दुई मुलुकका राष्ट्रपति भ्रमणमा आउने भएपछि लुम्बिनीमा सुरक्षा कडा



११ भदौ २०७५, भैरहवा

काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका क्रममा दुई मुलुकका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौंमा भदौ १४ र १५ गते हुने सम्मेलनमा आउने श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने तय भएको छ । भदौ १३ गते म्यानमारका राष्ट्रपति विन मिन्ट र १६ गते श्रीलंकन राष्ट्रपति मैथ्रीपाला सिरिसेनासहितको टोली भ्रमण गर्दै छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै राष्ट्रपतिको लुम्बिनीमा हुने भ्रमणका लागि अति विशिष्ट श्रेणीको सुरक्षा योजना बनाइएको बताए । ‘लुम्बिनीमा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ रानाले भने, ‘सुरक्षा व्यवस्था प्रभावकारी बनाइनेछ ।’

उनका अनुसार म्यानमारका राष्ट्रपति भ्रमणमा पत्नीसहित ३६ र श्रीलंकन राष्ट्रपतिको पनि पत्नीसहित ४४ जनाको टोली आउने भएको छ । रानाले दुवै राष्ट्रपतिको भ्रमण काठमाडौंदेखि भैरहवासम्म चार्टर विमानबाट र भैरहवास्थित गौतम बुद्ध विमानस्थलदेखि लुम्बिनीसम्म हेलिकप्टरबाट हुने जनाए । काठमाडौंदेखि भैरहवासम्म चार्टर विमानबाट सबै सहभागी आउनेछन् । भैरहवाबाट लुम्बिनीसम्मको हेलिकप्टरमा भने १० जना मात्र रहनेछन् । भ्रमण क्रममा हुने कार्यक्रमको तयारीमा लुम्बिनी विकास कोष जुटेको छ ।

म्यानमारका राष्ट्रपतिले लुम्बिनीमा पूजाअर्चना गरेपछि ४० वर्षअघि तयार लुम्बिनी गुरुयोजनालगायत गतिविधिबारे जानकारी लिने कार्यक्रम छ ।

श्रीलंकन सरकारले तिलौराकोटमा उत्खननका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ साथै लुम्बिनीमा करिब ४ करोडमा सडक निर्माण भएको छ । सुनौली नाका हुँदै लुम्बिनी आउने पर्यटकमा सबैभन्दा धेरै श्रीलंका र थाइल्यान्डपछि तेस्रो नम्बरमा म्यानमारका हुन्छन् । अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०१७ मा ४८ हजार ३ सय ९९ जना श्रीलंकन पर्यटकले स्थलमार्गबाट बेलहिया हुँदै लुम्बिनीको यात्रा गरेका थिए ।

थाइल्यान्डका ३३ हजार ६ सय ९३ र म्यानमारका पर्यटकको संख्या २८ हजार १ सय ७४ थियो । यो समाचार आजको कान्तिप्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्