कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले



२८ भदौ २०७५, काठमाडौं

स्थानीय जनप्रतिनिधिको विशेष अनुरोधमा पूर्व सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराई आफ्नै क्षेत्रमा पर्ने सडक निर्माणको ढिला सुस्ती हटाई छिटो सम्पन्न गराउने उद्देश्यले सडक विभागका महानिर्देशक, सरोकारवाला सरकारी निकायका प्रतिनिधि सहित बू.न.पा –१० वडा कार्यालयको सभाहलमा वडाध्यक्षहरु र केहि स्थानीय समाजसेवीहरु सहित अनौपचारिक छलफलका लागि आए । परिचयात्मक कार्यक्रम नसक्दै कांग्रेसबाट निर्वाचित यसै क्षेत्रका प्रदेश सभा सदस्यको नेतृत्वमा भिडियो र फोटो खिच्दै छलफलमा सहभागी भन्दा दोब्बर बढी सहयोगीका साथ सभाहलमा प्रवेश गरे ।

लोकतन्त्रको सुन्दरता भनेकै आफ्ना विचारहरु स्वतन्त्रतापुर्वक अभिव्यक्त गर्न पाउनु हो । अझ सार्वजनिक सरोकारका विषयहरुमा बोल्न पाउनु आम नागरिकको अधिकार नै हो ।  लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएको कांग्रेसका सदस्य, सहयोगी, शुभचिन्तकहरुले स्वतन्त्रताको अधिकार अरुभन्दा धेरै उपयोग गर्न पाउने अधिकार समेत होला । यो अवस्थासम्म घटना सामान्य देखिन्छ ।

लोकतन्त्रको निकै लामो अभ्यास भएका देशमा समेत सार्वजनिक सरोकारमा आधारित सभा, समारोह, औपचारिक वा अनौपचारिक छलफलमा आयोजकले वक्ताको ज्ञान, विषयवस्तुसँग वक्ताको सम्बन्ध, वक्ताले राख्ने धारणाले विषयवस्तुमा पुग्ने योगदानको समेत मूल्यांकन गरी बोल्न दिने वा नदिने निर्णय गर्ने प्रचलन छ ।

अझ नेपाल जस्ता देशमा हुने अनौपचारिक छलफलमा बोल्ने अधिकार जो कोहि सहभागीले पाउने प्रचलन छ । त्यसमा पनि स्थानीय निर्वाचनमा झन्डै दोब्बर बढीमतले हारेको भएपनि कांग्रेसका प्रदेशसभामा विजयी सांसदकै नेतृत्वमा आएको टोलीका सदस्यलाई बोल्न नदिने हैसियतमा आयोजक नै थिएनन् । मर्यादित ढंगले पालैपालो बोल्न चाहेका भए, आयोजक भन्दा बढी समय उनीहरुले प्रयोग गर्न पाउने थिए ।

हैसियत फेरिएपनि प्रवृति नफेरिएको काँग्रेस व्यवहार बुझेका डा. भट्टराईले कांग्रेस सांसद न्हुछे नारायण श्रेष्ठलाई ‘यो के गरेको ? गुण्डागर्दि गर्न आएको’ भनी हप्काउन समेत वाध्य भए ।  सडक निर्माणमा योगदान गर्न भन्दा पनि डा. भट्टराईद्वारा आयोजित अनौपचारिक छलफल भाँड्न सके, भविष्यमा हुने सबैजसो कार्यक्रममा कांग्रेसको अनिवार्य सहभागीतालाई स्वीकार्न वडाध्यक्षहरु बाध्य हुने उनीहरुको योजना रहेको बुझिन्छ । त्यतिमात्र होईन काम गरेरै स्थापित हुन् चाहेका डा. भट्टराईको विकासवादी अभियानलाई निष्तेज पार्न २०४७ देखि २०७५ सम्म (२८ वर्षे अवधिमा) जम्मा ३ वर्ष सत्ता बाहिर बसेको कांग्रेस पानी सुक्नै लागेको पोखरीमा छटपटिएको माछा जस्तो भएको छ । विकास र समृद्धीको अभियानमा पार्टी कार्यकर्ता मात्र होईन, आम जनताले साथ दिनेछन । हैसियत फेरिए सँगै आफ्नो प्रवृति फेर्नुपर्नेमा कांग्रेसले नाङ्गो नाच देखाउन खोजेको आक्रोश स्थानीय नेकपा नेता जगत निरौलाले परिवर्तन खबरलाई पोखे ।

