
२७ साउन २०७५, काठमाडौं
अखिल भारत विद्वत् परिषद्द्वारा शंकराचार्य घोषित हेमानन्द गिरी (हेमा ढुंगाना) विवाहित भएको र १० फागुन ०६९ मा उनको सम्बन्धविच्छेद भएको अदालती कागजात फेला परेको छ । शंकराचार्यका लागि अविवाहित र आजीवन ब्रह्मचारी रहनुपर्ने धार्मिक कानुन छ । यो र वेदवेदान्तको अध्ययन नभएका कारण काशी विद्वत् परिषद्ले उनलाई ज्योर्तिर्मठ (उत्तराखण्ड) का लागि शंकराचार्य हुन अयोग्य ठहर गरेको थियो ।
प्राप्त अदालती कागजातअनुसार हेमा र कृष्णप्रसाद ढकालबीच १६ फाुगन ०५६ मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । उनका पति ढकाल ०४४ सालमा नेपाल प्रहरीमा जागिरे थिए भने ०६२ सालमा अवकाश पाएर रोजगारीका सिलसिलामा नर्बे गएका थिए । मोरङ पथरीकी हेमा विवाहपछि पनि आमा एक्लै भएको कारण देखाएर प्रायः माइतीमै बसेको बयान ढकालले अदालतमा दिएका थिए । रोजगारीका क्रममा आफूले ९० लाख रुपैयाँ पठाएको र त्यसको हिसाब खोज्दा योगामा लागेर सबै खर्च गरेको जवाफ दिएको पनि ढकालले बयान दिएका थिए । हेमाले चपली गाविस काठमाडौंमा ३ आना जग्गा किनेको र त्यहाँ तीनतल्ले घर बनाएको पछि थाहा पाएको पनि ढकालले बयानमा उल्लेख गरेका थिए ।

हेमाले पटकपटक सम्बन्धविच्छेद गर्ने चेतावनी दिएपछि आफू पनि तयार भएको उनको भनाइ थियो । ढकालले चपलीमा रहेको कित्ता नम्बर १७२४ रहेको तीन आनामा बनेको घर हेमाकै नाममा राख्ने गरी सम्बन्धविच्छेद गर्न तयार भएको लिखित बयान दिएका थिए । हेमाले पतिबाट मानसिक तनाब झेलिरहेको बयान दिएकी थिइन् । तर, पतिले अस्वीकार गर्दै आएका थिए । न्यायाधीश श्रेष्ठले अंशबन्डासम्बन्धी महल नम्बर १८३ अनुसार दुवै पक्षबाट २५/२५ रुपैयाँ मुद्दाको लगत कट्टी गरेर सम्बन्धविच्छेदको फैसला गराएका थिए ।
विरोधमा उत्रिए संघसंस्था
नेपाल सन्त समाजले नेपालमा शंकराचार्य मठ नभएको र हेमानन्द गिरी शंकराचार्यका लागि उपयुक्त नभएको भन्दै आपत्ति जनाएको छ । शनिबार विज्ञप्ति जारी गरी समाजले हेमानन्द दण्डी सन्न्यासी नभएको, वेदवेदान्तको अध्ययन नभएको भन्दै काशी विद्वत् परिषद्ले आवेदन खारेज गरिसकेको स्मरण गराउँदै उनी शंराचार्य हुन नसक्ने स्पष्ट पारेको छ । ज्योतिषपीठ उत्तराखण्डमा शंकराचार्य खाली भएको, नेपालमा शंकराचार्य मठ नभएको र यो नियुक्तिको आधिकारिक संस्था अखिल भारत विद्वत् परिषद् नभएको भन्दै समाजले शंकराचार्यको अपेक्षा नगर्न पनि महामण्डलेश्वर गिरीलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, संरक्षक महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, उपाध्यक्ष स्वामी रमणानन्द गिरी महासचिव डा. गुरुप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् । विश्व हिन्दू महासंघका महासचिव अस्मिता भण्डारीले धर्ममाथि आक्रमण भएको भन्दै कसैले नियमविपरीत घोषणा गर्दैमा शंकराचार्य स्वीकार्य नहुने बताएकी छिन् । हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले भने, ‘नक्कली शंकराचार्य हामीलाई मान्य छैन ।’
शंकराचार्यको गरिमा बुझिएन : गिरी

महामण्डलेश्व गिरीले आफ्नो महत्व र गरिमा सरकार र नेपाली समाजले बुझ्न नसकेको भन्दै असन्तुष्टि जनाएकी छिन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा गिरीले आफूलाई ८ भदौमा पशुपति परिसरमा शंकराचार्यको प्रमाणपत्र दिने कार्यक्रम सरकारले रोकेका कारण भक्तपुरको डोलेश्वर मन्दिरमा कार्यक्रम गर्न लागेको पनि जानकारी दिइन् । (साभार : नयाँ पत्रिका)





