नेविसंघको महाधिवेशन कात्तिकको तेस्रो हप्ता



२४ भदौ २०७५, काठमाडौं

नेपाल विद्यार्थी संघले आगामी १६ कात्तिकमा महाविधेशन गर्ने घोषणा गरेको छ । केन्द्रीय कार्य समितिको बैठकमा आगामी १६ देखि १८ कात्तिकमा ११ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस भएको हो ।

यस्तो छ कार्यतालिका

महाधिवेशनअन्तर्गत ७ असोजमा मावि र क्याम्पसको अधिवेशन, १२ असोजमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको अधिवेशन गर्न प्रस्ताव गरिएको छ । प्रदेशका क्षेत्रको १५ असोजमा, ७७ जिल्ला र जनसम्पर्क समितिको २१ असोजमा, सातवटै प्रदेशको १० र ११ कात्तिकमा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

१२ कात्तिकमा केन्द्रीय अध्यक्षबाट महाधिवेशन प्रतिनिधिहरूको मनोनयन, १३ कात्तिकमा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन, १४ कात्तिकमा यसमा दाबी विरोध र उजुरी दर्ता र अन्तिम नामावली प्रकाशन भएपछि १६ कात्तिक शुक्रबार महाविधेशन उद्घाटन हुनेछ । महाधिवेशनस्थलको भने टुंगो लागिनसकेको अध्यक्ष नैनसिंह महरले जानकारी दिए । काठमाडौं, धनगढी, झापा, बुटवल, हेटौँडा, जनकपुरमध्ये एक ठाउँमा महाधिवेशन गर्ने उनको भनाइ छ ।

महाधिवेशनका लागि तयारी समिति

महाधिवेशन गर्नका लागि अध्यक्ष महरको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, भोजन तथा आवास, प्रचार–प्रसार, आर्थिक, यातायात, नीति तथा कार्यक्रमसम्बन्धी समिति गठन, शैक्षिक, सांगठनिक, राजनीतिक प्रतिवेदन समिति, स्वास्थ्य, मञ्चसहितका समितिको प्रस्ताव गरिएको छ ।

विधान र नियमावलीमा छलफल जारी

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले कार्यतालिका पेस गरेसँगै विधान र नियमावलीमा छलफल सुरु भएको छ । आइतबार थप छलफल गरी विधान र नियमावली पास गर्ने अध्यक्ष महरले जानकारी दिए । ‘मिति सार्वजनिक गर्‍यौँ । विभिन्न समिति पनि गठन गरेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब महाधिवेशन गर्ने दिशामा अघि बढ्यौं ।’

के भने नेताहरूले ?

निर्देशन समितिका सदस्यहरू नवीन्द्रराज जोशी र प्रदीप पौडेलले नेविसंघ कांग्रेसको प्रतिष्ठा रहेको भन्दै कम्युनिस्ट सरकारविरुद्ध भिड्न र जुध्न पनि नेविसंघलाई बलियो बनाउनुपर्ने बताएका थिए । ‘अरुसँग लड्न नेविसंघ बलियो, अनुशासित बनाउनुपर्छ,’ उनले भने ।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्