जमराको जुसप्रति बढ्दो आकर्षण, फैलदोँ विकृती



३० साउन २०७५, काठमाडौं

पछिल्लो समय जमारको जुस पसल तथा सडक पेटीमा विक्री हुँदै आएको देखिन्छ । विभिन्न रोग निको हुने भनेपछि अस्पताल गएर थकित भएकाहरु उक्त जुस सेवन गर्न धाउने नै भए । दैनिक जुस सेवन गर्नेहरु पनि केही राहत महशुस भएको बताउँछन् ।

‘जमराको जुसप्रति मानिसहरुको आकर्षण बढ्दैछ भने यसमा विकृती पनि फैलँदो छ, सीता अर्गानिक एग्रो प्रालिका प्रताप भट्टराईले भने ।’

विगत २ वर्षदेखि जमराको जुस सेवन गराउँदै आएका भट्टराई अर्गानिक जमराको जुस सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि पछिल्लो समय मानिसको स्वास्थ्यसँग व्यापार गर्नेहरुले जमराको जुसमा विकृती ल्याएको बताउँछन् ।

‘मेरी श्रीमती सीतालाई धेरै अस्पताल पुर्यायौँ । कतै पनि निको नभएपछि कमलपोखरीमा रहेको एक आश्रम्रमा पुग्यौँ ।  त्यहाँ १३ दिन जुस खुवाएपछि रोगले ग्रसित मेरी श्रीमतीलाई केही हल्का महशुस हुन थाल्यो । त्यसपछि लिखित मौखिक गरी दुईपटक तालिम लिइन् ।  पहिले आफैँले जुस सेवन गर्न थालेकी सिताले छरछिमेकीलाई पनि जमराको जुस बनाएर दिन थालिन् । रातमा निन्द्रा नलाग्ने टाउको दुख्ने कतिपयको रोग कम हुँदै गयो उनले भने ।’

उनी भन्छन्, ‘यो हाम्रो व्यापार होइन स्वास्थ्य अभियान हो । चाबहिलको गणेशस्थान नजिकै एक घरको सटरमा जमराको जुस सेवन गराउँदै आएका भट्टराई भन्छन्, ‘जमराले शरिरलाई राम्रो गर्छ भन्ने सबैलाई थाहा छ तर कस्तो जमरा प्रयोग गर्नुपर्दछ भन्ने कुरामा जुस पिउनेहरु सचेत हुनु जरुरी छ ।’

‘जमराका लागि आवश्यक गहुँ र जहुँको बिउ अर्गानिक आवश्यक छ । बजारमा पाइने गहुँ जौको बिउ अर्गानिक नहुने भएकाले हामीले जुम्लाबाट ल्याउने गरेका छौँ । त्यसका लागि माटो खेतिपाती नभएको विषदीरहित हुन आवश्यक भएकाले राम्रो ठाउँको माटो प्रयोग गर्नु आवश्यक हुन्छ ।

जमरा राख्ने ठाउँ हावादार हुनु आवजश्यक छ । कतिपयले त आफू बसेको कोठामै बनाउने गरेको सुनिन्छ त्यो गलत हो ।

जमरामा घामको किरण पर्नुहुँदैन । अहिले जमरा राख्ने भन्दै खेतमा गहुँ, जौ छरेर जमरा उमार्ने गरेको पाइएको छ । त्यो सरासर गलत हो । अर्गानिक जमराको जुस बनाउनुपर्नेमा त्यो जनताको स्वास्थ्यका लागि घातक बन्छ ।

त्यसरी बेच्नेहरुले कसैलाई खुवाउँदै छ भने मानिसहरु आशा लिएर आएका हुन्छन् त्यस आशामाथि हामीले के गरिरहेका छौँ भन्ने सोच्न आवश्यक छ ।

त्यस्तै जुस सेवन गर्नेहरुले पनि कस्तो ठाउँमा उम्रिएको जुस पिउँदै छौँ भन्ने सेच्न जरुरी छ उनले भने ।’

