नेपाल छाडेका पुष्कर शाहलाई साथीको मार्मिक चिट्ठी



३० भदौ २०७५, काठमाडौं

पुष्कर दाई,

सानो हुँदा पढेर चिनेको थिए–तिमीलाई ! रोटरी क्लब अफ पशुपतिमा जोडिएपछि प्रत्यक्ष भेट्ने मौका पाएँ । तिमीसँगको भेटलाई जीवनको एउटा प्रेरणादायी भेट मानेको थिए, त्यो बेला । वैठक पछि घर फर्कदै गर्दा बाटोमा तिमीसँग मिलाएका मेरा हातहरु आफैले पटक–पटक हेरेको थिएँ ।

आफ्नै माटोमा रमाउने तिमी बेला मौकामा रोटरी बैठकमा आयौँ, आउँदा हरेक पटक बैठकको माहोलै बदल्यौ । तिम्रो सरलता र फरकपनले साञ्चै रमाईलो बनाउँथ्यो । समय सँगै बाक्लिएका हाम्रा भेटहरु, दरिलो मित्रतामा फक्रदैं थिए । एकोहोरो नहुने फोनहरुले पनि बेला मौकामा आनन्द दिन्थ्यो ।  परिवर्तन खबरलाई पहिलो अन्तर्वार्ताको लागि  हाँडीगाउँको घरमा पुग्दा हामी छक्क परेका थियौँ, तिम्रो सजावट, जीवन्तता र देशको माया देखेर । लामो गफगाफ पछि लेखिएको संसार घुम्न पैसा होइन हिम्मत चाहिन्छ : पुष्कर शाह फिचरले सरोकारवालाको ध्यान तान्छ भन्ने हाम्रो अनुमान फेल भयो ।

मेरो मन मान्दै मानेन, गफगाफ बाक्लिंदै गएसँगै पुष्कर शाहलाई न्याय दिनुपर्छ भन्ने आशयले स्टुडियोमा नै बोलाएर रमाईलो कुराकानी गरी साइकलयात्री पुष्करको सम्मानमा राज्यले एक थुङ्गा फूल समेत खर्चेन (भिडियो सहित) भन्ने फिचर स्टोरी आफैँ लेखेको थिए ।

लेखाई धेरै पाठकले मन पराए । धेरैले पढे, धेरैले शेयर गरे । यद्धपी सँगै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर पुष्कर योजना सुनाउने हाम्रो सपना पुरा गर्न सकिन । मैले निकै प्रयास गरे, दाई ! प्रधानमन्त्री र राष्ट्रपति कार्यालयमा सहयोगीलाई सुनाएको भएपनि आफैले भेटेर पर्यटन मन्त्रीलाई भनेको छु । धेरैले मन पराएको त्यो स्टोरी थोरै भएपनि आफैले पर्यटन मन्त्रीलाई सुनाएको छु ।

तिम्रा हरेक फोनले मेरो मुटु चिसो हुन्थ्यो । फोन राख्न नपाई २ ठाउँमा तत्काल फोन गर्थे, कहिले फोन उठ्थे त कहिले उठ्दैनथे । म प्रयास गर्दैछु भन्ने जवाफ धेरै पटक पाएँ । तर गुलामी गर्न नजान्ने म सफल भईन । म आफैँले पर्यटन मन्त्रीलाई भेटेर पुष्कर दाईले पैसा र सम्मान होईन । ‘राज्यलाई योगदान गर्न खोजेका हुन्, उपयुक्त प्लेटफर्म दिनुपर्यो’ भनेर प्रष्ट भनेको छु ।  तिमीलाई नचिन्ने कोहि पनि थिएनन्, तर तिम्रो चाहना पुरा गर्न कसैले चाहेनन् ।

पर्यटन मन्त्री वा पर्यटन बोर्डले मात्र चाहेको भए, पर्यटन प्रवर्धनमा योगदान गर्ने तिम्रो सपना पुरा हुन कुनै महाभारत थिएन । राष्ट्र प्रमुख र सरकार प्रमुखले नभेटेपनि पर्यटन मन्त्रीले बुझेका भए–तिमीले देश छोड्नु पर्ने नै थिएन । तिमी साईकले र म मोटरसाईकले–हैसियत बरावरी ! तिमी न दिएर सम्मान पाउने हैसियतमा थियौं न मार्सीभात ख्याउने हैसियतमा थिए म !

