हेमानन्दका पूर्वपति कृष्णप्रसाद भन्छन् : उनी कसरी शंकराचार्य भइन् ?



२९ साउन २०७५, काठमाडौं

नेपाल प्रहरीका अवकासप्राप्त अधिकृत कृष्णप्रसाद ढकालसँग २०५६ फागुन १६ गते विवाह गरेकी हेमा ढुंगाना (हेमानन्द गिरी)लाई अखिल भारत विद्धत परिषदले असार अन्तिम साता शंकराचार्यको पत्र दिएपछि पूर्वपति अचम्ममा परेका छन् । हाल मोरङमा रहेका ढकालले नयाँ पत्रिकासँग आज टेलिफोनमा कुराकानी गर्दै विवाहित महिला शंकराचार्य घोषित कसरी भइन् भनेर आफू आश्चर्यमा परेको उल्लेख गरे ।

उनले आफ्नी पूर्वपत्नी हेमाले बेद बेदान्तको अध्ययन गरेको बिषयमा थाहा नपाएको पनि स्पष्ट पारेका छन् । उनीहरुबीच २०६९ फागुन १० गते सम्बन्ध विच्छेद भएको थियो । ‘हेमानन्द गिरी नाम भएकी हेमा ढुंगाना मेरी पूर्व पत्नी हुन्, उनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य रहेका बेला म प्रहरीमा जागिर खाएका बेला विवाह भएको हो’ ढकालले सुनाए, ‘हाम्रो अलिअलि प्रेम र अलिअलि मागी विवाह भएको हो । तर, उनी पहिलेदेखि नै सामाजिक क्षेत्रमा केही गराैँ भन्ने रुचि राख्थिन् । उनी महत्वकांक्षी पनि हुन् ।’

शंकराचार्यका लागि अविवाहित र आजिवन ब्रह्मचारी रहनुपर्ने धार्मिक कानून छ । यो र बेदबेदान्तको अध्ययन नभएको कारण काशी विद्धत परिषदले उनलाई ज्योर्तिर्मठ (उत्तराखण्ड)का लागि शंकराचार्य हुन अयोग्य ठहर गरेको थियो । तर, अर्को भारतीय संस्थाले पशुपतिमठको शंकराचार्य घोषित गरेपछि नेपाल र भारतका धार्मिक संघसंस्थाले आपत्ति जनाउँदै आएका छन् । पशुपतिमठमा शंकराचार्यको व्यवस्था छैन । उत्तराखण्डस्थित मठमा शंकराचार्य चयनका लागि काशी विद्धत परिषदले प्रक्रिया आरम्भ गरे पनि निस्कर्षमा पुगेको छैन ।

ढकाल २०४४ सालमा नेपाल प्रहरीमा भर्ना भएर २०६२ सालमा अबकास पाएका थिए । रोजगारीका क्रममा आफूले ९० लाख रुपैयाँ पठाएको र त्यसको हिसाब खोज्दा योगामा लागेर सबै खर्च गरेको जबाफ दिएको पनि पति ढकालले बयान दिएका थिए । श्रीमती हेमाले चलली गाविस काठमाडौंमा ३ आना जग्गा किनेको र त्यहाँ तीन तल्ले घर बनाएको पछि थाहा पाएको पनि ढकालले बयानमा उल्लेख गरेका थिए ।

ढकालले हेमासँग सम्बन्ध विच्छेद गरेपछि विवाह गरेको र अहिले चार बर्षीय छोरा रहेको पनि बताए । हेमालाई प्रश्न गर्न नसकेको भन्दै उनले पत्रकारप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

‘अरु पक्षलाई तीखो प्रश्न गर्न सक्ने पत्रकारहरुले हेमालाई उनको पृष्ठभूमि सोध्नुको साटो झुकेर प्रणाम गरेको देख्दा म चकित परेँ, यो भन्दा हाँसउठ्दो कुरा के हुन्छ ?’ ढकालले भने । उनले भने, ‘मलाई शंकराचार्यका बारेमा थाहा छैन, उनैलाई थाहा होला । तर, बेद पढेको, विवाह नगरेको मानिस हुनुपर्छ भन्ने सुनेको छु । अनि, बद्रीनाथ पीठका लागि शंकराचार्य खाली भएको सुनेको छु । अहिले जे भइरहेको छ, म आफैँ अचम्ममा छु । हेमा को हुन् भन्ने बुझ्दै नबुझी उनलाई मिडियाले भगवान बनाइदिएका छन् ।’ हेमा ढुंगाना शुरुमा नेविसंघमा रहेको, पछि विजय गच्छदारको पार्टीमा सामेल भएर २०७० को चुनावमा समानुपातिक उम्मेदवार रहेको पनि ढकालले सुनाए । तर, आफ्नो कुराकानी नभएको पनि उनको भनाई थियो । ‘विदेशमा जस्तो सम्बन्ध विच्छेद भए पनि हाइ हेल्लो गर्ने संस्कार हामीकहाँ छैन’ उनले सुनाए,‘म उनको भलो चाहन्छु ।’  (साभार : नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्