छलफल आयोजनाको उद्देश्य र भएका गतिविधि सहितको फिचर स्टोरी ‘डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)’ भन्ने शिर्षकमा घटनाको भोलिपल्ट परिवर्तन खबरले प्रकाशन गरेको थियो । अनौपचारिक छलफलमा कांग्रेसबाट निर्वाचित सांसद लगायत समर्थकहरुको प्रस्तुति पढ्दा र सुन्दा स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता मात्र हैन, हरेक सचेत नागरिकलाई नपच्ने व्यवहार भएको सजिलै बुझिन्छ । प्रकाशित समाचारमा पाठक प्रतिक्रियाले समेत यसलाई पुष्टि गरेको छ ।

प्रदेश सांसदको नेतृत्वमा आएका कांग्रेस टोलीले वडाहलमा राखेको कार्यक्रम बिथोलेर स्थानीय कांग्रेसलाई शक्तिशाली त देखायो । तर विपी कोईराला जस्तो आदर्शवान र दूरदर्शी नेताले हुर्काएको पार्टी कार्यकर्ताको व्यवहारले कांग्रेसको गरिमा पक्कै बढाएको छैन ।  अनौपचारिक भएपनि जिम्मेवार सरोकारवाला सहितको उच्चस्तरीय छलफलमा माननीयको नेतृत्वले आफ्नो उद्देश्य पुरा त गर्यो । परिवर्तन खबरले भिडियो सहित समाचार प्रकाशन गरेपछि प्रदेश सांसदले गल्ती स्वीकार्दै विज्ञप्ति निकाल्नु पर्नेमा त्यसो गर्न पनि आवश्यक ठानेनन् । यद्धपि कपन जस्तो बहुसंख्यक शिक्षित र सचेत नागरिक बसेको नगरमा उनको विज्ञप्तिले, उनकै मान बढाउने थियो । जिम्मेवार पार्टीका जिम्मेवार सांसदको नेतृत्वमा भएको व्यवहार र गतिविधिले कांग्रेसका आदर्शवान कार्यकर्ताको भावनामा भने चोट परेकै हुनुपर्छ। आम जनमानसमा माननीयको व्यवहार मनन योग्य देखिएन, माननीय जस्तो कानुन बनाउने व्यक्तिले प्रयोग गरेको बाहुबल र अराजक क्रियाकलाप बीपीकै लोकतान्त्रिक मूल्य विरोधी कदम हो। समय सकिएको छैन, माननीयले आफ्नो मान आफैँ घटाएको सुधार्ने मौका अझै बाँकी छ।

स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा देशभर पराजित कांग्रेस यस क्षेत्रको स्थानीय सरकारमा कमजोर हुँदाहुँदै पनि संघीय सरकारमा जित्न सफल भयो । बोलीमा प्रष्टता मात्र होइन, प्रविधि तथा संचारमैत्री क्षमता र विषयवस्तु प्रतिको निरन्तर खोजले सांसद गगन थापालाई जवरजस्त स्थापित गरायो । स्थानीय स्तरमा राम्रो पकड भएका अति सहयोगी जनप्रतिनिधि हुँदा हुँदै पनि व्यक्तिगत प्रभावमै डा. राजन भट्टराई जस्तो वौद्धिक नेताले पराजय स्विकार्नु पर्यो। त्यति मात्र हैन, सांसद थापाले युवा तथा बहुसंख्यक नागरिकले प्रयोग गर्ने सामाजिक संजाललाई राम्ररी प्रयोग गरे । फेसबुक र ट्वीटरमा समेटिएका १७ लाख बढी साथीहरुले उनका हरेक धारणालाई सत्य सावित गर्नमा ठूलो भूमिका खेलिरहे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुटनीतिमा अब्बल मानिएका डा. भट्टराईलाई पराजय स्वीकार्न बाध्य बनाए ।

१७ लाख साथीको भावनालाई हजारौँ स्टाटस, विचार र अपिलले निरन्तर मोडिरहे । उनको प्रभावशाली विचारको तरंगले सहयोगीका दिमाग हल्लिरहे। कालो कुकुर डोर्याउँदै हिडेको व्यक्तिलाई हैन, त्यो त कालो खसी हो भन्दा गगन दाईको कालो खसी नै हो भन्ने धारणाले सामाजिक मन्च तातिरह्यो। चुनावी अभियानको अन्तिम समयमा प्रयोग गरेको सामान्य अस्त्र, ब्रम्हास्त्रमा परिणत गर्न सफल भए। उनलाई हराउने सोचमा बसेका मतदाताले एकै झड्कामा आफूलाई बदले । पार्टी कार्यकर्ता मात्र होईन, आम जनताले गगन वचन स्वीकार्नु नै आफ्नो धर्म ठाने । तत्कालिन फुटबल खेलको नब्बे मिनेट पुग्नै लाग्दा निर्णायक गोल गरी थापाले ट्रफी चुमे।