तिमी २०४६ मा झन्नै मरेका म २०६२ मा ! हामी दुवै जनान्दोलनका घाईते । फरक त्यति हो, तिमी साईकलमा  ११ वर्ष घुम्दा संसारलाई तीन फन्को मार्यौं । म आफ्नो पढाई छोडेर जनवादी शिक्षा ल्याउने भन्दै १३ वर्ष आयु घटाएँ । तिमी पटक–पटक लुटिएर र खान नपाएर झन्नै मर्यौ, म पटक पटक कुटिएर, काटिएर झन्नै मरे–विधार्थी आन्दोनमा !  तिमीले देशको मात्र झण्डा बोक्यौ, पार्टीको बोक्न चाहेनौ । मैले देशको र पार्टीको मात्र झण्डा बोकें, गुटको बोकिन । पार्टीको झण्डा बोकेर गुटको नबोक्दा झन्डै नबोके झैँ हुन्छ भन्ने जान्दा जान्दै पनि गुटमा लाग्दै लागिन ।

सोच्यौ होला, यो पनि त्यहि ड्याङ्गको त मुला हो नि ! मेरो बारेमा प्रयास नै गरेन । त्यहि झोकमा देश छोड्ने जस्तो निर्णयमा पनि एक कल फोन गर्न जरुरी ठानेनौं । तर होईन दाई–मैले निकै प्रयास गरेँ । धेरै माननीयहरुलाई मान गरीगरी हार गुहार गरेँ । राम्रो मान्छे भन्थे । कसैले सिन्को भाँच्न चाहेनन् ।

सधैँ जोक गर्ने बानीका तिमी केहि समय घुम्न अष्ट्रेलिया गएका हौ जस्तो लाग्यो । धेरै दिनपछि आज विहानै फेसबुकमा स्टाटस पढ्दै गर्दा तिम्रा स्टाटसमा ध्यान गयो ।  हेर्दै जाँदा तिमीले भाँडा माझेको समाचार नै पढे । मन चिसो भयो, तर विश्वास गर्न सकिन । नित्यकर्म पछि मन थाम्न नसकेर हाँडीगाउँको नेपालीपनले सजिएको तिमी बस्ने घरमा पुगे ।

न तिमी त्यहाँ थियौं, न तिम्रो पहिचान भएको त्यो कोठा । मन थाम्न सकिन, उभिन गाह्रो भो, थुचुक्क बसे भुईमा ! आँखा रसाए, सारै नरमाईलो लाग्यो । आफैलाई सम्हालेर तीनै भित्ताको फोटो र भिडियो खिचे । बाहिर निस्किएपछि मोटरसाईकल हाक्न निकै गाह्रो भो !

२० मिनेटको बाटोमा पुग्ने वैदिक गुरुको आश्रममा ध्यान पछि खाना खाएर साँस्कृतिक, वैदिक गफ गर्यौं । थाहा छैन–के ध्यान गरे, के गफ गरे, कत्ति खाएँ । मनमा कुरा खेलिरहेको थियो, जाने बेला पुष्कर दाईले किन एक फोन गरेनन् ? राज्यसँग हारेका उनी मलाई पनि फटाहाको कोटिमा राख्दै गए होला !

विश्व घुमेका पुष्कर रुवाएर मेरो देशले मनाउने “पर्यटन वर्ष २०२०” कसरी सफल गर्ला ? मैले बुझेको छु, “नेपाल भ्रमण वर्ष २०२० को पर्यटन दूत” बनाएर उनको क्षमतालाई राज्यले प्रयोग गरेको भए, पार्टीको झण्डा नबोकेपनि ओली सरकारको जयजयकार गर्दै संसार बुझेको अनुभव र सम्पर्कलाई देशको पर्यटन विकासमा खर्चिने थिए ।  आज देशको झण्डा बोकेर संसार घुमेको युवाले पार्टीको झण्डा नबोकेकै कारण देश छोड्नु पर्यो ! भोलि पार्टी झण्डा बोकेर गुटको झण्डा नबोक्ने अर्को युवाले देश छोड्नु पर्ला ? योजना, अनुभव र ज्ञान भएकाको अपमान गर्दै देश छोडाउ, अनि चाकरीमा रमाउने भक्तहरुलाई जिम्मेवारी देउ ।

सरोकारवालाहरु याद गर – पुष्कर शाह, साईकले यात्री मात्र होईन, लाखौँ युवाको प्रतिनिधि हो, प्रेरणा हो, देशको लागि केहि गर्दा सम्मान पाईन्छ भन्ने उदाहरण हो । पुष्करको आँशुमा लाखौँ नेपालीको आँशु छ भन्ने बुझ्न ढिलो गर्ने र आशावादी नागरिक बनाउन १०० दिनमै स्मार्ट राजधानी बनाउने योजनाकारले ४०० दिनमा  सडक बिचमा बनेको पोखरीमा डुवेकिलाई उद्धार गरिएको समाचार लेखाउनेमा के नै फरक भयो र ?

पुष्कर दाई ! म अझै हारेको छैन, सुनेको छु–गोविन्द केसीलाई वार्तामा ल्याउन कुनै डाक्टरले ओखति गरिन रे ! तिम्रो लागि ओखति गर्ने डाक्टरको खोजीमा लागेको छु, भेटे भने त नेपाल फर्कन्छौं नि, है ?

यो पनि पढ्नुहोस

साइकलयात्री पुष्करको सम्मानमा राज्यले एक थुङ्गा फूल समेत खर्चेन (भिडियो सहित)

संसार घुम्न पैसा होइन हिम्मत चाहिन्छ : पुष्कर शाह

 

प्रतिक्रिया दिनुहोस्