नेपाल आइडलमा मिनराजपछि पाए निलिमा र विक्रमले दास्रो र तेस्रो गोल्डेन माइक



८ भदौ २०७५, काठमाडौँ

दर्शकले निकै रुचाएको नेपाली गायन रियालिटि शो नेपाल आइडल सिजन २ मा अघिल्लो हप्ता हेटौँडा अडिसनमा आएका चितवनका मिन राज पौडेलले पहिलो पटक गोल्डेन माइक पाएर नेपाल आइडलको इतिहासमा रेकर्ड राखेका थिए । त्यस्तै हिजोराति प्रसारण गरिएको पोखरा अडिसनमा थप दुईजनाले गोल्डेन माइक पाएर अर्को रेकर्ड राखिदिएका छन् ।

पोखरा अडिसनमा आएकी निलिमा थापाले दोस्रो र विक्रम बरालले तेस्रो गोल्डेन माइक पाउन सफल भएका छन् । भर्खरै २० बर्ष पुगेकी निलिमा अडिसनमा आफ्ना प्रेमीसँग उपस्थित भएकी थिइन् । निकै मन छुने स्वरकी धनी निलिमाले पहिलो गीतमै जर्जहरुको नजरमा आफूलाई पार्न सफल भइन् । त्यसैले उनले गोल्डेन माइक हात पार्न सकिन्  ।निलिमालाई देखेर उनीसँग आएका उनका प्रेमी पनि निकै खुसी भएका थिए ।

त्यसैगरी अर्का प्रतिस्पर्धी विक्रम बराल पनि अडिसन दिनको लागि आफ्नी प्रेमीका र आमासँग उपस्थित भएका थिए । नेपाल आइडल सिजन १ मा पनि आएर गोल्डेन टिकट पाउन सफल विक्रमले आफ्नो पढाईका लागि नेपाल आइडल सिजन १ को यात्रालाई बिचमै छोडिदिएका थिए । यसपाली पनि विदेश जाने योजना बनाएका विक्रमले नेपाल आइडल सिजन २ आफ्नो प्रतिभा देखाउने ठूलो प्याटफर्म भएकाले विदेश जाने योजना स्थगित गरेको बताए । उनले पनि जर्जहरुलाई इम्प्रेश पार्न सफल हुँदै गोल्डेन माइक  प्राप्त गरे । त्यतिमात्र नभएर जर्जहरुले विक्रमकी आमा र प्रेमिकालाई पनि भित्र बोलाएर विक्रमको तारिफ गरे ।

प्रतिक्रिया दिनुहोस्