कञ्चनपुर घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ



२१ भदौ २०७५, कन्चनपुर

कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बुधबार गरेको ब्रिफिङअनुसार पन्तको बलात्कारपछि हत्या हुँदा प्रमाण नष्ट गरिएको हुनाले घटना अनुसन्धान जटिल मोडमा पुगेको हो ।

प्रमाण नष्ट भएकाले घटनामा संलग्न अभियुक्त पत्ता लगाउन गाह्रो भएको समितिको निष्कर्ष छ । घटना भएको ३५ दिनपछि सरकारले समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका डिआइजी रामप्रसाद श्रेष्ठ र सशस्त्र प्रहरीका वसन्त बानियाँ सदस्य छन् ।

समिति सदस्य श्रेष्ठले नयाँ पत्रिकासँग भने,‘कुनै पनि अनुसन्धान सजिलो हुँदैन । त्यो स्वाभाविक हो । कन्चनपुर घटनाको केसमा पनि त्यही हो । अनुसन्धान सकिएको छैन । त्यसैले, अहिले नै यही हो भन्न सकिन्न ।’

समितिका अनुसार बलात्कारपछि निर्मलाको शव कन्चनपुरको भीमदत्त–१८ निम्बुखेडाको उखुबारीस्थित पानीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । शव पानीमा भिजेका कारण बलात्कारमा संलग्न अभियुक्तको गन्ध र वीर्य शवबाट पखालिसकेको थियो । समितिका अनुसार पोस्टमार्टम रिपोर्टले पनि यसलाई पुष्टि गरेको छ ।

सूक्ष्म ढंगबाट अनुसन्धान जारी : कञ्चनपुर प्रहरी
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले घटनाका सम्बन्धमा सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी प्रमुख एसपी कुँवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुय विष्ट घटनामा संलग्न नभएको बताए ।

उनले भने, ‘हामीले विभिन्न तरिकाले उनीहरूलाई सोधपुछ ग-र्यौं । अहिलेसम्मको अनुसन्धान हेर्दा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति छैन ।’ प्रहरीले व्यक्तिकेन्द्रित अनुसन्धान गर्ने उनले बताए । ‘यो दौड होइन, अनुसन्धान प्रक्रिया हो’ उनले भने, ‘कहिलेकाहीँ नजिक पुग्दा अर्को बाटोअवलम्बन गर्नुपर्छ ।’ आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्