उदाहरणीय बन्दै ‘परिवर्तनको लागि मानव समाज नेपाल’



९ असोज २०७५, काठमाडौँ

‘परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्दछ अनि पो समाज हुँदै राष्ट्र बदल्न सकिन्छ ।’ यहि भनाइलाई आत्मसाथ गर्दै अघि बढेका सात जना कलाकारहरुले  स्थापना गरेको संस्था हो ‘परिवर्तनको लागि मानव समाज नेपाल’ । कलाकार तथा संस्थाका अध्यक्ष कृष्णहरि पुडासैनीले भने ‘आफूमा कला भएपनि चर्चामा रहन नसकेका कलाकारहरु मिलेर समाजमा केहि गर्ने सोचका साथ मानव समाज नेपाल गठन गरेका हौँ ।’

तीन महिना अघि मात्र गठन भएको उक्त संस्थाले सकारात्मक कामको सुरुवात गरेको छ । परिवर्तनको लागि मानव समाज नेपालले कला र साहित्यका माध्यमबाट समाजमा रहेको विकृती र विसंगतीलाई बाहिर ल्याउने लक्ष्य लिएको छ । छोटो समयमा  उक्त संस्थाले केहि सडक नाटक प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गरिसकेको छ ।

‘हामीले फोहोरमैला सम्बन्धि सडक नाटक ‘बाटो बिराएको’ , बालदिवसको अवसरमा ‘पर्दा पछाडिको भविष्य’, तथा संविधान दिवसको अवसरमा ‘अनौठो नेपाल’ नामक सडक नाटक प्रस्तुत गरिसकेको छौँ । साथै बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको जीवनमा आधारित भएर नाटक देखाउने तयारी गरिरहेको छौँ , पुडासैनीले भने ।

कृष्णहरि पुडासैनी अध्यक्ष , विश्वराम मिजार सचिव तथा लक्ष्मण कुँवर कोषाध्यक्ष तथा चार जान सदस्य भएर सुरुवात भएको संस्थामा हाल २५ जना आबद्ध भएका छन् । संस्थाले हालै मात्र भक्तपुरमा रहेको  वाल्मीकि माद्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थामा आवद्ध २५ जनाबाट खाजा खाने खर्च कटाएर १० हजार बराबरको शैक्षिक सामाग्री उक्त विद्यालयका १२५ जना विद्यार्थीलाई वितरण गरिएको  पुडासैनीले जानकारी दिए ।संस्थालाई समाजमा उदाहरणीय बनाउने  उनको भनाइ छ ।

अब सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा  सडक नाटक लिएर जाने तथा गाउँबस्तीमा जनचेतना जगाउने संस्थाको तयारी छ । साथै उक्त संस्थाले १६ वर्ष भन्दा कम उमेरका  शारीरिक रुपमा अशक्त तथा विपन्न परिवारका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा दिने घोषणा समेत गरेको छ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै नि:शुल्क  स्वास्थ्य सेवा सुरु गरिएको पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्