उनी भन्छन् जमराको जुसले शरिरमा रगत बढाउन मद्दत गर्छ , रोगको जोखिमबाट बचाउँछ, हृदयघात, क्यान्सर जस्ता रोग भएकाहरुलाई पनि फाइदाजनक छ । कसैले पढेर गर्छन, हामीले परेर गर्यौँ । हामीले माकलवारीमा जमरा उत्पादन गर्ने गरेका छौँ उनले भने ।’

त्यस्तै चाबहिल गणेस्थान नजिकै जमराको जुस वितरण गराइरहेका राजन ढुङ्गानको पसलमा २० जना दैनिक आउने गर्दछन् ।

धेरै मानिसहरुले जमराको जुस सेवन गरेपछि निको भएको र मिडियामा यसको चर्चा हुन थालेपछि १ लाख लगानी गरेर जमराको जुस सेवन गराउन थाले ।

उनकी श्रीमतीले १ महिनाको तालिम लिएर गहुँ र जमराको जुस विक्री गर्न थालेकी हुन् । ‘सुरुवाती दिनमा मानिसहरु आउने गरेपनि यसमा फैलदैँ गएको विकृतीका कारण मानिसहरुमा नकारात्मकता उत्पन्न हुँदै गएको छ, उनले भने ।’

दशैँमा जमरा उमार्ने मानिसहरुलाई कस्ता ठाउँमा राख्ने भन्ने थाहा नभएर र यसको प्रक्रिया नबुझेका कारण पनि समस्या भइरहेको बताए । यसको बिउ जुम्लाबाट ल्याउने गरेको र जमरा उमार्नका लागि गर्नुपर्ने  प्रक्रियाका कारण  चार एमएल जुसको सय रुपैँया लिने गरेका छन् उनले ।

उनका श्रीमान श्रीमती बिहान ५ः३० देखि ८ः३० सम्म बस्ने गरेका छन् । उनी भन्छन्, ‘मानिसले जति सहज बुझेका छन् त्यति सहज छैन र पार्ट टाइम जस्तो देखिएता पनि घरमा निकै काम गर्नुपर्ने हुन्छ ।’

मानिसलाई अप्ठ्यारो परेपछि मात्रै जुस सेवन गर्ने आउने गरेको बताउने ढुङ्गाना खेतमा गहुँ जौ छरेर जमरा उमार्नेहरुले गर्दा समस्या आएको बताउँछन् ।

क्यान्सर पिडीतहरु अन्तिम अवस्थामा जमराको जुस सेवन गर्न आउने गरेका छन् र उनीहरुलाई डाक्टरले पनि सल्लाह दिँदा रहेछन जमराको जुस पिउनु भनेर उनले भने ।

त्यस्तै चाबहिल स्तुपा नजिकै विगत ६ महिनादेखि जमाराको जुस सेवन गराउँदै आएकी साङमाला तामाङ साथीभाइले सल्लाह दिएपछि व्यापार सुरु गरिन् । दश हजार रुपैयाँ लगानी गरेकी तामाङले तीस एमएल जमराको ५० रुपैयाँ लिने गरेकी छिन् ।

विहान ५ः ३० देखी ९ः ३० सम्म बस्ने  साङमाला उनकी दिदीले पनि साथ दिन्छिन् । दैनिक १५–१६ सय जति जमराको जुस विक्री गर्ने उनीहरुलाई ३–४ सय फाइदा हुन्छ ।

‘सुरुसुरुमा जमराको जुस सेवन गर्नेलाई वाकवाकी लाग्ने, पेट दुख्ने समस्या देखिने गरेको छ भने कसैलाई आनन्द भएको देखिन्छ उनले भनिन् । उनको पसलमा दैनिक रुपमा जुस सेवन गर्दै आएका मानिसहरुले केही फरक महशुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्