
२३ भदौ २०७५, काठमाडौं
बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुबै खेलमा शत प्रतिशत नतिजा सहित बंगलादेश प्रतियोगीताको सेमिफाईनल नजिक रहेको छ । बराबरीको नतिजाले पनि उसलाई अघिल्लो चरणमा प्रबेश गराउनेछ । हारपछिपनि उसको संभावना कायमै रहन्छ ।
तर नेपालाई भने अघिल्लो चरणमा प्रबेश पाउन आयोजकबिरुद्धको खेल महत्वपुर्ण रहेको छ । यद्यपी आजै हुने पहिलो खेलमा भुटानले पाकिस्तानलाई हराए नेपाललाई फाईदा पुग्नेछ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयानुसार साँझ पौने ७ बजे हुने खेलले समुह एबाट अन्तिम चारमा प्रबेश गर्ने दुबै टोलीको टुंगो लगाउनेछ ।
दिउँसो पौने ४ बजे सोहि मैदानमा हुने खेलमा पाकिस्तानले जित निकाले, सेमिफाईनल प्रबेशका लागि नेपाललाई बंगलादेशबिरुद्ध जित्नै पर्ने दबाब रहन्छ । तालिकामा बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ, भने समान ३–३ अंक सहित नेपाल र पाकिस्तान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि हिजो भएको खेलमा श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
आजको कान्तिपुर दैनिकमा साभार गरिएको हो ।





