डा.केसीले भने- चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र भयो, अव अनसन बस्छु



११ असोज २०७५, काठमाडौं

डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुन: अनशन बस्ने चेतावनी दिएका हुन् ।

उनले अब हुने सत्याग्रह चिकित्सा शिक्षा र सेवा मात्र नभइ कुशासन गर्ने सबैविरुद्घको लडाइँ हुने बताए ।

‘चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुनेछु’, केसीले कान्तिपुरसँग भने, ‘भोलि (बिहीबार) संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदैछ । चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र भयो ।’

उनले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन रहेको आरोपसमेत लगाए । आफ्नो स्वार्थ पूरा नहुने भएपछि विधेयक तुहाउने र अलमल्याइराख्ने षडयन्त्र संसदमा सुरु भएको उनले दाबी गरे । संसदबाट समितिमा र समितिबाट उपसमितिमा पठाएर यतिका दिनसम्म विधेयकबारे गम्भीर छलफल नहुनुले षडयन्त्रलाई थप पुष्टि गरेको उनको भनाइ छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्