ने दृष्ट्रिकोणमा परिवर्तन आउन सक्ने उनको बुझाई छ ।’

‘छात्रावृत्तीसम्बन्धि विधेयकमा संख्यात्मक आधारमा दिने भन्ने कुरा समेटिएको छ त्यो खासै वैज्ञानिक र उपयुत्त छैन् । यसले निजी विद्यालयहरुमा शुल्क वृद्धि हुन सक्ने देखिन्छ । त्यसैले पुनविचार हुन आवश्यक देख्दछु, उनले भने । अधिकारीले बालअधिकार संघ काभ्रेको संयोजक, नेपाल वातावरण विज्ञ संघको केन्द्रिय सदस्य, नागरिक सरोकार नेपालको केन्द्रीय सदस्य, नेपाल चीन शिक्षा समाजको कोषाध्यक्ष लगायतको विभिन्न संघमा आवद्ध भएर काम गरेका छन् ।

उनले मानव अधिकारको क्षेत्रमा पनि काम गरेका छन् ।अधिकारीले सन्  एम्नेष्टी इन्टरनेशनल नेपालको  कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०१५-१६ मा अध्यक्ष र गत वर्षसम्म नेशनल प्याबसनको वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेर कूशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेका छन् ।

साथै अधिकारीले अमेरिका,क्यानडा, साउथ अफ्रिका, बेलायत, साउथ कोरिया, जापान, आयरल्याण्ड लगायतका २० वटा भन्दा बढी   मुलुक भ्रमण गरिसकेका छन् । जोसेफलाई कुशलतापूर्वक हाँकिरहेका ४२ वर्षिय अधिकारी सरकारले सीपमूलक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्ने धारण राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्