
०४ भदौ २०७५, काठमाडौँ
नाच्दै गाउँदै अनौठो तरिकाले कुल्फि बेच्ने मन कुमार राई दिनप्रतिदिन सामाजिक सञ्जालमा भाईरल बन्दै गइरहेका छन् । मनकुमार राईले नेपाली भएर पनि आजसम्म नेपाली नागरिकता पाएका थिएनन् । तर हालै भने ३२ बर्षको उमेरमा नेपाली नागरिकता पाएका छन् ।
निकै दुःख कष्ट भोगेका मन कुमार राई आफूले मुटुको समस्या आएपछि नाच्दै गाउँदै कुल्फि बेच्न थालेको बताउँछन् । विगत लामो समयदेखि काठमाडौँमा बस्दै आएका मन कुमार करिब २६ बर्षपछि आफ्नो घर सोलुखुम्बु गएका थिए । यति लामो समयपछि घर जाँदा पनि उनका आफन्त र दाजुभाईले उनलाई सजिलै चिने । मन कुमार यति फेमस भैसकेका छन् कि यहाँमात्र होइन उनको घर सोलुखुम्बुमा पनि उनीसँग फोटो खिच्न चाहनेको भिड लामै थियो ।
मन कुमार राई सबैको लागि एक उदाहरणीय व्यक्ति हुन् । उनलाई हेरेर हामीले जीन्दगीमा अघि बढ्न चाहने हो भने जसरी पनि अघि बढ्न सकिन्छ भन्ने कुरा सिक्न सकिन्छ । दिनमा लगातार ७–८ घण्टासम्म नाच्दै गाउँदै कुल्फि बेच्न सजिलो छैन । तर पनि मन कुमार दिनरात त्यसरी नै कुल्फि बेच्दै हिड्छन् ।
सानैमा आमाबुबा बितेपछि घरको आर्थिक अवस्था कमजोर भएकाले पढ्नको लागि कापी कलम र विद्यालयको नयाँ पोसाक किन्ने सपना बोकेर २०४९ सालमा काठमाडौँ आएका मन कुमार राईले सोचेको जस्तो केहिपनि भएन । उनी सपना त पढ्ने बोकेर आएका थिए तर अचानक मुटुमा समस्या देखिन थालेपछि उनको सबै सपना अधुरै रह्यो । लगातार ३–४ बर्ष औषधी सेवन गर्दापनि र पढ्नुको सट्टा उपचारमा सम्पूर्ण पैसा खर्च गर्दापनि रोग निको नभएपछि निराश बनेका मन कुमार पछि नाच्दै कुल्फि, बदाम बेच्ने काम गर्न थालेपछि विस्तारै केही स्वस्थ हुन थाले ।
जीन्दगीमा निकै मिहिनेत गरेर आज आफू स्वस्थ जीवन जिउन पाउँदा र सबैको नजरमा एक सक्षम युवकको रुपमा चिनिन पाउँदा मन कुमार खुसी छन् । मन कुमारको काम देखेर मानिसहरु यति खुसी भएका छन् कि उनलाई विभिन्न ठाउँहरुबाट आर्थिक सहयोग आईरहेको छ र त्यहि सहयोगको रकमले आफू सोलुखुम्बु गएर नागरिकता बनाएको मन कुमार बताउँछन् । त्यतिमात्र नभएर अब मन कुमार विल्सन विक्रम राईसँग एक विज्ञापनमा पनि सँगै देखिने भएका छन् । आफूलाई आईरहेको सहयोग स्वरुपको रकमलाई आफू सुरक्षित साथ बैंकमा राख्ने मन कुमार बताउँछन् ।
ढिलै भएपनि आफूले नेपाली नागरिकता पाएकोमा मन कुमार निकै खुसी भएको बताउँछन । साथै नेपाली भएकोमा आफूले आफूलाई गर्व महशुस गरेको उनको भनाई छ । यसरी नै सबैको साथ र सहयोग पाए अझ् राम्रो काम गर्दै जाने मन कुमारको सोच रहेको छ ।





