एसिया कप छनोट नेपालको फाइनल खेल्ने सम्भावना जीवितै



१८ भदौ २०७५, काठमाडौं

स्पिनरहरूले सात विकेट लिएपछि जित्नैपर्ने दबाबमा खेलेको नेपालले आइतबार सिंगापुरलाई ४ विकेटले हराउँदै एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना कायम राखेको छ।

सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३ तथा अनुभवी वसन्त रेग्मीले १ विकेट लिएपछि मलेसियाको बांगीस्थित युकेएम–वाइएसडी क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन बनायो । १ सय ५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पूरा ग-यो।

लगातार दोस्रो जितसँगै ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ । शनिबारै हङकङविरुद्धको खेल वर्षाले प्रभावित बनेपछि अंक बाँडेको ओमान ७ अंकका साथ शीर्ष स्थानमा छ। मलेसियालाई ८ विकेटले पराजित गरेको युएई ६ अंकका साथ दोस्रो तथा ५ अंक जोडेको हङकङ तेस्रो स्थानमा छन् । लिग चरणको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली १२ दिनपछि युएईमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यहाँ छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सपना बुन्दै मलेसिया पुगेको नेपाली टोलीले पहिलो दुई खेल गुमाएपछि छनोट प्रतियोगिताकै फाइनल पक्का गर्न अर्काको भर पर्नुपर्ने भएको छ। नेपालले अब लिगचरणको अन्तिम खेल हङकङविरुद्ध खेल्नेछ भने शीर्ष स्थानको ओमानले दोस्रो स्थानको युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले हङकङलाई र ओमानले युएईलाई पारजित गरिदिए नेपाल र युएईको समान ६ अंक हुनेछ । लिग विजेताको हैसियतमा ओमानले फाइनल पक्का गर्नेछ । नेपाल र युएईबीचको रनरेटले दोस्रो स्थानमा रहेर फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । त्यस कारण नेपालले मंगलबार हङकङमाथि फराकिलो जित निकाल्नुका साथै ओमानले युएईलाई फराकिलो अन्तरमा पराजित गरे मात्र फाइनल खेल्ने सम्भावना हुन्छ । अन्यथा एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ।

ललितनारायणले ९ ओभरमा १ मेडन राख्दै २७ रन दिएर ३ विकेट लिँदा सन्दीपले १० ओभरमा ३५ रन दिएर ३ विकेट लिए । ८ ओभर गरेका वसन्त रेग्मीले १ मेडन राख्दै २० रन दिएर १ विकेट लिए । मध्यम गतिका बलर सोमपाल कामीले तेस्रो बलमै सिंगापुरका अर्जुन मुत्रेजालाई बोल्ड गर्दै नेपाललाई राम्रो सुरुआत दिए । चौथो ओभरको दोस्रो बलमा ललितनारायणले अरित्रा दत्तलाई विकेटकिपर सुवास खकुरेलमार्फत क्याच गरे । पाँचौं ओभरको दोस्रो बलमा सोमपालले अर्का ओपनर रोहन रंगराजनलाई पनि बोल्ड गरे । ४.२ ओभरमा रंगराजन पवेलियन फर्किंदा सिंगापुर १८–३ को अवस्थामा थियो । तर, त्यसपछि अनिश पराम र चेतन सूर्यवंशीले चौथो विकेटका लागि ८० रनको साझेदारी गर्दै सिंगापुरको इनिङ उकासे । ८८ बलमा ८ चौका र १ छक्का हान्दै ६० रन बनाएका सूर्यवंशीलाई ललितनारायणले एलबिडब्लु आउट गर्दा ३१ रन बनाएका परामलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । त्यसपछि सिंगापुरले लगातार विकेट गुमायो। कार्थिकेयन सुब्रह्मनियमले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

१ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनरले ठीकै सुरुआत गरे । सुवास खकुरेलले धीमा गतिमा रन बनाए पनि अनिलकुमार शाहले ३२ बलमा ५ चौका र २ छक्का हान्दै ४३ रन जोडे । जुन नेपालको इनिङमा सबैभन्दा धेरै रन हो । दुईले पहिलो विकेटका लागि ६२ बलमा ५६ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्लभन्दा अगाडि ब्याटिङ गर्न आएका कप्तान पारस खड्का र सुवासले नेपाललाई ७२ रनसम्म डो-याए । १३.२ ओभरमा पारस ११ रन बनाएर पवेलियन फर्किएकै ओभरमा १४ रन बनाएका सुवास पनि आउट भए।

त्यसपछि ज्ञानेन्द्रले दीपेन्द्रसिंहसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोे-याए । ज्ञानेन्द्र २९ रन बनाएर आउट भए । ज्ञानेन्द्र आउट भएपछि दीपेन्द्रसिंह र सागर पुनले पाँचाैं विकेटका लागि २९ रनको साझेदारी गर्दै नेपालको जित पक्का गरे । आरिफ शेखले अनन्थ कृष्णाको बलमा चौका हान्दै नेपाललाई १ सय ३१ बलअघि ४ विकेटको जित दिलाए । सिंगापुरका कृष्णा र सेलाडोरे विजयाकुमारले समान २ विकेट लिँदा सुब्रह्मनियम र शरण स्वामिनाथनको नाममा १/१ विकेट रह्यो।

नेपालले मंगलबार हङकङमाथि फराकिलो जित निकाल्नुका साथै ओमानले युएईलाई फराकिलो अन्तरमा पराजित गरे मात्र फाइनल खेल्ने सम्भावना हुन्छ। यो समाचार आजको नाागरिक दैनिकमा साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्