च्याम्पियन्स लिगको पहिलो खेलमा मेस्सीको ह्याट्रिक



०३ असोज २०७५,काठमाडौं

बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । ग्रुप बी अन्तर्गतको खेलमा बार्सीलोनाले पिएसभी ईण्डहोभनलाई ४–० ले हरायो । लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्साले फराकिलो जित हात पारेको हो ।

३१ मिनेटमा पहिलो गोल गरेका उनले ७७ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अर्को गोल ओस्माने डेम्बेलले गरे । ७९ औँ मिनेटमा सामुएल उम्तीती दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपनि त्यसपछिको समय बार्सा १० खेलाडीमा सिमित बनेको थियो ।

ग्रुपसी अन्तर्गतको खेलमा लिभरपुलले पेरिस सेन्ट जर्मेन पिएसजीलाई ३–२ गोल अन्तरले हराउँदै महत्वपूर्ण जित हात पारेको हो । ३० औँ मिनेटमा डानियल स्टुरिड्जको गोल मार्फत अग्रता बनाएको लिभरपुलले ३६ औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो । जेम्स मिल्नरले दोस्रो गोल गरे । त्यसको ४ मिनेट नबित्दै थोमस म्युनिअरले गोल गर्दै पिएसजीको आशा जगाएका थिए ।

८३ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । ईन्ज्युरी समयमा रोबर्टो फिरिमिनोले गोल गर्दै लिभरपुलको जित निश्चित गरेका गरे । एट्लेटिको मड्रिडले मोनाकोलाई २–१ ले पराजित गर्दा ग्रुप ए कै अर्को खेलमा बोरुसिया डर्टमण्डले क्लब ब्रुजलाई १–० ले स्तब्ध पार्यो ।

ईन्टर मिलानले टटनह्यामविरुद्ध २–१ को जित निकाल्दै प्रतियोगीतामा विजयी सुरुवात गरेको छ । गएराती नै गालातासारेले लोकोमोटिभ मस्कोलाई ३–० ले पराजित गर्यो । साल्के र एफसी पोर्टोले एक एकको बराबरी खेल्दै अंक बाँड्दा नेपोली भने रेड स्टार बेल्ग्रेडसंग गोलरहित बराबरीमा रोकियो । च्याम्पियन्स लिगमा आज बिभिन्न ८ खेल हुनेछन् ।

आजको कान्तिपुर दैनिकमा साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्