नेवानिको गम्भीर लापरबाहीः यसकारण दिल्लीमा अड्किएको थियो जहाज



२५ साउन २०७५, काठमाडौं

नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो ।

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर सँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो ।

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

‘यताबाट सुरुमा १ सय ९० सिट क्षमताको बोइङ ७५७-२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयो’, ती अधिकारीले भने ‘तर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०-२०० सिरिजको वाइड बडी गयो ।’

प्रतिक्रिया दिनुहोस्