डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)



०८ असोज २०७५, काठमाडौं

स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेले कपनवासीका लागि घरघरमा पानी सहितको धारा व्यवस्था गर्ने प्रतिवद्धता गरेको थियो ।  संघीय र प्रादेशिक निर्वाचनमा समेत नेकपाले पानीको मुद्दालाई उच्च प्राथमिकतामा राख्यो । विपक्षीले चुनावको समयमा समेत ‘घरघरमा धारा’ कि ‘घरघरमा पानी सहितको धारा’ भन्दै व्यंग्य समेत गरेका थिए । तत्कालीन एमालेका उम्मेद्वारहरुले ३ वर्षमा पानी सहितको घरघरमा धारा भन्दै निकै भाषण समेत गरे ।

अर्थमन्त्री निवासमा बाटो र खानेपानी बारे छलफल गर्दै डा. भट्टराई सहितका जनप्रतिनिधिको भिडियो

नेकपा भित्र वैद्धिक नेताको रुपमा परिचित परराष्ट्रविद् तथा पूर्व सांसद डा. राजन भट्टराई सांसद हुँदा देखि संघीय निर्वाचनमा नेकपाको उम्मेदवार बन्दा समेत  कपनवासीलाई घरघरमा धारा सहितको पानी पुर्याएरै छोड्ने प्रतिवद्धता गरेका थिए । आफ्नो वाचा पुरा गर्न वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय योजना आयोगमा रहँदा देखि नै भट्टराईले कपन क्षेत्रका जनतालाई समेट्दै मेलम्ची परियोजना विस्तार गर्न पहल गरिरहेका थिए ।

चुनावी परिणाम आफ्नो पक्षमा नभएपनि जनतालाई पानी ख्वाएरै छाड्ने डा.भट्टराईको अठोटमा अर्थ मन्त्री सहमत भएपछि गत हप्ता अर्थ मन्त्रालयले  बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा ( विशेषगरी वडा नं. १०, ११, १२ र  १३ को नयाँ वस्ती साथै ९,८ सम्म)  विस्तार गर्ने गरी मेलम्ची खानेपानी परियोजना विस्तारको लागि रु. २ अर्व १६ करोड रकम स्वीकृत गरेको छ ।

डा. भट्टराईकै पहलमा परियोजना सर्वे गरी अनुमानित लागत स्टमेट समेत गरिसकिएको थियो । परियोजनामा स्थानीय अवरोध नहुने हो भने आगामी हप्ता टेण्डर आव्हान हुने परियोजना ३ वर्ष भित्रमा सम्पन्न भई कपनवासीका घरघरमा दैनिक २ घण्टा शुद्ध खानेपानी उपलब्ध हुनेछ ।

मेलम्ची खानेपानी परियोजना सुरु गर्दा रिङरोड भित्रका नगरवासीलाई मात्र लक्षित गरिएको थियो । डा. भट्टराईले पहल नगरेका भए रिङरोड वाहिरका अन्य वस्ती जस्तै कपन आसपास क्षेत्रबाटै जाने मेलम्ची परियोजनाका ठूलाठूला पाईप माथि उभिएर धारेहात लगाई भोट दिएका नेता सराप्नुको विकल्प नै थिएन–कपनवासीका लागि । कपन क्षेत्रमा रहेको घनावस्ती र पानीको समस्यामा परेका जनताको पीडालाई नजिकबाट बुझेका डा. भट्टराईको १ दशक लामो अथक संघर्ष गत हप्ता स्वीकृत भएसँगै कपनवासी काकाकुल हुनबाट जोगिएका छन् ।

‘आफ्नै पार्टीका उम्मेदवारले स्थानीय र प्रादेशिक निर्वाचनमा जित्दा पनि पराजय स्वीकार्न बाध्य डा. भट्टराईले ‘बैगुनीलाई गुनले मार्नु’ भन्ने उखानलाई चरितार्थ गर्दै आफ्नो योजना पुरा गराएरै छाड्ने भएका छन् ।  ‘निर्वाचन घोषणा–पत्र जनतालाई झुक्याउन उम्मेदवारले बनाउने झुटको दस्तावेज हो’ भन्ने आम धारणालाई भट्टराईको क्रियाशीलताले गलत सावित गरिदिएको छ ।  डा. भट्टराई जस्तै देशभरीका पराजित उम्मेदवारले आ–आफ्नो वाचा पुरा गर्न लाग्ने हो भने ‘समृद्ध नेपाल : सुखी नेपाली’ नाराले सार्थकता पाउन लामो समय लाग्ने देखिदैन ।

जनताबाट पटकपटक अनुमोदित सांसद चर्काचर्का भाषण गरी सडक र संसद तताउँदै हिड्दा जनताको समस्यालाई आफ्नै समस्या ठानेका डा. भट्टराई लुरुलुरु मन्त्रालय र टोलटोलमा धाईरहेका छन् । त्यसैले त उनी कहिले कपन क्याम्पसलाई बजेट थपाउन शिक्षा मन्त्रालय धाउँछन् त कहिले सडक विभागको महानिर्देशक सहित समयमै सडक सम्पन्न गराउन स्थानीय जनप्रतिनिधि राखेर वडावडामा पुग्छन् ।

डा. भट्टराईको विकासवादी क्रियाशिलताबाट अत्तालिएका विपक्षीहरु निर्वाचित सांसद दलबल सहित होहल्ला गर्दै भट्टराई प्रयास असफल पार्न मैदानमै उत्रिन्छन् । जनताको समस्या समाधान गर्ने दृढ अठोट बोकेका भट्टराईलाई न चुनावी पराजयले छेक्छ न विपक्षीको अपमानले हल्लाउँछ ।

अघिल्लो हप्ता बू.न.पा. १० को कार्यालयमा वडाध्यक्षहरुसँग सडक विस्तारबारे बुझ्न र समस्या समाधान गर्न सडक विभागका महानिर्देशक सहितलाई गाली गलौज गर्ने विपक्षी सांसदतका कार्यकर्ताले कसरी बुझ्ने होलान् ?

अस्ति शनिवार डा. भट्टराई स्थानीय जनप्रतिनिधि र पार्टीका कार्यकर्ता सहित ठूलो समूहमा अर्थमन्त्री निवास पुल्चोकमै पुगे । २ मुख्य उद्देश्यले मन्त्री निवास पुगेका भट्टराईले मेलम्ची खानेपानी विस्तारको लागि २ अर्व १६ करोड बजेट विनियोजन गरिदिएकोमा अर्थमन्त्री डा. युवराज खतिवडालाई सामुहिक धन्यवाद दिए ।

खानेपानी समस्या समाधानको लागि बजेट विनियोजन भए सँगै डा. भट्टराई साततले–आनिगुम्बा सडक विस्तार योजना, बु. न.पा. १३ चुनिखेलको निर्माणाधीन सडक योजना समयमै सम्पन्न गराउन अपुग बजेट उपलब्ध गराउन समेत अनुरोध गरे ।

विपक्षीका अवरोध छिचोल्दै अघि बढिरहेका डा. भट्टराईको विकास अभियानलाई स्थानीयहरुले साथ दिएमा समृद्ध बूढानीलकण्ठको नाराले सार्थकता पाउन धेरै समय कुर्नु नपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)

कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले

प्रतिक्रिया दिनुहोस्