साढे तीन वर्षमा पनि शुरु भएन भ्यु टावर निर्माणको काम



०७ भदौ २०७५, काठमाडौं

काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो ।

सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसको शिलान्यास गर्नुभएको थियो । २०७३ बैशाख २२ गते त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो ।

त्यसैलाई नै भ्यूटावरको अहिलेसम्मको प्रगती मान्दा हुने भएको छ । भित्र निर्माण सामग्री थुपारिएका छ भने निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरुले निर्माणस्थल भरिएको छ ।

यद्यपि सम्झौताकर्ता प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दावी गर्दै भने, ‘छिट्टै थाल्छौँ । गृहकार्यमा छौँ ।’ तर उनले काम थाल्ने मिति तोक्न सकेनन् । समाचारमा लेखिएको छ, यसबारे सोध्दा व्यस्त छु भन्दै उनले टेलिफोन राखे ।

स्मरणीय छ, केन्द्रीय अनुसन्धान ब्युरोले भेटवाललाई एपेक्स बैंकको २ अर्ब घोटला काण्डमा बैशाख ३ गते पक्राउ गरेको थियो । उनीमाथि कमसल जग्गा धितो राखेर बैंकमार्फ ११ करोड ९० लाख लिएको आरोप छ ।

सम्झौता सकिएको एकवर्ष नाघ्दासम्म काठमाडौं महानगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्