
२७ साउन २०७५, काठमाडौं
भदौ १ गतेबाट कार्यान्वयनमा आउन लागेको नयाँ मुलुकी संहिताले विवाहपूर्व नै शारीरिक सम्पर्कबाट शिशु जन्मेमा दुवैको विवाह भएको मानिने यवस्था गरेको छ ।
मुलुकी देवानी संहिता ऐनको भाग तीनको दफा ७४ ले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने उल्लेख छ ।
शारीरिक सम्बन्धका लागि पुरुषले मायाप्रेमको नाटक गरी विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध राख्ने र गर्भवति भएपछि महिलालाई स्वीकार नगरी भागेर हिँड्ने गरेको घटना धेरै आउन थालेपछि अब त्यसलाई रोक्न यस्तो कानूनी व्यवस्था ल्याइएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।
हाडनाता तथा जबरजस्ती करणीको सन्दर्भमा भने यो व्यवस्था लागू नहुने पनि ऐनमा उल्लेख गरिएको छ ।






