वनस्पति घिउ उद्योगले तेल उत्पादन गर्ने



२४ भदौ २०७५, काठमाडौं

लामो समयदेखि बन्द रहेको नेपाली वनस्पति घिउ उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करिब एक दशकअगाडि विभिन्न कारणले बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको स्वामित्वमा रहेको सो उद्योगले तोरीको तेल उत्पादन गर्न चीनबाट १७ लाख रुपैयाँको लागतमा आवश्यक मेसिनसमेत खरिद गरेको छ । उद्योगका महाप्रबन्धक मुकुन्द जोशीका अनुसार उद्योग सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ लगानी भइसकेको छ ।

चीनबाट आयातीत मेसिनले दैनिक १ सय ५० टन तोरीको तेल उत्पादन गर्न सक्ने उनले जानकारी दिए । बजारमा माग नरहेकाले उद्योगले वनस्पति घिउ उत्पादन नगर्नेसमेत जनाएको छ । तोरीको तेल उत्पादन परीक्षण राम्रो भएमा थप लगानीसमेत गर्ने उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगले वनस्पति घिउ उत्पादन गर्ने पुराना मेसिन हटाएर सनफ्लावर र सोयाबिन तेल उत्पादन गर्न लागेको जनाएको छ ।

०३३ सालमा स्थापना भएको शान्ति वनस्पति घिउ उद्योगले ०३९ साउनबाट शान्ति वनस्पति घिउ, गृहिणी वनस्पति घिउ र शान्ति सोयाबिन तेल उत्पादन गर्दै आएको थियो ।

०४४ सालबाट उद्योगको सेयर ९० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनका नाममा र १० प्रतिशत सेयर सर्वसाधारणको रहेकामा ०५५ सालदेखि उद्योग घाटामा गएपछि चौधरी ग्रुपलाई भाडामा दिइएको थियो । चौधरी ग्रुपले पनि सञ्चालन नगरी त्यसै छाडेको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्