निर्मला हत्या प्रकरणः बलात्कार छानबिनमा सदस्यकै प्रश्न



कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।

१५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन् ।

समितिमा एकजना गृह मन्त्रालयका सहसचिव र तीनजना सुरक्षाकर्मी छन् । समितिले रातदिन काम गरेर थुप्रै मान्छेको बयान र स्थलगत प्रमाण संकलन गरिसकेकाले समितिको म्याद थप्नै नहुने उनको अडान थियो ।

प्रहरीले दिलीपसिंह विष्ट र बम दिदीबहिनीलाई थुनामा राखेको छ । तर, छानबिनका क्रममा संकलन भएका तथ्यले वास्तविक अपराधी थुनाबाहिरै रहेको र यो प्रक्रिया लम्बिँदा उनीहरू उम्किन सक्ने तर्क उनले समितिमा राख्दै आएका थिए ।

समितिमा रहेका एक सुरक्षाकर्मीका अनुसार छानबिनका लागि थप समय माग्ने विषयमा केसीले विरोध गरेका थिए । वास्तविक अपराधी बलिया भएकाले प्रमाण पनि मेटाउन सक्ने भन्दै केसीले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेमा जोड दिएका थिए । तर, प्रतिवेदन नै लेख्न ढिला गर्ने र प्रमाण मेटाउन सहयोग गर्ने छानबिनमा आफू बस्न नसक्ने भन्दै उनले राजीनामा दिएका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्