अघिल्लो मैदानमा निर्णायक गोल गरी हिरो भएका थापाले मौषम संगै बदलिएको मैदानबारे बुझेनन्। विपिकालमा मौलाएको तरुण रुखमा बढ्दो तापक्रमसँगै घट्दै गएको पानीको श्रोतबाट हुर्किएका खुमबहादुर र शेर बहादुर जस्ता हजारौँ बहादुरको फैलावटले विपीवृक्षमा पुगेको अवरोधलाई गगनबाट बादलले छेकेपछि नदेखिएको हुनसक्छ।

त्यसैले त अन्तर्राष्ट्रिय फोरममा समेत लोकतन्त्रको पाठ पढाउने थापाले आफ्नै सहकर्मीले विर्सिएको बुदाँलाई सच्चाउन छोडेर त्यसैमा सहिछाप ठोकिदिए,आफ्नो अनुभव, प्रभाव र हैसियत विर्सिएर । त्यसैले त आफ्नै माननीयको गल्तीलाई छोप्न आफ्नो क्षमतालाई दुरुपयोग गर्दै स्थानीय अनलाईनमा आफूले गरेको कामको भट्टराईले जस लियो भन्दै छाप्न लगाई हाले। बाटो मैले नै बनाएको हुँ । अरु कोहि कसैले एक चिम्टा पनि योगदान गरेको छैन। त्यसमा प्रयोग गरिएका सबै साधन र श्रोत मेरै पहलमा मात्रै भएका हुन् भनेर गर्न चाहेको कुप्रचारलाई कपनवासीले पत्याउने आधार काफी छ त ?

तपाई, आमसंचारलाई पूर्ण सदुपयोग गर्न सफल माननीय हो, तर विपक्षीले गरेको विकास अभियानलाई निस्तेज बनाउन अहिले देखि आफ्ना अस्त्र प्रयोग गर्नु भो भने अन्तिम युद्धमा खालीहात लड्नु पर्ला ! हिजो तपाईकै भाषणले तानाशाही ज्ञानेन्द्रलाई शिवपुरी जंगलमा बसाउन निस्किएका कपनवासीले तपाईको संसदीय बाटो रोक्न महाभारत जस्तो युद्द लड्नु पर्ला र ?

‘आफ्नो नगरको विकासमा कसले कति योगदान गर्यो’ भन्ने बुझ्न आम कपनवासी सक्षम छन् । परिवर्तन खबरलाई पार्टीको मुखपत्र भनी प्रचार गर्ने तपाईका भक्तहरुले बुझुन, डा. भट्टराईको भजन गाउनु परिवर्तन धर्म भए – उनको पहलमा कपन बहुमुखी क्याम्पस भवन निर्माणलाई थपिएको ५ करोडको योजना मात्र होईन, मेलम्ची परियोजनाबाट बन्चित कपनवासीलाई मेलम्ची परियोजनासँग जोड्नलाई पारेको ५० करोड भन्दा बढीको परियोजनालाई मुख्य समाचार बनाई कपनवासीका कान-कानमा पुर्याउने थियौँ।

प्रचारलाई राजनीतिको मुख्य अस्त्र मान्ने तपाई र तपाईका सहयोगीले राम्ररी बुझुन – न परिवर्तन खबर कुनै पार्टीको मुखपत्र हो, न डा. भट्टराई प्रचारमा रमाउने नेता हुन् । आफ्नाले गरेको एउटा गल्तीलाई छोप्न, अर्को गल्ति गर्दै भट्टराई अभियान निष्तेज पार्न आफूलाई केन्द्रीत गर्नु भो भने दुनियाँले मानुन भनेर तपाईलाई दिईएको ‘माननीय’को गरीमालाई अरुले नमान्लान कि ?

आफ्नै मानलाई भुलेका माननीय र आफ्नाले बोलेको मात्रै सत्य ठान्ने बौद्दिक कपनवासी नागरिकमा समर्पित परिवर्तन खबरले फेलापारेका केहि थान कागजातहरु :

साततले देखि आनी गुम्बासम्मको सडकलाई अर्थमन्त्री विष्णु पौडेलको पालामा डा. भट्टराईले रातो किताबमा पारेको योजना
साततले देखि आनी गुम्बासम्मको सडकलाई राष्ट्रिय योजनामा पार्न डा. भट्टराईले गरेका पहलहरु
साततले देखि आनी गुम्बासम्मको सडकलाई राष्ट्रिय योजनामा पार्न डा. भट्टराईले गरेका पहलहरु
साततले देखि आनी गुम्बासम्मको सडकलाई राष्ट्रिय योजनामा पार्न डा. भट्टराईले गरेका पहलहरु
साततले देखि आनी गुम्बासम्मको सडकलाई राष्ट्रिय योजनामा पार्न डा. भट्टराईले गरेका पहलहरु

यो पनि पढ्नुहोस :

डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्