भुटानी प्रमुख सल्लाहकार काठमाडौंमा, श्रीलंकाका राष्ट्रपति आजै आउने



१३ भदौं २०७५, काठमाडौं

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनमा सहभागी हुन भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक आज काठमाडौं आइपुगेका छन् । विहान ८ बजे भूटान एयरलाइन्स (केबी ४००)को उडानबाट उनी आइपुगेका हुन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

वाङचुक होटल सोल्टी पुगेका छन् । उनलाई कारगेडसहित भीभीआईपी सवारीसाथ होटल लैजाने क्रममा नेपाली सेनाको हेलिकोप्टरले हवाइगस्ती गरेको छ । उनीसँगै भारत र नेपालका लागि भुटानी राजदूत भी नाम्ग्यालसहित भुटानी अधिकारी पनि आएका छन् ।

सम्मेलनमा सहभागी हुन आजै श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना अपरान्ह २ :३५ मा एयर इन्डिया (एआई २१५)को उडानबाट आइपुग्दैछन् । उनी लुम्बिनी भ्रमणमा जानेछन् । बाँकी पाहुना भने विहीवार आउँदैछन् ।

बिहीवार विहान ८ः३० बजे भारतीय सेनाको विशेष विहानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् । विहीवारै विहान सवा ९ बजे बीबीसी १८७१ को विशेष उडानबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिना तथा सवा १० बजे थाइल्याण्डका राष्ट्रपति जनरल चन ओ चो विशेष विमानबाट काठमाडौं आउँदैछन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलवार अपरान्ह आएका छन् । उनी आज लुम्बिनी जाँदैछन् ।

यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्