अशोक दर्जीको घर : ४३ इन्चको टिभीदेखि होम थिएटरसम्म !



भनिन्छ ! मान्छेको भाग्य फेरिन समय लाग्दैन । केही महिना अघिसम्म सडकमा गीत गाएर पैसा माग्दै हिँड्ने बालक अशोक दर्जी र उनको परिवारको भाग्य फेरिएको छ ।

हिजो दुई छाक खान लाउनकै निम्ति संघर्ष गरिरहेका बाल गायक दर्जी आज टहरोबाट महलमा पुगेका छन् । संगीतकार टंक बुढाथोकीसँगको भेटपछि अशोकको भाग्य फेरिएको छ । उनकै पहलमा अशोकको परिवारका लागि पक्की घर निर्माण गरिएको हो ।

सोमबार दमकमा एक समारोह आयोजना गरी बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले अशोकको घरमा पुगेर ढोकाको ताल्चा खोलेका थिए । उनले टंक बुढाथोकी र डिजे रुपकलाई हृदयदेखिनै धन्यवाद प्रकट गरे ।

अशोकको परिवार हिजैबाट नयाँ घरमा बस्न थालिसकेका छन् । घर मात्र नभएर घरभित्रका सम्पूर्ण फर्निचरहरुको पनि व्यवस्था गरिदिएको बुढाथोकीले बताए । उनका अनुसार घरमा ४३ इन्चको टिभी राखिएको छ । यसैगरी होम थिएटर पनि बनाइएको छ ।

सोफासेट, डाइनिङ टेबल, दराज, टि–टेबल, पलङ, डाइनिङ टेबल लगायतका फर्निचरहरु पनि छन् । किचेनमा पनि फ्रिज, राइस कुकर, प्रेसर कुकरदेखि झर्काको थालसम्म खरिद गरेर दिइएको छ । चार कोठाको घर निर्माण र फर्निचर तथा अन्य सामग्रीका लागि करिब २५ लाख खर्च भएको बुढाथोकीले जानकारी दिए । घर माथि तीन तल्लासम्म उठाउन सकिने गरी बनाइएको उनको भनाई रहेको छ ।

घर हस्तान्तरणपछि अशोकलाई गाडीमा राखेर शहर परिक्रममा समेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्