मेलम्चीको पानी दसैँमा काठमाडौं ल्याउन असम्भव



३१ भदौ २०७५, काठमाडौं

१२ किमि सुरुङ ढलान गर्न बाँकी

सरकारले यसपालि दसैँमा काठमाडौंका बासिन्दालाई मेलम्चीको पानी उपहारस्वरूप दिने बताउँदै आए पनि सम्भव नहुने निश्चित भएको छ । अझै १२ किलोमिटर सुरुङमा ढलानको काम बाँकी नै रहेकाले पानी तत्काल काठमाडौं ल्याउन सम्भव नहुने भएको हो । यसअघि ०७५ को दसैँअघि नै मेलम्चीको पानी काठमाडौंमा झार्ने बताएको मेलम्ची खानेपानी आयोजनाले नै अब सम्भव नहुने बताएको छ ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले युद्धस्तरमा काम भइरहेको भए पनि दसैँअघि काम नसकिने स्विकारे । ‘ढलान गर्न बाँकी १२ किलोमिटर सुरुङमध्ये दसैँअघि दुईतिहाइ पूरा हुन्छ, होला,’ कँडेलले भने, ‘हामीले मात्र चाहेर सबै काम नहुने रहेछ ।’

सुरुङमा एउटा मात्र गाडी चलाउन मिल्ने भएकाले पनि काम छिटो गर्न समस्या भएको उनले बताए । सुरुङ निर्माणमा प्रयोग गरिएका मेसिनहरू पुराना भएका र कति पार्टपुर्जा विदेशबाट समयमै नआउँदा ढिलाइ भएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्