राष्ट्रिय म्यानमारका राष्ट्रपति लुम्बिनीमा



१३ भदौ २०७५, लुम्बिनी

बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट आज लुम्बिनी जाँदै हुनुहुन्छ । राष्ट्रपति मिन्ट चार्टर विमान मार्फत अहिले केहीबेरमा लुम्बिनी पुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गौतम बुद्ध विमानस्थलबाट समेत उहाँलाई हेलिकप्टरमार्फत लुम्बिनी क्षेत्र सम्म लगिनेछ । झण्डै साढे ६ घण्टाको लुम्बिनी बसाईका क्रममाराष्ट्रपति मिन्टले मायादेवी मन्दिर तथा म्यानमारले आफै निर्माण गरेको विहारमा पूजा तथा ध्यान गर्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, राष्ट्रपति मिन्टलाई स्वागत गर्न भैरहवा पुग्नुभएको छ । लुम्बिनी विकास कोषले ४० वर्ष अघि बनाएको गुरु योजनाको प्रगतिबारे समेत राष्ट्रपतिलाई जानकारी दिने कार्यक्रम रहेको सहकर्मी दिपेन्द्र बडुवालले जनाएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले समेत भोली लुम्बिनी भ्रमण गर्ने तालिका छ ।

म्यानमार र श्रीलंकाका राष्ट्रपतिको लुम्बिनी भ्रमणका कारण रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । लुम्बिनी भ्रमण पछि काठमाडौं फर्किएर राष्ट्रपति मिन्टले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्