सहारा दिने नाममा बालिकाको बलात्कार



२६ भदौ २०७५, काठमाडौं

ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।

बसपार्क पुगेर झर्ने क्रममा ‘कता जाने अब घरमा जान मन छैन’ भनेपछि कीर्तिपुर बस्दै आएका कैलालीका हेमबहादुर खत्रीले ‘मेरो डेरा जाऊँ’ भन्दै प्रस्ताव राखेका थिए । सुरुमा अनकनाएपछि दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भए । प्रहरीका अनुसार खत्रीले डेरा पुगेपछि दुवैलाई खाना पकाएर खुवाए ।

राति सँगै सुते । १३ वर्षीया बालिका निदाएपछि उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । तीन दिन सँगै डेरामा दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर आइतबार बल्खु प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सोधपुछ गर्दा उनीहरू भदौ २१ गतेदेखि घर नआएको पत्ता लागेको थियो ।

१३ वर्षीया बालिकाकै सूचनाका आधारमा प्रहरीले कीर्तिपुरमा डेरा गरी बसेका खत्रीको डेरा फेला पार्यो । ११ वर्षीया बालिका रोइरहेको अवस्थामा फेला परेकी थिइन् । तर खत्री कोठामा थिएनन् । खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्