
०४ भदौ २०७५, काठमाडौँ
बहुचर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’बाट एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जीको घर निर्माण कार्य सम्पन्न भएको छ । संगीतकार टंक बुढाथोकीसँग उक्त गीत गाएपछि सबैको मुटुमा बस्न सफल अशोकको आज गृहप्रवेशको दिन रहेको छ ।
कुनै समयमा फुटपाथमा गीत गाउने अशोक आज सबैको नजरमा एक उदाहरणीय बालक बनेका छन् । गरिब परिवारमा जन्मिएका अशोकको बस्नको लागि राम्रो घर थिएन भने बिहान बेलुका खानको लागि उनको परिवारलाई निकै धौधौ पर्थ्यो । अशोकको घरमा उनका बाबु आमा र उनकी दुईटी बहिनीहरु छन् ।
‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीत नै उनको सफलताको पहिलो खुड्किला हो । हुन त पहिले नै सडकमा बसेर मिठो गीत गाएर मिडियामा भाइरल भएका थिए अशोक । तर टंक बुढाथोकी र डिजे रुपकले नै अशोकलाई आज यो स्थानसम्म पुर्याएका हुन् । यति सानो उमेरमै अशोकले आफूलाई अब्बल साबित गरिसकेका छन् । अहिले अशोक यति धेरै चर्चित छन् उनका फ्यानहरु उनी भनेपछि हुरुक्कै हुन्छन् । छोटो समयमा निकै सफलता हासिल गरेका अशोक विभिन्न देशविदेशका सांस्कृतिक कार्यक्रमहरुमा पनि सहभागी भैसकेका छन् । अशोक निकै दुःख र कष्ट सहेर आज यो स्थानसम्म आईपुगेका हुन् ।
आज यिनै अशोक दर्जीको घरको चाबी हस्तान्तरणको कार्यक्रम रहेको छ । अशोकको घर निर्माणको लागि उनलाई धेरै ठाउँबाट सहयोग आएको छ । निकै आकर्षक तरिकाले अशोकको घर निर्माण गरिएको छ । उनलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरु आज अशोकको घरको गृहप्रवेशको विशेष कार्यक्रममा उपस्थित भएका छन् ।
छोरा आज यो स्थानसम्म आईपुगेर यति धेरै दर्शकको नजरमा प्रिय बनेको देख्दा अशोकका बाबुआमा निकै खुसी र भावुक पनि देखिएका छन् । अशोकले दर्शकबाट धेरै नै माया पाएका छन् । सबैले अशोकको दोस्रो गीत कहिले आउँला भनेर प्रतिक्षा गरिएका छन् । तर अब छिट्टै नै अशोकको दोस्रो गीत बजारमा आउँदैछ । यति सानो उमेरमा यो स्थानसम आईपुगेका अशोकको भविष्य साँच्चै नै उज्वल छ ।





